पुरानो बुटवल सिमेन्ट मिल्स बन्द

कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, विद्युत् अभाव, उत्पादित सामानको न्यून मूल्यलगायत उद्योगका समस्या



भदौ १३ गते  । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–९, काशीपुरमा सञ्चालनमा रहेको बुटवल सिमेन्ट मिल्स प्रालि बन्द भएको छ । 

 

२०५६ सालमा स्थापना भई क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगका सबै उत्पादन गत साउन २१ गतेदेखि पूर्ण रूपमा बन्द भएको उद्योगका प्रबन्धक लीलाप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

 

 

कोभिड–१९ महामारीको समयमा बन्द भएको उद्योग महामारी कम भएपछि सञ्चालन भएको थियो तर अहिले उद्योगलाई चाहिने कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, विद्युत् अभाव, उत्पादित सामानको न्यून मूल्यलगायत उद्योगका समस्यामा सरकारको बेवास्ताले उद्योग बन्द हुन पुगेको उद्योगका प्रबन्धक पाण्डेले बताउनुभयो ।

 

 

१९० जनासम्मलाई रोजगारी दिँदै आएको यो उद्योगले गत चैत १६ गतेदेखि क्लिङ्कर उत्पादन बन्द गरेको थियो भने साउन २१ गतेदेखि सिमेन्ट उत्पादनसमेत बन्द गरेको हो । 

 

 

यस जिल्लाको सबैभन्दा पुरानो सिमेन्ट उद्योगका रूपमा रहेको बुटवल सिमेन्ट मिल्सले क्लिङ्कर दैनिक ४६५ टन र सिमेन्ट दैनिक पाँच सय टन उत्पादन गर्दै आएको थियो ।     


५ फाल्गुन २०७७, बुधबार

सिरहामा थपियो सिमेन्ट उद्योग, सौर्य सिमेन्ट उद्योग सञ्चालन

सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो ।

 

निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते देखि क्लिङ्कर उत्पादन गरिरहेको शङ्कर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिनुभयो । क्लिङ्कर उत्पादन शुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उहाँले बताउनुभयो । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने जनाइएको छ । सो उद्योगबाट ओपिसी, पिपीसी र पिएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ । उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुङ्गा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ ।

 

सिरहाकै गोलबजार नगरपालिकाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Comments Box