सगरमाथा आधार शिविर सार्ने तयारी

आरोहणका क्रममा बढ्दो मानवीय चापले आधार शिविरमा एक दिनमा झन्डै चार हजार लिटर पिसाब फेर्छन् ।



जलवायु परिवर्तनसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ ।

 

 

पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

 

जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको छ ।

 

हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण

 

पर्यटन विभागका निर्देशक सूूर्यप्रसाद उपाध्यायका अनुसार आधार शिविर सार्नेबारे सम्भावना र सुरक्षा चुनौतीलाई आधार मानेर प्रारम्भिक अध्ययनतर्फ सरकारले ध्यान दिएको छ । खुम्बु क्षेत्र समन्वय समितिले स्थलगत अध्ययन र अवलोकनपछि आधार शिविर सार्नेबारे पर्यटन विभागलाई  सुझाएको छ ।

 

समितिले अबको दुई साता भित्र कति मिटर तल बेस क्याम्प सार्ने भन्नेबारे प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोही प्रतिवेदनको आधारमा बाह्रैमास हिउँ नपर्ने ठाउँमा नयाँ आधार शिविर राख्ने सम्बन्धित सबै पक्षसँग परामर्श गरिने भएको छ ।

 

विभागका अनुसार यस वर्षको वसन्त ऋतुुमा मात्रै छ सयभन्दा बढीले हिमाल आरोहण गरेका छन् । आरोहणको मौसममा दैनिक दर्जनाँै हेलिकप्टरले आधार शिविरमा ओहोरदोहर गर्दै आएका छन् । आरोहण खुलेयता भरिया, पथ प्रदर्शक, आरोही, सम्पर्क अधिकृत, सुरक्षाकर्मीसहित सयाँै व्यक्ति आधार शिविरमा पुग्ने गरेका छन् । कतिपय आरोही आरोहण सकिउन्जेलसम्म आधार शिविरमै बस्नुपर्ने भएकाले फोहोरसमेत बढ्दै गएको विभागको भनाइ छ ।

 

आरोहण सहजीकरणका लागि खुम्बुमा खटिएका सम्पर्क अधिकृत खेमलाल गौतमका अनुसार पर्वतीय पर्यटनलाई सुरक्षित राख्न र आरोहण क्षेत्रमा देखिएको आकर्षणलाई बचाई राख्न सुरक्षित बेस क्याम्पको अवधारणा अघिसारिएको हो ।

 

गौतमले आधार शिविरमा केही वर्ष पहिलेसम्म हिउँको डल्लो तताएर पानीको व्यवस्था गरिँदै आएकोमा अहिले खुम्बु नदीको पानीको प्रयोग हुनेगरेको छ । जसलाई जलवायु परिवर्तनको मुख्य उदाहरणका रूपमा लिन सकिन्छ ।

 

आधार शिविरमा खाना पकाउन तथा तातोका लागि ठूलो मात्रामा मट्टीतेल एवं ग्यास प्रयोग गर्दासमेत हिमनदीको हिउँमा असर परेको उहाँको अनुभव छ । अहिले दैनिक कम्तीमा १४ किलो एलपी ग्यास खाना पकाउन बेसक्याम्पमा प्रयोग हुँदै आएको छ ।

 

त्यस्तै आरोहणका क्रममा बढ्दो मानवीय चापले आधार शिविरमा एक दिनमा झन्डै चार हजार लिटर पिसाब फेर्छन् । दिसा गर्न केही व्यवस्थापन भए पनि पिसाब भने खुला रूपमा नै हुने गरेको छ । दिसाका ड्रमहरू सगरमाथा प्रदूषण नियन्त्रण समितिले प्रतिड्रम ३७५ रुपियाँमा आधार शिविरभन्दा पाँच किलोमिटर तल दक्षिणमा रहेको लुबुचे भन्ने ठाउँमा विर्सजन गर्दै आएको छ । यस पटकको आरोहणमा मात्रै त्यस्ता १५० ड्रम प्रयोगमा आएका थिए ।


९ चैत्र २०७७, सोमबार

अबदेखि सगरमाथा बेसक्याम्पमा दुई सरकारी डाक्टर

वसन्तयामको आरोहणलाई व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले विशेष सुधारात्मक कामका साथ सक्रियता बढाएको छ। साहसिक एवम् अति नै संवेदनशील मानिने सगरमाथा आरोहणलाई व्यवस्थित र गुणस्तरीय बनाउन विभागले आरोहण इतिहासमै पहिलोपटक चिकित्सकलाई सगरमाथाको आधार शिविरमै खटाएको छ। त्यसो त यसअघिका आरोहणमा पनि चिकित्सकको व्यवस्था हुने भए पनि उनीहरू सम्बन्धित स्थानमा पुग्दैन थिए। सम्पर्क अधिकृत पनि सम्बन्धित गन्तव्यमा नपुग्ने, बीचबाटै फर्किनेलगायतमा समाचार आएका थिए।

