माओवादी केन्द्रको केन्द्रीय समिति बैठक; अर्थमन्त्रीमाथि छानबिन माग

व्यक्तिहरू एकलै हिरो बन्न खोज्ने र फस्ने। फसेपछि पार्टीले सहयोग गरेन भन्ने



अर्थमन्त्री जनार्दन शर्माले एकपछि अर्को विवादित कदम चालेका विषयमा छानबिन गर्नुपर्ने माग पार्टीमा उठेको छ। उनी आबद्ध माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार काठमाडौंमा सुरु भएको छ। अर्थमन्त्रीले बजेट बनाउँदा गरेका गल्तीबारे अझै तथ्यसत्य बाहिर नआएकाले पार्टीभित्र छलफलमै रहेको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले बताए।

 

‘यो छानबिनको विषय बन्न सक्छ। पार्टीभित्र यो छलफलमा उठ्ला’, नेता सहयात्रीले बैठकको सन्दर्भमा भने। पार्टीभित्र व्यक्तिगत प्रवृत्ति हावी भएको सहयात्रीले बताए। ‘हामीले अर्थमन्त्रीको सवाल मात्रै होइन समग्रमा सरकारकै कुरा उठाएका छौं। नेताहरू सरकारमा गएपछि पार्टीसंग सहकार्य गर्ने, छलफल गर्ने र सामुहिक निर्णयमा विश्वास गर्ने प्रवृत्ति कमजोर हुँदै गएको छ’, उनले भने, ‘त्यसले गर्दा व्यक्तिहरू एकलै हिरो बन्न खोज्ने र फस्ने। फसेपछि पार्टीले सहयोग गरेन भन्ने स्थिति जे पैदा हुँदै गएको छ। यो पार्टी भित्र एकखाले प्रवृत्ति नै बनेको छ। त्यसमा चेन्ज ल्याउनुपर्छ।’

 

पार्टीले यही बैठकमा अर्थमन्त्रीमाथि लागेको आरोपबारे आन्तरिक रूपमा छलफल गर्ने अर्का नेता रामनारायण बिडारीले बताए। ’छलफलले हामी सन्तुष्ट भएनौ भने छानविन हुन सक्छ’, नेता बिडारीले भने।

 

आइतबार सातै प्रदेश इन्चार्ज र अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए।

यो समाचार अन्नपुर्ण पोष्ट मा प्रकाशित छ ।

Comments Box