मनाङमा विपद्ले निम्त्याएको दुःख; ७ महिनापछी गण्डकी सरकारको राहत



पुस २७ गते जिल्ला प्रशासन कार्यलय मनाङ ले एक सुचना जारी गर्दै, गत जेठ असारको मनसुनजन्य विपदबाट घरबास पूर्णक्षति भएका लाभग्राहीले गण्डकी प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार दुई दुई लाखका दरले प्राप्त पुननिर्माण रकमको चेक वितरण गरिएको जनाएको छ । घरबास पूर्णक्षति भएका लाभग्राहीहरु मध्य चामे गाउँपालिकाका नौ जना, नार्पाभूमि गाउँपालिकाका सात जना र मनाङ ङिस्याङ गाउँपालिका छ जनाले पुननिर्माण रकमको चेक लिएको जनाईएको छ।

 

 

तिलिचो न्युजले २०७८ श्रावन ९, शनिवार मनाङमा विपद्ले निम्त्याएको दुःख र यस का विभिन्न आयाम हरु बारे एक समाचार प्रकाशित गरेको थियो ।

 

मनाङमा विपद्ले निम्त्याएको दुःख; ५९ घर पूर्ण क्षति, ५४ किलोमिटर सडक क्षतबिक्षत

२०७८ श्रावन ९, शनिवार

मनाङमा वाढी र पहिरोबाट मानवीय क्षति हुन पाएन, तर ५९ घर पूर्ण क्षति भएको छ । झण्डै ५४ किलोमिटर सडक बाढी र पहिरोले भत्काएउँदा अहिलेसम्म सदरमुकाम चामे सडक सञ्जालबाट विच्छेद छ ।

 

 

सात वटा गाडी गुड्ने पुलसहित बेलिब्रिज, सरकारी भवन, स्कुलसमेत क्षति पुगेको छ । यहाँका चार जलविद्युत् आयोजनामध्ये दुई पूर्ण र दुईमा आंशिक क्षति छ ।

 

मानवीय क्षतिको विवरण आइसके पनि भौतिक क्षतिको अझै यकीन विवरण आइनसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउनुहुन्छ ।

 

२५ मिलियन डलर सहुलियतपूर्ण ऋण

यसपालीको मनसुनजन्य घटनाबाट क्षति बेहोरेको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सरकारले आवश्यक राहत, पुनःनिर्माण तथा पुनःस्थापनका कार्य अघि बढाएको छ । त्यसका लागि विश्व बैंकबाट थप २५ मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग प्राप्त हुने आश्वासन आइसकेको छ ।

 

जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान

सरकारले मनसुनजन्य घटना तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ कार्यान्वयनमा ल्याएको छ । यस्तै विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७२ (प्रथम संशोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्याविधि २०७८, कार्यान्वयनमा रहेको र फिल्ड अनुसन्धान तथा पहिरो प्रभावित व्यवस्थापन प्राविधिक गाइडलाइन निर्माण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका कामलाई उच्च प्राथमिकता दिएको छ ।

 

सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान यसै वर्षबाट शुरु गरेको जनाइएको छ ।

 

यसपालि जोखिम विगतकोभन्दा बढी

नेपालमा गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरि फैलिएको थियो । यसपालि सरदरभन्दा बढी नै पानी पर्ने आँकलन गरिएकाले पनि बाढी, पहिराको जोखिम विगतकोभन्दा बढी नै छ ।

नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन् । हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ ।

नेपालमा भिरालो जमीन, कमजोर भौगोलिक अवस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोबास, अव्यवस्थित शहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञले औँल्याएका छन् ।

 

१८ लाख बढी मानिस प्रभावित हुने अनुमान

विगतको तथ्याङ्क विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्मा बाढीबाट १७ लाख र पहिराबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको सुनाउनुहुन्छ ।

 

गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो । सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।