सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने



सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ ।

 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

 

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

 

आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

 


१७ चैत्र २०७७, मंगलवार

सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकोे निजी निवासमा पुग्नुभएको छ । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उहाँका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन गर्नुभएको भेटघाटका क्रममा बताउनुभयो । उहाँले भन्नुभयो, “जीवित इतिहास तपाईका नाममा सरकारले सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको छ ।

 

मुलुकको जुनसुकै स्थानमा तपाई जहाँ विद्यालय खोलियोस् भन्ने चाहानु हुन्छ, हामी त्यहीँ स्थानमा विद्यालय खोल्ने भएका छौँ । घनावस्ती भएको स्थान जहाँ विद्यालयको अति आवश्यकता छ त्यहाँ विद्यालय खुल्नेछ ।” जोशीको नामका खोलिने सो विद्यालय दरबार हाइस्कुल जस्तो हुने श्रेष्ठले जानकारी गराउनुभयो । शिक्षामन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि बताउनुभयो । जोशीको रेखदेख गर्न दुई कुरुवा सरकारले दिने घोषणा गरिसकेको उहाँको भनाइ थियो । जोशीले राष्ट्रपतिले आफूलाई सम्झेर भेट्न पठाएकोमा हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा उत्पादन भएका जति पनि लेखक, कलाकारहरू छन् र थिए, तीमध्ये लामो आयू बाँँच्ने म नै हुँ । राष्ट्रपतिले आफू जीवित छँदै आफ्नो नामको हुलाक टिकट छाप्न टाँचा लगाउँदा ज्यादै खुशी लाग्यो ।

 

मुलुकको पिछडिएको स्थान जहाँ बालबालिका अध्ययन गर्ने अवसरबाट वञ्चित भएका छन् त्यहाँ विद्यालय खोलियोस् भन्ने म चाहान्छु ।” ललितपुर महानगरपालिकाले केही समयअघि आफ्नो नाममा चाँदी सिक्का निकालेर प्रयोगमा ल्याउँदा पनि ज्यादै खुशी लागेको जोशीले बताउनुभयो ।

 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्र्जनले मुलुकको महान व्यक्तित्व जोशीको नाममा आफूहरूले ललितपुरको पुल्चोक हुँदै मङ्गलबजार अनि सुन्धारा र त्यसपछि ग्वार्काे जाने सडकलाई सत्यमोहन जोशी मार्ग नामकरण गरिसकेको बताउनुभयो । कार्यक्रममा जोशीको नामका खोलिने विद्यालयमा गुणस्तरीय शिक्षकका साथै गुणस्तरीय शिक्षा प्रदान गरिने बताइयो ।

Comments Box