वर्षौ देखी ठप्प गोरखाका उत्तरी नाका; आश्वसनको पोको मात्र आयो, नाका भने खुलेन

नाकाबन्दी हुनुअघि छेकम्पारस्थित ङुइला नाका बाह्रै महिना खुल्ला हुन्थ्यो भने रुइला नाका वर्षमा एक पटक दुई वा तीन हप्ताका लागि खोलिन्थ्यो



कोरोना महामारी सुरु भएयता गोरखामा पर्ने चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका चीनले बन्द गर्‍यो ।

 

२०७९ कार्तिक २७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले लामो समयदेखि बन्द रहेको तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका थिए। उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग जोडिएका नाकाहरू खोल्न चीनसँग छलफल गर्ने आश्वासन दिएका थिए।

 

गोरखामा मात्रै चीनसँग जोडिएका २ वटा नाका छन् । चुमनुब्री १ सामागाउँस्थित रुईला र चुमनुब्री ७ छेकम्पारस्थित ङुइला नाका कोरोनाको समयदेखि बन्द भएको हो । बर्खाको चार महिना सदरमुकामबाट उत्तरी क्षेत्रसम्म पुग्ने सबै बाटोहरु अवरुद्ध हुँदा खाद्यान्न अभाव हुन थालेको छ । नाकाबन्दी हुनुअघि छेकम्पारस्थित ङुइला नाका बाह्रै महिना खुल्ला हुन्थ्यो भने रुइला नाका वर्षमा एक पटक दुई वा तीन हप्ताका लागि खोलिन्थ्यो ।

 

तिब्बतबाट चुमनुब्री गाउँपालिका वडा नम्बर १, २, ४, ६ र ७ का बासिन्दाले चामल, नून, घ्यू, चिया, तेल, चिनी, खुर्सानी, निर्माण सामग्री लगायत आयात गर्छन् । त्यहाँका स्थानीयले उत्पादन गरेका सामान पनि सोही नाकाबाट बिक्री गर्ने गरेका थिए । ल्हो र सामागाउँवासी कोरोना जोखिमअघि तिब्बतको कोङ्थानमा उपभोग्य सामग्री खरिदका लागि पुग्थे । चुम्चेत र छेकम्पारवासी भने दुई दिन दूरीमा रहेको तिब्बतको स्यो बजार पुग्थे । अहिले यी दुवै नाकामा चिनियाँ सुरक्षाकर्मीले प्रवेश रोकेका छन् ।

 

 

 

त्यहाँका स्थानीयले पटक पटक सरकारको ध्यानाकर्षण गराएका छन् । तर नाका खुलेको छैन ।

 

गोरखाको तल्लो बजारबाट सामागाउँलगायत सीमा क्षेत्रका गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी हुँदा लागत मूल्यको तेब्बर बढी ढुवानी तिर्नुपर्ने बाध्यतामा स्थानीय छन् ।

 

गोरखा मात्रै होइन, मुस्ताङको कोरला नाका पनि उति नै समयदेखि बन्द छ । चीनतर्फ अहिले भव्य महल बनिरहेको छ । तर नेपालले न भन्सार कार्यालय बनाउन सकेको छ न त नाका खोल्न पहल नै गरेको छ ।

Comments Box