काठमाडौँ, १९ माघ (रासस) : हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘आजको आवश्यकता : सिमसारको पुनर्स्थापना’ भन्ने नाराका साथ नेपालमा पनि सिमसार दिवस मनाइँदैछ ।
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गराउँछ । सिमसारले वातावरण संरक्षण तथा पर्यापर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउँछ । सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहँुदा, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ ।
विश्वको करिब नौ प्रतिशत र नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । विभागको तथ्याङ्कानुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।
नेपालमा रामसार क्षेत्रमा परेका सिमसार क्षेत्रहरुको व्यवस्थापनको मुख्य जिम्मेवारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको रहेको छ । त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, भू तथा जलाधार संरक्षण ऐन २०३९, जलस्रोत ऐन २०४९, वन ऐन २०७६, वातावरण संरक्षण ऐन २०७६ लगायतलाई पनि सिमसार संरक्षणको क्षेत्रका कानूनी प्रबन्धको रुपमा लिन सकिन्छ । नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ सिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र गरी देशकोे कूल क्षेत्रफलको २३.३९ प्रतिशत (३४,४१९.७५ वर्ग कि.मी.) संरक्षित क्षेत्र रहेको छ । नेपालमा रहेका १ सय १८ किसिमका पारिस्थितिकीय प्रणालीमध्ये यी संरक्षित क्षेत्रहरुमा ८० किसिमका प्रणाली पर्ने हुनाले यी क्षेत्रहरु सिमसार अर्थात् पानीका स्रोत र त्यसमा आश्रित जैविक विविधताको संरक्षणका लागि निकै महत्वपूर्ण छन् ।
सरकारले सिमसार क्षेत्रलाई महत्त्व दिँदै २०५९ मा सिमसार संरक्षण नीति ल्यायो । २०६९ मा सोही नीतिलाई परिमार्जन गर्यो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न’ सिमसार कोष स्थापना गर्ने नीति पनि अघि सारेको थियो । नीतिअनुरूप राष्ट्रियस्तरमा समन्वय गर्न सचिवस्तरमै कार्यदल व्यवस्था छ । तथापि सिमसार क्षेत्र जोखिममै रहेको छ ।
जलवायु परिर्वतनका असरले पोखरी सुक्दै गएका कारण पनि सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएका छन् ।
विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र सवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आवद्ध देशको सङ्ख्या १७० पुगेको छ । साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १७ डिसेम्बर १९८७ का दिन नेपालले कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो ।
रामसार सूचीमा नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बीसहजारी तथा आसपासका तालहरु, रारा ताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड तथा आसपासका तालहरु, गोक्यो तथा आसपासका तालहरु, माईपोखरी र पोखरा उपत्यकाका ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ । सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान प्राकृतिक प्रणालीको अंश मानिन्छ । यसले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्छ । सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पु¥याउनेलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याएको हुन्छ ।
२१ माघ २०७७
विश्व सिमसार दिवसमा सात तलाउको नामकरण
विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिनुभयो । पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उहाँले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताउनुभयो ।
उहाँका अनुसार प्रकृतिविद् स्व हर्क गुरुङ, डा चन्द्र गुरुङ, डा मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा तीर्थमान मास्के, डा जर्ज अर्चिबल्ड र डा घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ । डा घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक हुनुहुन्छ भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।