किन मनाईन्छ नाग पञ्चमी ?

नागलाई सर्पको राजा अर्थात देउता मानिन्छ



काठमाडौं, १७ असार: हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरी मनाईदैछ ।

 

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।

 

घरको मुलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दु:ख नदिनेका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा अर्थात देउता मानिन्छ । नाग देउता रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक मान्यता रहेको छ ।

 

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

 

घरको मुलढोकामा नागको तस्विर टाँस्ने लगायत काठमाडौंको नक्सालस्थित नागपोखरीसहित ताल तलाऊमा गएर हिन्दुधर्मालम्बीहरुले नागको पुजाअर्चना गर्दै आएका छन ।

 

कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिएको हो ।

 

‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार ‘मन्त्रिपरिषद्’बाट मिति २०७८ चैत २९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Comments Box