उतिबेलाको प्रश्न: के भारत बाट विद्धुत किनेर लोडसेडिङ हटाएको हो ? – अहिले प्रमाणित !

कोइलाको मूल्य बढ्दा भारतमा बिजुली सङ्कट



 

भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।

 

 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा र भारतीय बजारमा बिजुलीको माग बढ्दा आपूर्ति प्रणाली खलबलिन पुगेको जानकारी दिए ।

 

हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग १५०० देखि १६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

 

भारतबाट नेपालले ३ माध्यमबाट बिजुली किन्दै आएको छ । एक्सचेन्ज बजार, राज्य सरकार बिहार र पावर ट्रेड कर्पोरेसनबाट बिजुली किन्दै आएको छ । तर, अहिले भारत नै बिजुली सङ्कटबाट गुज्रिदा यी तिनै माध्यमबाट बिजुली किन्न सकिएको छै ।

 

हाल अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य ४ गुणासम्म बढेको छ । रुस-युक्रेन युद्धका कारण विश्वभर यसको मूल्य उकालो लागिरहेको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्य कीर्तिमानी मूल्यमा बढ्दा ढुवानी लागत समेत बढेको छ भने कोरोना महामारीका कारण आपूर्ति प्रणाली नै खलबलिएको छ ।

 

सोहीकारण कोइलाबाट चल्ने भारतका पावर प्लान्टले मागेजति कोइला नपाएपछि उत्पादन कटौती गरेका छन् । यसका साथी भारतमा अहिले बिजुलीको माग ह्वात्तै बढेको छ ।


३० चैत्र २०७८, बुधबार

निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन – कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् ।

 

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार विहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्वीर राखिएको थियो ।

 

पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् ।

 

‘ यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन । थाहा पाउने वित्तिकै हटाउन भनेको छु,’ प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले न्युज कारखानासँग भने ।

२७ श्रावण २०७८, बुधबार

चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिनः घिसिङ

२७ साउन (रासस) : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भन्नुभयो, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरांै । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।”

 

आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उहाँले आफ्नो कार्ययोजना रहेको सुनाउनुभयो । अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरांै, काँधमा काँध मिलाएर अगाडि बढांै, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।”

 

आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उहाँले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा९माओवादी केन्द्र०को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उहाँले अवकाश पाउनुभएको थियो ।

 

आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरेपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उहाँलाई जिम्मेवारी दिएन । मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा नै बताउनुभएको थियो ।

 

गठबन्धनको संयोग

संयोग यतिबेला पनि त्यस्तै जुरेको छ । तत्कालीन गठबन्धन सरकार जस्तै, यतिबेला पनि कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुको संयुक्त सरकारले घिसिङलाई पुनः नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

 

उहाँलाई आज मात्रै ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले नियुक्तिपत्र दिनुभएको हो । प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणी बराबरको सुविधा उपलब्ध गराउने गरी पूणर्कालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।

 

नवनियुक्त कार्यकारी निर्देशक घिसिङले शाक्य र आफ्नो नियुक्ति फरक(फरक ठाउँमा एकैपटक भएको जानकारी दिँदै उहाँको ९शाक्य०को विज्ञतालाई सरकारले ऊर्जा क्षेत्रको विकासमा प्रयोग गर्न लागेको अर्थमा बुझेको बताउनुभयो ।

 

उहाँले जनताको अपेक्षालाई आफूले निराश नबनाउने भन्दै सबै मिलेर अगाडि बढे प्राधिकरणलाई सरकारका विभिन्न संस्थामध्येको नमूना बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिक नेतृत्व, कर्मचारी प्रशासनसँग समन्वय गरेर काम गर्न आफूलाई झनै सहज रहेको भन्दै देशको ऊर्जा क्षेत्रमा देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

निर्माणाधीन आयोजना सम्पन्न गर्ने अठोट

प्राधिकरणमा आयोजित पदबहाली समारोहलाई सम्बोधन गर्दै उहाँले निर्माणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गराउनेतर्फ आफ्नो विशेष पहल रहने उल्लेख गर्नुभयो । प्राधिकरण आफैको आयोजना नभए पनि सहायक कम्पनीमार्फत अगाडि बढाइएका आयोजना लामो समयसम्म अगाडि बढ्न नसक्दा लागत र समय दुवै बढेको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले अगाडि बढाएका आयोजनालाई आगामी एक वर्षभित्र पूरा गर्ने गरी काम गर्ने उहाँको भनाइ छ ।

