जापान र दक्षिण कोरिया; एसियाका दुई फुटबल पावर हाउस

दुई दशकअघि कोरियामै उपाधि जितेपछि ब्राजिलले विश्वकप जित्न सकेको छैन



एसियाका दुई फुटबल पावर हाउस राष्ट्र हुन् जापान र दक्षिण कोरिया । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टिम कोरिया नै हो ।

 

सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थियो ।  जापानले पनि त्यसबेला अन्तिम १६ मा पुगेर आफ्नो उत्कृष्ट नतिजा ल्याएको थियो । त्यसपछि जापान दुई पटक नकआउट चरण पुगे पनि अन्तिम १६ बाट माथि उठ्न सकेको छैन ।

 

यिनै दुई टिम कतारमा जारी विश्वकप २०२२ को अन्तिम १६ मा बलिया टिम विरुद्ध भिड्दा अर्को अप्रत्यासित नतिजाको खोजीमा छन् ।

 

अन्तिम १६ को खेलमा जापानले साविक उपविजेता क्रोएसिया तथा कोरियाले सर्वाधिक ५ पटकको विजेता ब्राजिलको सामाना गर्नेछ ।

 

राति पौने ९ बजे अल जानोब स्टेडियममा हुने क्रोएसिया विरुद्ध मैदान उत्रँदा जापान समूह चरणको प्रदर्शन दोहोर्‍याउँदै पहिलो पटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । जापानले समूह चरणमा पूर्व विजेताहरु जर्मनी र स्पेन विरुद्ध पुनरागमन गर्दै २-१ को जित निकालेको थियो ।

 

कोस्टारिकासँग पराजित भए पनि जापान समूह इ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । क्रोएसिया भने समूह एफमा अपराजित रहँदै उपविजेता बनेको थियो । क्यानडालाई पराजित गरेको क्रोएसियाले मोरक्को र बेल्जियमसँग बराबरी खेलेको थियो ।

 

ब्राजिल भर्सेस दक्षिण कोरिया

समूह चरणमा ब्राजिल सुरुवाती दुई खेल जित्दै सहजै अन्तिम १६ मा पुगेको थियो । समूहको अन्तिम खेलमा नयाँ खेलाडीलाई अवसर दिँदा क्यामरुनसँग १-० को हार बेहोरे पनि ब्राजिल समूह विजेता बन्यो ।

 

अर्कोतर्फ कोरियाको कथा भने फरक रह्यो । पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको कोरिया दोस्रो खेलमा घानासँग पराजित भएपछि नकआउट यात्रा कठिन बनेको थियो । तर कोरियाले अन्तिम खेलमा पोर्चुगलमाथि शानदार जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो । अर्को खेलमा उरुग्वेले घानालाई पराजित गरेपछि कोरिया र उरुग्वेको समान अंक र समान गोलअन्तर भए पनि धेरै गोल गरेको आधारमा कोरिया भाग्यमानी बनेको थियो ।

 

चार वर्षअघि साविक विजेता जर्मनीलाई पराजित गरे पनि कोरियाले समूह चरण पार गर्न सकेको थिएन । यस पटक कोरियाले अन्तिम १६ मै उपाधि दाबेदारमध्ये एक ब्राजिलसँग खेल्नुपर्ने भयो । तर कोरिया त्यसका लागि तयार छ । दुई दशकअघि कोरियामै उपाधि जितेपछि ब्राजिलले विश्वकप जित्न सकेको छैन ।

 

यसपटक कतारमा उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले पहिला कोरियालाई पन्छाउनुपर्ने हुन्छ । विश्वकपमा ब्राजिल र कोरिया पहिलो पटक भिड्न लागेका हुन् । यसअघि ७ पटक मैत्रीपूर्ण खेलमा भेट हुँदा ब्राजिलले ६ खेल जितेको छ भने कोरियाले एक खेल जितेको थियो ।

 

ब्राजिलका कप्तान थियागो शिल्भाले कोरियालाई कमजोर आँक्न नहुने बताएका छन् । कठिन समूहबाट अन्तिम १६ मा आएको भन्दै कोरिया टिमप्रति सम्मान रहेको शिल्भाले बताए ।

 

ब्राजिल र कोरियाबीचको खेल मध्यराति पौने १ बजे स्टेडियम ९७४ मा हुनेछ । यदी जापान र कोरिया दुवै विजयी भए यी दुई टिमको भेट क्वाटरफाइनलमै हुनेछ । यसको अर्थ विश्वकपको सेमिफाइनलमा २० वर्षपछि अर्को एसियन राष्ट्र हुनेछ । त्यसका लागि कोरिया र जापान दुवैले आफ्नो खेल जित्न पर्ने छ ।

 

अन्तिम १६ का खेल 
नेदरल्याण्ड्स भर्सेस अमेरिका
अर्जेन्टिना भर्सेस अस्ट्रेलिया
फ्रान्स भर्सेस पोल्याण्ड
इंग्ल्याण्ड भर्सेस सेनेगल
जापान भर्सेस क्रोएसिया
ब्राजिल भर्सेस दक्षिण कोरिया
मोरक्को भर्सेस स्पेन
पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड

Comments Box