अन्जन मनाङ मर्स्याङ्दी छाडेर चर्च ब्वाइज क्लवमा आवद्द

२०७६ मा छनोट पार गर्दै चर्च ब्वाइज सी डिभिजन क्लब, २०७७ मा सी डिभिजन च्याम्पियन हुँदै बी , एक खेल अगावै बी डिभिजन च्याम्पियन भएर शीर्ष डिभिजनमा



राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट सहिद स्मारक ए डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडमा आबद्ध भएका छन्।

 

मंगलबार राति मात्र अन्जनले आफूले मनाङ मर्स्याङ्दी क्लब छाडेको घोषणा गरेका थिए। लामो समय मनाङबाट खेल्दा उनले लिगको उपाधिसहित दर्जनौं प्रतियोगिता जितेका थिए।

 

पछिल्लो समय उनी मनाङको कप्तान थिए। मनाङ छाड्दा उनले आफूलाई निकै दुख लागेको बताएका थिए।

 

‘सानोमा फुटबल खेल्न सुरू गर्दादेखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिएँ र पहिलोपटक मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिएँ, विगतका केही बर्षमा बिनास्वार्थ यस क्लबबाट खेल्दै, पछिल्लो केही बर्षयता कप्तानी सम्हाल्ने मौका पाउँदै आएको थिएँ,’ उनको भनाइ थियो।

 

‘जुन क्लबलाई मनदेखि आफ्नो दोस्रो घर सोचेर अगाडी बढेको थिएँ, त्यसमा केही व्यक्तिले क्लबलाई आफ्नो स्वार्थअनुसार चलाउन खोजेपछि पटकपटक राम्रो हुन्छ कि सोच्दा समेत व्यक्तिगत स्वार्थअनुसार क्लबको हितभन्दा आफू अनुसार क्लबलाई चलाउन खोजेपछि, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछी बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु।’

 

उनले मनाङ छाडेको भोलिपल्ट चर्च ब्वाइजले अन्जनसँग सम्झौता भएको सार्वजनिक गरेको हो। उनीसँग एक वर्षको सम्झौता भएको चर्च ब्वाइजको भनाइ छ।

 

२४ वर्षीय अन्जनले नेपालका लागि ११ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

 

चर्च ब्वाइज गत चैतमा बी डिभिजनबाट ए डिभिजनमा बढुवा भएको हो। चर्च ब्वाइजले २०६० साल ताका फुटबल खेल्न सुरू गरेको थियो। उसले पूर्वका विभिन्न प्रतियोगितामा समेत भाग लिएको थियो।

Comments Box