 

रसुवागढी, माथिल्लो साञ्जेन, तल्लो साञ्जेन र मध्य भोटेकोशी जस्ता आयोजना चिलिमेका सहायक कम्पनीमार्फत अगाडि बढेका छन् । यस्तै, राहुघाट, माथिल्लो त्रिशूली थ्री बी जस्ता आयोजना समेत समयमै सम्पन्न गराउनेतर्फ आफू लाग्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

 

यस्तै अन्य केही ठूला आयोजनाको काम शुरु गर्ने गरी आवश्यक तयारी भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो । माथिल्लो अरुण, दूधकोशी, तामाकोशी पाँचांै र चैनपुर सेतीको वित्तीय व्यवस्थापन गरेर सकेसम्म स्वदेशी लगानीमा नै अगाडि बढाउने योजनासमेत उहाँले सुनाउनुभयो ।

 

माथिल्लो तामाकोशी सञ्चालनमा आउँदा त्यसले वार्षिक रुपमा झण्डै रु २० अर्ब बराबरको आम्दानी गर्ने भएकाले ठूला आयोजना अगाडि बढाउन स्रोतको कुनै अभाव नहुने उहाँले उल्लेख गर्नुभयो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थाबाट ऋण लिएर भए पनि आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने उहाँको भनाइ छ ।

 

वितरण प्रणालीमा सुधार र गुणस्तरीय बिजुली

 

वितरण प्रणालीको सुधार तथा औद्योगिक क्षेत्रमा बिजुली खपत बढाउने योजनाका साथ आफूले काम गर्ने उहाँको प्रष्टोक्ति छ । यस्तै, बिजुली नपुगेका नागरिकको घरमा बिजुली पुर्‍याउनका लागि सबैका साथ र सहयोग जरुरी रहेको उहाँको भनाइ छ । हाल ९२ प्रतिशत घरधुरीमा बिजुली पुगेको तथ्याङ्क उहाँले पेश गर्नुभयो ।

 

बाँकी रहेको स्थानमा पनि एकाध वर्षभित्र बिजुली पुर्‍याउने, तराईका क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि प्रणालीको स्थापाना गर्ने आफ्नो योजना रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै, गुणस्तरीय बिजुली उपभोग गर्न पाउने नागरिकको अधिकारलाई सकेसम्म सम्बोधन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

 

देशभित्रै नै बिजुली खपत गर्ने योजनाका साथ काम गर्ने र बढी भएको बिजुली मात्रै भारत तथा बङ्गलादेशको बजारमा पठाउन सकिने उहाँको भनाइ छ । यस्तै, दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको न्यू बुटवल गोरखपुर प्रसारण लाइनको काम समेत छिट्टै शुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

निजी क्षेत्रलाई अर्धजलाशयुक्त प्रकृतिका आयोजनामा अगाडि बढ्न आफूले सुझाव दिएको भन्दै त्यस्ता आयोजनाले मात्रै राष्ट्रिय आवश्यकताको सम्बोधन गर्ने उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा भइरहेको बिजुलीको तार भूमिगत गर्ने काम प्रभावकारी हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

 

शहरको सौर्दय बढाउने तथा तार र पोलरहित बनाउने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रम प्रभावकारी बन्न नसेकेको भन्दै उहाँले आजै निर्माण व्यवसायीलाई बोलाएर छलफल गर्ने जानकारी दिनुभयो । प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै पनि कमजोरी हुन नहुने भन्दै उहाँले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डको व्यवस्थासमेत कडाइका साथ लागू गर्ने घोषणा गर्नुभयो ।

 

गलत गर्नेलाई कुनै पनि हालतमा छुट नदिने र कुनै पनि प्रकारको सम्झौता नगरिने उहाँको दृढता छ । प्राधिकरणलाई अझै सबल संस्था बनाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले सबै मिलेर काम गरेको खण्डमा सुविधासमेत क्रमशः वृद्धि हुँदै जाने स्पष्ट पार्नुभयो । उहाँले आफूलाई कार्यकारी निर्देशकका रुपमा पुनः नियुक्ति दिने नेपाल सरकार, ऊर्जा मन्त्रालय र नेपाली जनतालाई धन्यवाद दिँदै सकारात्मक कामका लागि सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा प्राधिकरणको आधिकारिक टे्रड युनियनका संयोजक रामेश्वर पौडेलले प्राधिकरणलाई सक्षम संस्था बनाउन कार्यकारी निर्देशकसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comments Box