कपास खेती जगाउँदै हलेसीका महिला

लाखबत्ती, आरती, पूजापाठका क्रममा काँचो धागोको बत्ती बाल्ने, खाँडीका कपडा उत्पादन



खोटाङ, २८ मंसिर: पुर्खाको अन्त्यासँगै कपास खेती गरेर खाँडीको कपडा उत्पादन गर्ने प्रचलन हराइसकेको छ । तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैं बनिसकेको कपास खेतीलाई पुनर्जागृत गराइएको छ ।

 

नगरपालिकाले अनुदान उपलव्ध गराउन थालेपछि कात्तिकेमा आर्थिक वर्ष २०७६–०७७ देखि कपास खेती विस्तार गरिएको हो । साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समूहमा आवद्ध ३४ महिला र साविकको महादेवस्थान–९ कात्तिकेस्थित गोदावरी आमा समूहमा आवद्ध ३१ महिलाले कपास खेती लगाएका छन् ।

 

नेपाली पहिचान झल्काउने दौरासुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिक रूपमा सवल बनाउने लक्ष्यका साथ कपास खेतीलाई पुनर्जागृत गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् ।

 

कात्तिकेभन्दा केहीमाथि पर्छ त्रि–धार्मिकस्थल हलेसी । हलेसीमा लाखबत्ती, आरती, पूजापाठका क्रममा काँचो धागोको बत्ती बाल्ने गरिन्छ । कपासको काँचो धागो उत्पादन गरेर त्यही हलेसीमा बिक्रीवितरण गरेर पनि आम्दानी लिने योजना बनाइएको छ । ‘लोप भइसकेको कपास खेतीलाई पुनर्जागृत गर्नुको अर्थ यसलाई पहिचान र पैसासँग जोड्ने प्रयत्न हो,’ मेयर राईले भनिन्, ‘दौरा सुरुवालले देशको पहिचान झल्काउँछ । त्यसको कपडा र काँचो धागो बिक्री गरेर पनि आम्दानी लिन सकिन्छ । संस्कार संस्कृति पनि बच्यो, आम्दानी पनि हुने भयो ।’

 

किरात राई समुदायमा पुर्खा तायामा र खियामाले तुवाचुङमा कपास खेती गरेर कपडा बुनेर लुगा लगाउने चलन सुरु गरेको किंवदन्ती छ । बाबुबाजेको पालासम्म कपासबाट खाँडीका कपडा उत्पादन गरिन्थ्यो । करिब चार पाँच दशकसम्म धेरैजसो घरमा खाँडी तयार हुन्थ्यो । खाँडीकै चोली, फरिया, दौरा सुरुवाल, भोटो बनाइन्थ्यो । तर बजारमा थरिथरिका कपडा आउन थालेपछि खाँडीका कपडा बुन्ने प्रचलन क्रमशः हराउँदै गए । लोपोन्मुख बनिसकेको खाँडीको पुरानो तान अहिले पनि गाउँघरमा देख्न सकिन्छ । गाउँघरमा बाजेबजुले ‘कुटी कुटी धागो काट्न र पला बनाउन लगाएको प्रसंग अहिले पनि सुन्न पाइन्छ ।

 

पछिल्लो समय सबैले खाँडीको दौरा सुरुवालको महत्व बुझ्न थाले । नेपाली पोसाक दौरासुरुवालप्रति युवा पुस्ताले चासो राख्न थाले । त्यहीबेला नगरपालिकाले सहयोग गरेपछि कपास खेती सुरु गरिएको जुनतारा आमा समूहकी कोषाध्यक्ष जुना राई बताउँछिन् ।

 