 

हिमाल आरोहणका लागि उपयुक्त वसन्तयाममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन्। आरोहणमा देखिएका विभिन्न जटिलता र विकृतिलाई नियन्त्रण गर्न नियामक विभागले पर्वतारोहणलाई व्यवस्थित गर्ने भएको हो। विभाग, पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले यो वर्षको वसन्तयामको आरोहणमा सम्बन्धित क्षेत्रमै चिकित्सक रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

 

 सगरमाथा आरोहणलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय बनाउन हामीले विभिन्न व्यवस्थापन गर्ने क्रममा यो पटक सगरमाथाको आधार शिविरमै रहने गरी दुईजना चिकित्सक खटाइसकेका छौँ, उहाँहरू सम्भवतः त्यहाँ पुगिसक्नुभयो, अहिलेसम्मको आरोहण र अभिलेखलाई हेर्दा यो ऐतिहासिक काम भएको हामीलाई लागेको छ, आधार शिविरमै चिकित्सक राखेको अरू उदाहरण भेटेका छैनौँ”, उहाँले भन्नुभयो।

 

विभागले स्वास्थ्य सेवा विभागअन्तर्गतका दुई चिकित्सकलाई काजमा सगरमाथाको आधार शिविरमा खटाएको छ। विभागले पर्यटन ऐन र पर्वतारोहण नियमावलीबमोजिम खटिने सम्पर्क अधिकृतलाई पनि व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक बन्दोबस्ती मिलाएको निर्देशक आचार्यले बताउनुभयो। आरोहणका दौरानमा अन्य गतिविधि बढेकाले विभागले यस पटक तस्बिर र भिडियो खिच्न तथा त्यसलाई प्रकाशन÷प्रसारणमा कडाइ गरेको छ। आरोहीले हिमालमा आफ्नो आरोहण दलको गतिविधिलाई भने फोटो, भिडियोमा कैद गर्न सक्नेछन् तर ती सामग्री अन्य प्रयोजनका लागि पाइने छैन। आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि विभागबाट पूर्व जानकारी लिनुपर्नेछ।

 

आरोहण दलको सङ्ख्यानुसार सम्पर्क अधिकृत खटाइन्छ। एक आरोहण दलमा एक सम्पर्क अधिकृत खटिन्छन्। एकदेखि १५ जनाको आरोही दल हुन्छ। आरोहणमा खटिने सम्पर्क अधिकृतको अवधि पनि हिमालअनुसार फरकफरक हुन्छ। सगरमाथा (८,८४८.४६ मी) सहित आठ हजार मिटर अग्ला हिमालका लागि ७५ दिनका लागि सम्पर्क अधिकृत खटाइन्छ। उनीहरू आवश्यकता र मौसमको अनुकूलताअनुरुप खटिन्छन्।

 

पर्वतारोहणसम्बन्धी नियमावली–२०५९ मा व्यवस्था भएअनुसार सम्पर्क अधिकृत आरोही दलसँगसँगै कार्यक्षेत्रमा खटिनुपर्ने भए पनि व्यावहारिकरूपमा आरोहीभन्दा केही समय ढिलो सम्पर्क अधिकृत खटिन्छन्। वसन्तयामको आरोहणका लागि स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिइरहेका छन्। अहिलेसम्म बाक्लै सङ्ख्यामा आरोहीले आरोहण अनुमतिका लागि निवेदन दिएको विभागले जनाएको छ। यो यामको आरोहण आगामी मेको पहिलो साताभित्र आरोहण शुरु हुने विभागको अनुमान रहेको निर्देशक आचार्यले बताउनुभयो।

 

वसन्त आरोहणका लागि अनुमति लिएका आरोही गन्तव्यतिर लागिसकेका छन्।  आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ। आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन्। वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ। हालसम्म मनास्लु, लुबुचेलगायत हिमाल आरोहणका लागि आरोही समूह गन्तव्यतर्फ निस्किएका छन्।

 

साहसिक पर्यटन आरोहणका क्रममा सम्पर्क अधिकृत खटाइएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको जनाउँदै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको छ। आरोहणका गतिविधिलाई प्रभावकारी नियमन र व्यस्थित गर्न खटिन सम्पर्क अधिकृतलाई विभागले विशेष जिम्मेवारीका साथ खटाउनेछ।

 

आरोहणमा अनुशासन कायम गर्न अघिल्लो वर्षदेखि आरोहणमा सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रूपमा खटाइने गरिएको छ। कतिपय सम्पर्क अधिकृत सगरमाथाको आधार शिविरसम्म पनि नपुग्ने, बीच बाटाबाटै फर्कनेजस्ता समाचार बाहिर आएका थिए। सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन्।

 

सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ।  अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ। नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन्।

 

सगरमाथा आरोहणको सलामी ऋतुअनुसार फरकफरक हुन्छ। विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ। यस्तै, शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ। यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा रू ७५ हजार, शरद ऋतुमा रू ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ।

Comments Box