हिमालय पथप्रदर्शकको प्रमाणपत्र नहुँदा आरोहीलाई सास्ती



८ भदौ (रासस) :  आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो । उहाँसँग विश्वको अग्लो हिमाल सगरमाथा १० पटक चढिसकेको अनुभव छ । शेर्पा हालै विश्वको दोस्रो हिमाल केटु हिमालको सफल आरोहणपछि पोखराको लेकसाइडस्थित स्नो ल्याण्ड होटलमा भेटिनुभयो । साथमा १० जना आरोही पनि थिए । उहाँ आरोहण दलको नेता । १९ वर्षको उमेरमा पहिलोपल्ट सगरमाथा हिमाल चढ्नुभएका शेर्पाले अहिलेसम्म आठ हजार मिटर अग्ला पाँच वटासहित दर्जन बढी हिमाल आरोहण गरिसक्नुभएको छ । हिमालय पथप्रदर्शकको परिचय पत्र भने अझै पाउन सक्नुभएको छैन ।

 

 

उहाँ भन्नुहुन्छ, “हामी दर्जन बढी हिमाल चढिसक्यौँ । हाम्रो पेशा नै हिमाल चढ्ने र अरुलाई चढाउने हो तर पनि माउण्टेन गाइडको परिचय पत्र दिन आनाकानी गरिएको छ । यसले बेलाबेला समस्या सिर्जना गर्दोरहेछ ।” उहाँले भन्नुभयो, “जीवनलाई जोखिममा राखेर रमाउने बानी परेर होला हिमाल आरोह अवरोहका कठिनाइ सामान्य लाग्छन् तर बेला बेलामा आरोहीको प्रमाण माग्दा र देखाउन नसक्दा भने कहिलेकाहीँ खिन्न लाग्ने गर्दछ ।”

 

 

हिमालयन गाइड्स नेपालमा आबद्ध भएर माउण्टेनियरिङ्ग गाइड गर्दै आउनुभएका उहाँले हालसम्म १५ बढी विदेशी टोलीलाई सगरमाथा, केटु लगायतका हिमालको सफल आरोहण गराइसक्न भएको छ । उहाँ सुनाउनुहुन्छ, “विदेशमा आरोही हौँ भन्दा सम्मान पाउँछौ तर आफ्नै देशमा बेलाबेला निकै दुःख पाइन्छ । परिचयपत्र खोजिन्छ तर सरकारले दिँदैन”, उहाँले पछिल्लो अनुभव सुनाउँदै भन्नुभयो । “हालै केटु हिमाल आरोहणमा जाँदा हामीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र प्रहरीबाट अवरोध भयो, केरकार बढी गरियो र रोकियो ।” शेर्पाले भन्नुभयो, “हामीले आरोही हौँ, भनेर भन्दा पनि उहाँहरुले तपाई आरोही भन्ने प्रमाण के छ रु प्रमाण देखाउनुस् भन्नुभयो, करिब दुई घण्टा रोकेर तीन पेज लामो कागज बनाएर मात्र छोडियो ।”

 

परिचयपत्र नहुँदा गुगलमा नाम सर्च गरेर फोटो समाचार देखाउनुपरेको अनुभवसमेत उहाँसँग छ । “पाकिस्तानको इमिग्रेशनमा हामीलाई सामान्य जाँचपछि छाडियो तर आफ्नो देशमा घण्टौँ रोकियो ।” शेर्पा भन्नुहुन्छ, “आठ हजार मिटर अग्ला हिमाल चढेका व्यावसायिक आरोहीहरुलाई हिमालय पथप्रदर्शकको प्रमाणपत्र सरकारले सहज व्यवस्था गरिदिए हुने थियो ।” उहाँले नेपाल माउण्टेनको देश भनेर विश्वमा चिनिए पनि पर्वतारोहण पर्यटनलाई सरकारले प्राथमिकता दिन नसकेको भन्दै प्राथमिकतमा राखेर कार्यक्रम ल्याउनसमेत सुझाव दिनुभयो ।

 

 

अग्लो हिमाल सगरमाथा भए पनि आरोहणका हिसाबले दोस्रो अग्लो हिमाल केटु भने निकै जोखिम रहेको उहाँ अनुभव छ । “केटु आरोहण चार पटकको प्रयासमा दुई पटक सफल भयो । अरु हिमाल एक पटकमा आरोहण सफल भएको थियो ।” पाकिस्तानमा पर्ने आठ हजा ६११ मिटर अग्लो केटुमा हावा अत्याधिक चल्ने र ‘रफ फलिङ’ बढी हुने भएकाले निकै चुनौती मानिन्छ । उहाँले तुलनात्मक रुपमा केटुमा ज्यानलाई जोखिममै राखेर आरोहण गर्नुपरेको अनुभव समेत सुनाउनुभयो ।