‘पहिला कपडा पाइन्नथ्यो । कपासको कपडा बनाएर लगाउने गरिन्थ्यो । पछिबाट बजारमा परिपरिका कपडा आउन थाल्यो । धागो निकाल्नु, धागो बनाउनु, दाना फाल्नु । नोमेक बढी लाग्ने र झन्झटिलो काम भनेर छाडियो,’ जुनाले भनिन्, ‘अहिले दौरासुरुवालको महत्व बढ्न थाल्यो । युवा पुस्ताले पनि मन पराउन थाले । हाम्रो बारीमा उत्पादन गरेर आफैले बुनेर लगाउन सकिन्छ भनेर फेरी कपास खेती सुरु गर्‍यौं । हाम्रो पहिलाको कल्चर पनि झल्काऔं न त भन्ने लाग्यो ।’

 

दुईवटा आमा समूहमा आवद्ध ६५ महिलाले प्रतिघर एकदेखि दुई रोपनीका दरले कपास खेती लगाएका छन् । नगरपालिकाको ११ वडामध्ये कात्तिकेमा मात्र व्यावसायिक रुपमा कपास खेती लगाइएको हो । उत्पादित कपास प्रतिकेजी सात सयका दरले बिक्री गर्ने गरिएको जुना बताउँछिन् । कतिपय कपासलाई सिरक, सिरानी र डसना बनाउने गरिएको छ । खाँडीको माग बढिरहेका बेला कपास खेतीलाई आर्थिक उपार्जनको माध्यम बनाउने सपना साँचेको स्थानीय समला राई बताउँछिन् । कपास खेती सुरु गरेका महिलालाई खाँडीको कपडा बुन्ने तालिम दिने नगरको योजना छ ।

 

कपास खेती प्रवद्र्धनका लागि वडा कार्यालयले आर्थिक वर्ष २०७६–०७७ मा १५ जना महिलालाई कपास खेती प्रवद्र्धनका लागि एक लाख खर्च गरेको थियो । आर्थिक वर्ष २०७७–०७८ मा १० लाख बिनियोजन गरेको नगरपालिकाले चालू आर्थिक वर्ष २० लाख बिनियोजन गरेको छ ।

 

जसले छाडेनन् तान

हिजोआज कपास खेती गर्ने र त्यसको कपडा बुन्ने सीप भएका महिला एकादुई छन् । बजारमा सस्तो मूल्यमा थरिथरिका लुगा पाउन थालेपछि सबैले तान बुन्न छाडे । सबैले खाँडी बुन्ने तानलाई छाड्दा महादेवस्थान कात्तिकेकी जुनासरी राईले भने निरन्तर तान सम्हाल्दै आएकी छन् । ७९ वर्षकी जुनासरीले आफै कोगटी र ढ्यांग्रे प्रजातीको कपास खेती गरेर कपडा बुन्ने गरेकी छन् । जुनासरीले गाउँमा उत्पादित कोगटीको कपास प्रतिधार्नी एक हजार र ढ्यांग्रे कपास प्रतिधार्नी सात सयमा खरिद गर्ने गरेकी छन् । तान बुन्ने सीपको संरक्षणका लागि जुनासरीले नातिनी भविकला राईलाई पनि तान बुन्न सिकाइसकेकी छन् ।

 

दौरा सुरुवालका लागि कपासको कपडाको माग उच्च छ, त्यसमा पनि ग्राहकको रोजाइमा कोगटीको कपडा पर्छ । कोगटीको दौरासुरुवालको कपडा प्रतिथान २० हजार र टिंग्रे कपासको प्रतिथान १५ हजारमा किनबेच हुनेगरेको महादेवस्थानका पूर्ववडाध्यक्ष चइन्द्र राई बताउँछन् । कात्तिकेकी बिन्द्रासरी राईले पनि हिउँदमा खाँडी बुन्ने गरेकी छन् । कतिपय खाँडीको कपडा बुन्ने सिप भएका तर तान नबुन्ने महिला पनि छन् । ‘कोगटीबाट धागो उत्पादन गर्न सबैभन्दा झन्झटिलो र बढी मिहिनेत चाहिन्छ,’ पूर्ववडाध्यक्ष राईले भने, ‘तर कोगटीको कपडाको बढी नै माग छ । माग धान्नै गाह्रो देखिन्छ ।’  (न्युज कारखाना )

