साफ यु २०ः नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित



काठमाडौं, ८ साउन: यु– २० साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले शानदार शुरुवात गरेको छ ।

 

भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा सोमबार उद्घाटन खेलमा माल्दिभ्सविरूद्ध नेपाल ४–० ले विजयी भयो । जितसँगै नेपालले खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।

 

माल्दिभ्सविरुद्ध बल पोजिसन र फिनिसिङमा उत्कृष्ट देखिएको नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल गर्याे ।

 

नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

 

खेलको ४२औं मिनेटमा दीपेश गुरुङको गोलबाट नेपालले अग्रता लियो । आयुष घलानले हानेको डाइरेक्ट फ्रीकिकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरे । सोहि  रिबाउन्ड बललाई दीपेशले करिव २५ यार्डबाट गोलमा परिणत गरे ।

 

दोस्रो हाफमा मेघराज केसीको नेपाल थप माल्दिभ्सविरुद्ध हावी भयो । ५८औं मिनेटमा सुगम सुवालले काउन्टर अट्याकमा गोल गरे । डेनमार्कबाट टिममा स्थान बनाउन नेपाल आएका सुगमले वान भर्सेस वानमा दोस्रो बार च्यापेर गोल गरे । जुन बललाई माल्दिभ्सका गोलरक्षकले ढम्याउन सकेनन् ।

 

६१औं मिनेटमा नेपालले तेस्रो गोल गर्याे । कप्तान आयुष घलानलाई माल्दिभ्सका हुसैन शाभिनले फाउल गरेपछि नेपालले पेनाल्टी अवसर पायो । कृतिशरत्न छुन्जुले उत्कृष्ट गोल गर्दै नेपाललाई ३–० को अग्रता बनायो ।

 

खेलको इन्जुरी समय वैकल्पिक खेलाडी मनग्यले गोल गर्दै नेपाललाई सहज ४–० को जित दिलाए ।

 

अधिकांस समय बल नियन्त्रणमा राखेको नेपालले गोलका केहि राम्रा अवसर गुमाएको थियो ।

 

आयुष, सुगम र दिपेशले पाएका केहि अवसर सदुपयोग गर्न सकेनन् । यस्तै, माल्दिभ्सका केहि  राम्रो प्रहार गोलरक्षक इश्वर गुरुङले विफल पारेका थिए ।

 

यस अघि यु १८ र यु १९ समूहमा भएको प्रतियोगितामा नेपाल दुई पटक च्याम्पियन भएको छ । यस्तै, भारतले एक पटक जितेको छ ।

 

प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग बुधबार खेल्नेछ । यस्तै, भारत र बंगलादेशसँग क्रमशः खेल्ने कार्यक्रम रहेको छ  ।

 

लिग तालिकाको शीर्ष स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Comments Box