सरकारले चालु आर्थिक वर्षदेखि फेरि हिमाली जिल्लाका १० स्थानमा नयाँ सहर निर्माण गर्ने अवधारणासहित बजेट विनियोजन गरेको छ ।
विनियोजन विधेयक २०७७ मा उठेका प्रश्नहरुको जवाफ दिँदै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी लिएका तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले उच्च हिमाली क्षेत्रमा सहरी विकासका कार्यक्रममा बजेट न्यून भएको बताएका थिए।
सरकारले १० वर्षअघि नयाँ सहर विकास गर्ने भन्दै मध्यपहाडी लोकमार्ग छेउका १० वटा स्थान छनोट गरेको थियो । ती स्थानमा व्यवस्थित सहर बन्न त सकेका छैनन् नै ।
बरू विभिन्न नाममा बर्सेनि नयाँ ठाउँ थपेर ५० वटा पुर्याइएको छ ।
२०७५ मा हिमाली सहरका रूपमा लुक्ला, स्याप्रुवेशी, जोमसोम, सिमिकोट र मार्तडीलाइ विकास गर्ने भनियो । २०७७ मा मात्र त्यसमा अरू पाँच थपेर १० वटा हिमाली जिल्लाको कागजी योजना तयार गरिएको छ ।
सरकारले हुम्लाको सिमकोट, डोल्पाको दुनै, सोलुखुम्बुको लुक्ला, रसुवाको स्याफ्रुँवेशी, मुस्ताङको जोमसोम, बाजुराको मार्तडी, ताप्लेजुङको फुङलिङ, संखुवासभाको किमाथांका, मनाङको चामे र बाजुराको कोल्टीमा गरी १० नयाँ हिमाली सहर निर्माणका लागि गुरुयोजना बनाएको छ । हिमाली सहरहरू प्रदेशअनुसार छनोट गरिएका हुन् ।
हिमाली र पहाडी क्षेत्रबाट सहरी क्षेत्र तथा तराईतर्फ बसाइँसराइ गर्ने क्रम बर्सेनि बढ्दै गएको छ । त्यहाँ बसोबास गरिरहेका मानिसहरूलाई त्यहीँ बस्न सक्ने वातावरण बनाउन नयाँ सहर विस्तार गर्ने नीति अघि सारिएको नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठले बताए ।
तराई तथा सहरी क्षेत्रमा बढ्दो बसाइँसराइ कम गरी विभिन्न क्षेत्रमा नयाँ र आधुनिक सहर विकास गर्ने रणनीति सरकारले लिएपनि योजनाअनुसार काम हुन सकेको छैन ।
सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेका नयाँ सहर हिमाली क्षेत्रको संस्कृति, परम्परा झल्किने गरी विकास गर्ने गरी गुरुयोजना तयार गरेको छ ।
नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक श्रेष्ठका अनुसार सहरीकरणमार्फत् स्थानीय मौलिकतालाई जोगाउँदै त्यहाँको रैथाने उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली सहरको गुरुयोजनामा समेटिएको छ ।
हिमाली गाउँहरूलाई शहर नबनाऔं
विश्व पर्वतारोहण संघ (यूआईएए) का अध्यक्ष नेदरल्याण्डका प्रथम सगरमाथा आरोही फ्रिट्ज फ्रिल्याण्डले वि स २०७४ मा नेपाल आएका बेला भनेका थिए, ” विकासका नाममा हिमाली गाउँहरूलाई शहर बनाउने, जताततै होटल खोल्ने, भीडभाड बढाउने काम गर्नुहुन्न । सकेसम्म प्राकृतिक नै बनाइराख्नुपर्छ । नेपालीले हिमाल महसूस गर्न बाँकी नै छ।”