आवरण तस्बीरः सुकाएको कपास केलाउँदै महादेवस्थान कात्तिकेकी जुना राई र प्रेमिला राई ।   (दमन राई )


२४ फाल्गुन २०७८, मंगलवार

महिलाको जीवन फेर्दै मकैको खोसेला

खोटाङ, २३ फागुन (रासस)- हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन्। गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन्।

 

 स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम’ अन्तर्गत मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिम आयोजना गरेको थियो। तालिमपछि च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्न थालेका छन्।

 

 त्रिधार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोका रूपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्बन्धित तालिम दिइएको नगरप्रमुख इवन राईले बताउनुभयो। “मकैको खासेला गाईवस्तुलाई खुवाउन मात्र उपयोग भइरहेको थियो”, उहाँले भन्नुभयो, मकैको खोसेलाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा बिक्री वितरण गर्दै आम्दानीको स्रोत बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो।”

 

 लघुउद्यमसम्बन्धी आठ दिनको तालिम दिएलगत्तै काठमाडौँबाट तीन दक्ष प्रशिक्षकलाई ल्याएर उनीहरूलाई खोसेलाको सामग्री उत्पादनसम्बन्धी तालिम दिइएको नगरपालिकाले जनाएको छ। क्रमशः हलेसी, धितुङलगायतका वडामा पनि खोसेलाको सामग्री तयार पार्ने सीप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ।

 

 नगरपालिकाका अनुसार तालिममा सहभागीले व्यक्तिगत वा सामूहिकरूपमा मकैको खोसेलाबाट सामग्री उत्पादन गर्ने छन्। मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गरेर व्यवसाय गर्न चाहने महिलालाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाइएको छ।

 

 मकैको खोसेलाबाट निर्माण गरिएका सामग्री जिल्लाका विभिन्न बजार तथा छिमेकी देश चीनसम्म निर्यात गर्ने महत्वाकाङ्क्षी लक्ष्य राखिएको छ। मकैको खोसेलाबाट महिलाले उत्पादन गरेका घरेलु सामग्रीको मूल्य निर्धारण तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने जनाइएको छ। आम्दानीको अन्य स्रोत नभएको उक्त क्षेत्रमा यसअघि खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो। कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनःसञ्चालनमा ल्याउन नगरपालिकाले कपासखेती प्रवद्र्धनमा रु १० लाख बजेट लगानी गरेको हो।

 

 पछिल्लो समय सङ्कटमा पर्दै गएको पुख्र्याैली व्यवसायलाई जगाउन नगरपालिकाका तर्फबाट किसानलाई कपासखेती गराउन बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताउनुभयो। “बजारमा हलेसी क्षेत्रमा बुनिएका खाँडी कपडाको माग धान्न गाह्रो देखिएको छ”, उहाँले भन्नुभयो, लोपोन्मुख अवस्थामा पुगेको खाँडी कपडा बुन्ने व्यवसायलाई पुनःसञ्चालनमा ल्याउन नगरपालिकामा यस वर्षबाट कपासखेतीका लागि बजेट व्यवस्था गरेका हौँ।”

 

 कपासखेतीका लागि ७ नं वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०७६/७७ मा १५ महिलालाई कपासखेती प्रवद्र्धनसम्बन्धी तालिम दिइएको थियो। हलेसी क्षेत्रका स्थानीय कृषकले कपासखेती गर्न छाडेपछि कच्चा पदार्थ अभावमा अहिले खाँडी कपडा उत्पादन हुन छाडेको छ। कपासबाट उत्पादन गरिएको दौरा/सुरुवाल पुग्ने कपडा प्रतिथान रु १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु २० हजारमा बिक्री हुने गरेको छ। कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेको जनाइएको छ।

 

 हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशमा समेत निर्यात हुने गरेको थियो। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत वृद्धि हुनेको गरेको थियो।

Comments Box