हरिबोधिनी एकादशी; तुलसीको वैज्ञानिक महिमा के के छन ?

भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यता



आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

 

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ‘ठूलो एकादशी’ पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

 

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।

 

तुलसीको दामोदरसँग विवाह

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

 

तुलसीको वैज्ञानिक महिमा

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

 

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

 

तुलसीबाट बनेको चिया मानव शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।

 

तुलसी विश्वास

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

 

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

 

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

 

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

 

विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

 

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

 

हरिबोधनी एकादशीको दिन पशुपतिनाथ भक्तजनले विशेष पूजा गरेका छन् । उनीहरुले बागमती नदी वारिपारि तोरण टाँगेर पूजा गरेका छन् । भक्तजनले बागमती नदी र पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरेर तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका हुन्। कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।


२६ असार २०७९, आइतबार

हरिशयनी एकादशीको महिमा

 असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ ।

 

आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन ।

 

आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ । तुलसी रोपण एकादशी पनि भनिन्छ ।

 

घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ।  भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ । एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ।

 

तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । आजको दिन सनातनीहरूले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन् ।  काठमाडौंको बुढानिलकण्ठ र देशभरका शिवालय र देवालयमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

 

 

हिन्दू अनुयायीहरूले चार्तुमास भित्र पर्ने चार महिनाको एकादशीको दिन विशेष व्रत बस्ने गर्दछन् ।

Comments Box