हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकामा चिन्ता व्यक्त



काठमाडौँ, २८ पुस

पर्वतारोहणमा जाने आरोहीहरुले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरुबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरुले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरुमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफिेड), डोको रिसाइक्लियरर्स र ब्लु वेष्ट टू भ्यालु नामक संस्थाद्वारा संयुक्त रुपमा यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले केही वर्षयता नेपालमा प्लास्टिकजन्य सामग्रीको आयात तथा उत्पादनमा वृद्धि भएसँगै यसले वातावरणमा पारेका नकारात्मक असरका बारेमा अध्ययन अनुसन्धान गरी समाधानका उपयुक्त विकल्पहरुका बारेमा राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

 

 

प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापीरुपमै बढ्दै गएको सन्दर्भमा आगामी फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घीय प्लास्टिक प्रदूषण महासन्धिको मस्यौदामा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई जोडदार रुपमा उठाउन पनि विज्ञहरुले सुझाव दिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले केही वर्षअघि सगरमाथाबाट सङ्कलन गरेको हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरु पाइएको तथ्यहरुले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको समस्या बढ्दै जानुको एक मुख्य कारण औँल्याएको थियो ।

 

सो अवसरमा वन तथा वातावरणमन्त्री रामसहाय यादवले नेपालमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएकाले यसको रोकथाम, न्यूनीकरण एवं नियन्त्रणका कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि एक कार्ययोजना तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको जानकारी गराउनुभयो । उहाँले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण हुन नदिन हाम्रो आन्तरिक प्रयाससँगसँगै यस समस्यालाई अन्तर्राष्ट्रियकरण गर्र्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

 

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका प्रविधि अन्वेषण शाखाप्रमुख वैज्ञानिक डा रवीन्द्र ढकालले हिमाली क्षेत्रको प्रदूषणको अध्ययन अनुसन्धान गरी त्यसको कारण पहिल्याउन आवश्यक रहेको बताउँदै प्लास्टिकजन्य प्रदूषणको समस्याको समाधान विश्वव्यापी रुपमै खोजी हुनु आवश्यक छ भन्नुभयो । साना तथा मझौला उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले प्लास्टिकहरुको प्रयोगबाट हुने वातावरणीय प्रदूषण र स्वास्थ्यजन्य नकारात्मक असरलाई कम गर्न प्लास्टिकको आयात, उत्पादन, बिक्रीवितरण, प्रयोगकर्ता एवं फोहर सङ्कलन, ओसारपसार र पुनः प्रयोगमा संलग्न व्यक्ति, सङ्घसंस्था, निजी क्षेत्रबीच सहकार्य र साझा दृष्टिकोण बन्नु जरुरी रहेको बताउनुभयो ।

 

कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक प्लास्टिक रामचरित्र साहले नेपालमा प्लास्टिक प्रदूषणको सवाल र प्रभाव, ब्लु वेष्ट टू भ्यालुका नवीन विकास महर्जनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण र सफाइ अभियान, डोको रिसाइक्लियरर्सका पङ्कज पञ्जियारले नेपालमा प्लास्टिक रिसाइक्लिङको अवस्था र समस्या र वन तथा वातावरण मन्त्रालयका केशवराज जोशीले नेपालमा प्लास्टिक प्रदूषण व्यवस्थापनसम्बन्धी सरकारको भूमिका उत्तरदायित्व तथा पहलका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

सडक छेउ र नदी किनारमा फालिएको फोहोरले प्रदूषण

३ फाल्गुन २०७७: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन् ।

 

 

फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खानेपानी आयोजनाको मुहान छ । जलजला गाउँपालिकाको वारीबेनी बजारको फोहोर सङ्कलन गरेर वारीबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएको छ ।

सडक छेउमा फालिने फोहोर हिन्दू धर्मावलम्बीको पवित्र नदी कालीगण्डकीमा समेत पुग्छ । फालिएको फोहोर नष्ट गर्न लगाइने आगोको धुँवाले बटुवा, गाडीमा यात्रा गर्ने र स्थानीयवासीलाई प्रभावित बनाएको वारीबेनीकी रञ्जता शर्माले बताउनुभयो । “नाक थुनेर हिँडडुल गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “खानेपानीको मुहान नजिकै फोहोर फाल्न ठीक भएन । फोहोरको दुर्गन्ध र प्रदूषणले समस्या बनाएको छ ।”

यसअघि स्थानीय बजार व्यवस्थापन समितिले गर्दै आएको फोहोर व्यवस्थापन गर्न केही महिनाअघि जलजला गाउँपालिकाले वारीबेनीको पिपलबोट युवा क्लबसँग सम्झौता गरेको थियो । गाउँपालिकाले रु २२ लाखमा खरिद गरेको ट्र्याक्टर मर्मत, इन्धन र चालक खर्च व्यहोर्ने सर्तसहित संस्थालाई उपलब्ध गराएको छ । गाउँपालिकाले तोकेको दरअनुसार शुल्क लिने संस्थाले पालिकालाई वार्षिक रु चार लाख ८० हजार बुझाउने सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

व्यवसायी, घरधनी र भाडामा बस्नेका लागि मासिक न्यूनतम रु ५० देखि रु एक हजार १५ सम्म विभिन्न २६ वटा शीर्षकमा सेवा शूल्क तोकिएको छ । सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरी संस्था छनोट गरिएको हो । संस्थाले हाल पर्वत बेनी र बगरफाँटमा ९०० घरधनी, व्यवसायी र भाडामा बस्नेबाट फोहोर व्यवस्थापन शुल्क उठाउन थालेको छ । दैनिक तीन ट्र्याक्टर फोहोर सङ्कलन हुन्छ ।

लामाखेत, मिलनचोक र लस्ती बजारमा पनि फोहोर सङ्कलन गर्ने सम्झौता भए पनि कार्यान्वयन भएको छैन । फोहोर व्यवस्थापन गर्न गत वर्ष गाउँपालिकाले आटरी भन्ने ठाउँमा रु पाँच लाख खर्चेर बनाएको डम्पिङसाइट र त्यहाँ पुग्ने सडक पहिरोले भत्काएको थियो । सडक र डम्पिङसाइट मर्मत नभएकाले सडक छेउ र कालीगण्डकी किनारमा फोहोर फाल्न बाध्य भएको पिपलबोट युवा क्लबका सचिव चञ्चल जिसीले बताउनुभयो ।

“मर्मतका लागि गाउँपालिकालाई आग्रह गरेका छौँ” उहाँले भन्नुभयो, “मिलनचोक र लस्ती बजारमा पनि ट्र्याक्टर पठाएर फोहोर व्यवस्थापन गर्ने तयारीमा छौँ ।” मिलनचोकको फोहोर लुङ्दी र लस्ती बजारको फोहोर कालीगण्डकी तथा लस्ती खोलामा फाल्ने गरिएको छ ।