तोरी खेतीमा किसानको आकर्षण किन बढेन ?

तीन महिने बालीका रूपमा रहेको खेतीका लागि धेरै मेहनत पनि गर्नुपर्दैन



पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्को-पड्कोका लागि मात्र तोरी खेती गरेका छन् । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भने । आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताए । 

 

तीन महिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहनत पनि गर्नुपर्दैन । असोजमा तोरी छरेपछि मङ्सिरमा तोरी छिन्ने समय हुन्छ । तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्नुपर्ने आवश्यक पर्दैन ।

 

सोही स्थानका किसान चन्द्रकला मरासिनी बजारमा तेलहनजन्य पदार्थको मूल्य आकाशिएको बखत आफ्नो खेतबारीमा तोरी खेतीको उत्पादन घट्ने पिरलोमा छिन् । “असोजमा तोरी छरियो, कात्तिक अन्तिमसम्म पनि पानी परेन”, उनी भन्छिन्, “बजारबाट किनेर तेल खान सक्ने अवस्था छैन”, उनले दुःखेसो गरिन् । समयमा मल पाउने, बीउ पाउने र सिँचाइको सुविधा भएमा तोरी खेतीमा आकर्षण हुने मरासिनीको भनाइ छ ।

 

रेसुङ्गा–४ का दीननाथ भण्डारीले आकाशे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिकतर्फ नगएको बताए । समयमा पानी परे राम्रो हुने र पानी नपरे लगानी खेर जाने जोखिमका कारण सबै किसान तोरी खेतीतर्फ आकर्षित नभएको भण्डारीको भनाइ छ । “अघिल्लो वर्ष समयमा पानी परेकाले राम्रै तोरी उत्पादन भयो तर यसपटक लगानी खेर जानेजस्तो छ”, उनी भन्छन्, “मौसमी वर्षाका भरमा गरेको खेती एकनाश हुँदैन”, निराश हुँदै उनले भने।  

 

यति मात्र होइन, जिल्लाका सबै ठाउँमा व्यावसायिक तोरी खेतीतर्फ कसैको ध्यान पुगेको छैन । अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नेहरू बढी भेटिन्छन् । बजारमा मूल्य आकाशिएको भए पनि तेलहन आयातकै भरमा रहेको छ । तोरी खेतीमा पनि पर्याप्त मात्रामा किसानको आकर्षण छैन । आंशिकरूपमा खेती गरिरहेका किसान पनि विभिन्न समस्याबाट हैरानी खेप्न बाध्य छन् । 

 

कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जलवायु परिवर्तनका कारण समयमा पानी नपरेकाले यो वर्ष तोरी उत्पादन घट्न सक्ने जानकारी दिए। तेलहनको बजारभाउ बढेकाले तुलानात्मकरूपमा तोरी खेती गर्ने बढेको र अघिल्लो वर्ष समयमा परेको पानीका कारण उत्पादन पनि बढेको उनले बताए । 

 

गत वर्ष गुल्मीको पाँच सय ८३ हेक्टर क्षेत्रफलमा पाँच सय ८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष दुई प्रतिशतले उत्पादन घट्न सक्ने ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ । 


७ फाल्गुन २०७७, शुक्रबार

चितवन जिल्लामा तोरी उत्पादनमा वृद्धि

जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो । गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

 

यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिनुभयो । त्रिपाठीका अनुसार जिल्लामा यस वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलब २ प्रतिशत रहेको छ । गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन वढेको उहाँले बताउनुभयो ।

 

जिल्लाको इच्छाकामना गाउँपालिका–७ र अन्य छ वटा पालिकामा तोरी खेती गरिँदै आएको छ । जिल्लाका किसानले तोरी खेतीमा बढी मात्रामा एमोनियम सल्फेट प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । यसको प्रयोगले तेलको उत्पादन बढी हुने गरेको कार्यालयले जनाएको छ । रासायनिक मलको सट्टामा किसानले यसको प्रयोग गर्ने गरेको भए पनि यसले माटोको उर्बराशक्तिमा कम हुने उहाँले बताउनुभयो । विशेषगरी खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिँदै आएको छ । सिँचाइको सुविधा भएका ठाउँमा तोरी राम्रो उत्पादन भएको उहाँले बताउनुभयो ।

 

नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रुपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ । नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिँदै आएको छ । यहाँ वार्षिक दुई लाख ८० हजार ५३० मेट्रिक्टन उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । तेलहन बाली गरिने क्षेत्रमध्ये ९० प्रतिशत क्षेत्रमा तोरी खेती गरिने गरेको छ ।

 

दश प्रतिशत क्षेत्रफलमा सूर्यमुखी, सरस्यूँ, तिल, आलसजस्ता तेलहन बाली गरिने गरिन्छ । कैलाली, बर्दिया र दाङमा विशेषगरी तोरी खेती बढी गरिन्छ । पहिलेपहिले तोरीका लागि प्रख्यात जिल्ला मानिएको चितवन पछिल्ला वर्षमा भने उत्पादन घट्दै गएको थियो ।

Comments Box