 

 

यसपालिको आरोहण अमेरिकन लगायतको नौ जनाको टोलीलाई आरोहणको गाइडको रुपमा उहाँको टोली केटु चुचुरोमा पुगेको थियो । आङफुर्वा शेर्पाको टोलिमा, सिद्धिबहादुर तामाङ, दोर्जे ग्याल्जेन शेर्पा, पासढावा शेर्पा, कामदोर्जी शेर्पा, मिङदोर्जे शेर्पा, दावा नुपु शेर्पा, लाक्पा ओङचु शेर्पा, मिङमार शेर्पा र कम्पनीका म्यानेजर भोला पौडेल सहभागी थिए । करिब दुई घण्टा चुचुरोमा बसेर फर्किएको उहाँको टोलीले बाटोमा तीन चार जनाको शवसमेत देखेको सुनाउनुभयो । सन् २००९ देखि म्याडिसन हिमालयन गाइड्स नेपाल कम्पनीसँग आबद्ध रहेर व्यावसायिक आरोहणमा सक्रिय शेर्पा नेपालको सुन्दरता हिमालमा लुकेको र यसको प्रचारप्रसारलाई विस्तार गर्न सके देशकोे अर्थतन्त्रमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

 

 

 

उहाँकै टोलीमा रहनुभएका सोलुखुम्बुका दोर्जे ग्लाल्जेन शेर्पा पनि व्यावसायिक आरोही हुनुहुन्छ । उमेरले ३८ वर्ष पुग्नुुभएका ग्याल्जेनसँग १९ पटकसम्म सगरमाथा आरोहण गरेको अनुभव छ । तर उहाँसँग पनि माउण्टेन गाइडको लाइसेन्स छैन । केटु हिमाल पहिलोपल्ट आरोहण गर्न सफल उहाँले हिमाल आरोहण चुनौतीपूणर् पेशा भएको बताउनुहुन्छ । “जीवनको भर हुँदैन, यो कठिन काम हो, तर पनि यहि चुनौतिसँग नै जीवन चलिरहेको छ ।” धेरै पल्ट सगरमाथा लगायताका अन्य हिमाल आरोहणको अनुभवले अहिले आत्मविश्वास बढ्दै गएको उहाँ सुनाउनुहुन्छ ।
उहाँको पनि एउटै माग छ सरकारले दर्जनौँ पटक एभरेष्ट चढेकालाई विना झण्झट हिमालय पथप्रदर्शकको लाइसेन्स देओस् । उक्त टोलीमा कान्छा मानिने २५ वर्षीय मिङ्गदोर्जे शेर्पाले २१ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर व्यावसायिक आरोही यात्रा शुरु गरेको बताउनुभयो । अहिले हिमालयन गाइड्स नेपालमा जोडिएर आरोहण पेशामा संलग्न उहाँ सरकारले छिटै नीति ल्याएर माउण्टेन गाइडको रुपमा समेट्न आग्रह गर्नुभयो ।

 

 

हिमालयन गाइड्स नेपाल नामक संस्थाले अहिले विदेशीहरुलाई हिमाल आरोहण गराउँदै आएको छ । कम्पनीका म्यानेजर भोला पौडेलले कम्पनीमा पर्यटन विभागबाट २०० बढी हाइ अल्टिच्यूट पोर्टरको मान्यता पाएका आरोही रहेको बताउनुभयो । सरकारबाट हिमालय पथप्रदर्शकको प्रमाणपत्र पाउन नसक्दा दर्जनाँै पटक माउण्ट एभरेष्ट चढेका व्यावसायिक आरोहीलाई अन्याय भएको उहाँको भनाइ छ । “एउटा निश्चित मापदण्ड पूरा गरेर निरन्तर हिमाल आरोहण गरिरहेकालाई सहज रुपमा हिमालय पथप्रदर्शकको प्रमाणपत्र दिनुपर्छ भन्ने हाम्रो माग हो ।”

 

 

