मध्य मोदी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु

सुरुवातमा २ अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको लागत समेत बढेर ४ अर्ब पुगेको



मङ्सिर २४ गते । पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ ।

 

करिब रु. ४ अर्ब लगानीमा निर्माण भएको आयोजनाको गत मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । १५ दशमलब १ मेघावाट उत्पादनको लक्ष्य लिएको आयोजनामा १८.१ मेगावाट उत्पादन भएको आयोजनाले जनाएको छ ।

 

चौधरी ग्रुपको लगानीमा सञ्चालित मिडिल मोदी हाईड्रोपावर लिमिटेडले २०७१ सालको मङ्सिर महिनाबाट सुरु गरेको हो । २०७४ सालमा निर्माण पूरा गर्ने लक्ष्यका साथ सञ्चालन भएको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो ।

 

परीक्षणका लागि नेपाल विद्युत प्राधिकरणको टोलीले निगरानी गरिरहेको छ । आयोजनाको सबै काम सकिए पनि प्रसारण लाइनमा भने जोडिएको छैन । प्रसारण लाइनको कार्य सम्पन्न भए पनि परीक्षण उत्पादनको सबै काम सकिएपछि मात्रै जडान गरिने आयोजनाका प्रवक्ता मधुसुधन पौडेलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ, ती सबै काम पूरा भएका भएपछि परीक्षण उत्पादन थालिएको हो ।

 

निर्माणको काम थालेको ३ वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना ५ वर्षपछि धकेलिएको हो ।

 

आयोजना प्रवक्ता पौडेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत ४ किलोमिटर लामो प्रशारण लाईनमार्फत १ सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सवस्टेसन जडान गर्ने तयारी भइरहेको छ । ‘१५ दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाईनमा जोडिन्छ’ उहाँले भन्नुभयो ।

 

सुरुवातमा २ अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको लागत समेत बढेर ४ अर्ब पुगेको बताइएको छ । आयोजनाको हेडवक्र्स पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बिरेठाँटीमा रहेको छ ।

 

‘रन अफ दी रिभर’ प्रणालीमा निर्माण हुने आयोजनामा मोदीखोला र भुरुङ्गदी खोलाको संगमबाट मोदीखोलाको पानी फर्काई २३ सय ९३ मिटर लामो सुरुङ्गबाट पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा ल्याइएको छ ।

 

आयोजनाले यसअघि नै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपीए) गरिसकेको छ । वर्षायाममा ४ रुपियाँ ८० पैसा र हिउँदमा ८ रुपियाँ ४० पैसाका दरमा विद्युत खरिद सम्झौता भएको छ ।


१५ मंसिर २०७८, बुधबार

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सञ्चालनमा

 पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि पुनः सञ्चालन भएको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सञ्चालनमा ल्याइएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

 

आयोजनाभन्दा माथिबाट आएको पहिरोले ठूलो क्षति पु¥याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो । उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको थियो । टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत् गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको थियो ।

 

निर्देशक गौतमका अनुसार बाढी र पहिरोका कारण नोक्सान मात्रै रु पाँच करोडभन्दा बढी भएको छ । त्यसैगरी अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप रु दुई करोड आम्दानीसमेत घटेको उहाँले बताउनुभयो । आयोजनाको मर्मत पूर्णरूपमा अझै नसकिएको उहाँको भनाइ छ । यसअघि पनि जेठ ३१ गते राति सुन्दरेखोलामा आएको बाढीले नहर पुरिँदा झण्डै एक महिनामा आयोजना सञ्चालनमा आएको थियो ।

Comments Box