पौडेलले कोरोनापछि आरोहण गर्ने विदेशीको सङ्ख्या १० प्रतिशतमा झरेको सुनाउनुभयो । “अहिले पनि हिमाल आरोहणका लागि थुप्रै विदेशीहरुको ‘इन्क्वायरी’ आउने गरेको छ तर नेपाल आउने क्वारेन्टिन बस्नुपर्ने लगायतका झझण्टले पर्यटकलाई निराश बनाएको छ ।” उहाँले डबल डोज खोप लगाएका र पीसीआर नेगेटिभ आएका पर्यटकलाई आरोहणका लागि सहज बनाउनुपर्ने बताउनुभो ।

 

 

उहाँका अनुसार आठहजार मिटर अग्ला हिमालको लागि अप्रिल र मे महिना अरु हिमालका लागि सेप्टेम्बर, अक्टुबर नोभेम्बर महिना उपयुक्त मानिन्छ । एक जना विदेशीका लागि कम्तीमा ३५ हजार डलर देखि ९० हजार डलरसम्म हिमाल आरोहणको लागि खर्च लाग्ने गरेको छ । नेपाल पर्वतारोहण सङ्घ ९एनएमए० का महासचिव कुलबहादुर गुरुङले आरोहीको कार्य अनुभवलाई तीन तहमा विभाजन गरी ब्लाक बुक, ब्लु बुक र रेड बुक जारी गर्दै आएको जानकारी दिनुभयो । “बेसक्याम्पमा बसेर क्लाइम्बिङ सपोर्टरको काम गरेको तीन वर्ष पछि ब्लु बुक दिने त्यसको पनि तीन वर्ष पूरा भएपछि रातो बुक जारी गर्दछौँ ।” उहाँले समयानुसार यस बुकमा पनि परिस्कृत र परिमार्जीत बनाएर जानुपर्ने भएकाले अहिले त्यसको काम भइरहेको जानकारी दिनुभयो ।

 

 

उहाँका अनुसार हिमालय पथप्रदर्शकको लागि एनएमएबाट उच्च पर्वतारोहण तालिम लिइसकेका जसले पहिलो, दोस्रो र तेस्रो चरण पार गरेका छन् उनीहरु नेशनल माउण्ट गाइड बन्ने प्रावधान छ भने अन्तर्राष्ट्रिय हिमालय पथप्रदर्शक सदस्यता लिन अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक महासङ्घले ९आइएफएमजिए० को एउटा निश्चित कोर्ष पूरापछि मान्यता पाउने प्रावधान रहेको छ । यसरी मान्यता प्राप्त माउण्टेन गाइडको अहिले जम्मा ७० जना मात्र छन् ।

 

 

गुरुङले नेपाल सरकारले एनएमबाट रातो किताब प्राप्त र उच्च पर्वतारोहण तालिम गरेकालाई दिने र त्यसमा ‘आस्पिरियन्ट लेभल’ नचाहिने निणर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “थुप्रै पटक हिमाल आरोहण गरेका रेड बुक पाएका र उच्च पर्वतारोहण तालिम लिएका आरोहीहरुलाई हिमालय पथप्रदर्शक प्र्रमाणपत्र दिन सरकार सहमत भए पनि पछि विवाद निस्किएकाले रोकियो ।” विसं २०७६ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले नेपालमा विख्यात विख्यात आरोही रहेका जनाउँदै उनीहरुको लागि नेपाल पर्वतारोहणको सङ्घको सिफारिसमा हिमालय पथप्रदर्शक प्रमाणपत्र दिने भनेर निणर्य गरेको थियो ।

 

 

सरकारले यस विषयमा एनएमएसँग राय माग्दा रातो बुक प्राप्त उच्च पर्वतारोहण तालिम लिएर निरन्तर आरोही पेशामा संलग्नलाई दिन मिल्ने सुझाव दिएको उहाँको भनाइ छ । “यस विषयमा आइएफएमजिएबाट हिमालय पथप्रदर्शकको प्रमामणपत्र लिएका आरोहीले असमति जनाएपछि यो विषय अदालतमासम्म पुगेको छ, जुन अहिले विचाराधिन अवस्थामा छ ।”

 

 

एनएमएले ४४ दिनको आधारभूत माउण्टनियरिङ तालिम मनाङ र र एड्भान्स कोर्ष लाङटाङमा दिँदै आएको छ । सङ्घका अनुसार आधारभूत तालिम लिएका ६७५ जना र एड्भान्स तालिम लिएका ७८५ जना रहेका छन् । विश्वमा १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल छन् त्यसमा आठ वटा नेपालमा पर्छन् ।

Comments Box