पानीको चुहावट रोक्न महिनापिच्छे ३० लाख खर्च हुने



२ वैशाख,बिहिवार : मेलम्ची खानेपानी आयोजनाको चुहावट आगामी पुस–माघ महिनासम्म जारी रहने आँकडा पेश भएको छ।
इञ्जिनियरहरूका अनुसार मेलम्चीको चुहावट काठमाडौंमा हरेक महिना तीन सय ठाउँमा हुने प्रक्ष्येपण गरिएको छ।
यही प्रक्ष्येपणको आधारमा अब के गर्ने भन्नेबारे मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, खानेपानी मन्त्री मणि थापा, दुबै मन्त्रालयका सचिव, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना निर्देशनालयका अधिकारीहरू छलफल गर्न बसेका थिए।
पुरानो पाइपलाइनबाट वितरण भइरहेको मेलम्चीको पानीमा चुहावट तीव्र रूपमा बढेको र पानीको चाप बढाउने तयारी हुँदा चुहावट भयावह हुने देखिएपछि मन्त्री, सचिव र सम्बद्ध अधिकारीहरू छलफलमा जुटेका थिए।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार छलफलमा केयुकेएलका पदाधिकारीले मासिक तीन सय ठाउँमा चुहावट हुने अनुमानित तथ्यांक पेश गरेका थिए।
यसरी चुहावट हुँदा सडक खनेर मर्मत गर्नुपर्ने हुन्छ। खन्नुअघि बनाउने सुनिश्चितता सडक विभागले खोज्छ।
खनेर त्यतिकै छोड्न नमिल्ने भएकाले पहिलेजस्तै पार्ने ग्यारेन्टी गरेपछि मात्र विभागले सडक खन्ने अनुमति दिन्छ।
हाल चुहावट भएका ठाउँलाई समयमै मर्मत गर्न नसकिरहेको पनि सडक विभागको अनुमति चाँडै नपाएर हो। केयुकेएलसँग अहिले बजेट नभएको कारण सडक विभागलाई नै गुहारिरहेको छ।
सडक विभागले भौतिक पूर्वाधार मन्त्रालयलाई जानकारी गराएपछि बजेटको व्यवस्था कसरी गर्नेबारे छलफल भएको महानिर्देशक थापाले बताए।
त्यसरी तीन सय ठाउँमा खनेर फेरि सडक बनाउँदा मासिक ३० लाख रुपैयाँसम्म खर्च हुने विभागको अनुमान छ।
यो बजेटको सुनिश्चितता कसले गर्ने भन्नेबारे अन्योल छ। छलफलमा दुबै मन्त्रीले अर्थ मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषदबाट निर्णय गराउने बचन दिएका छन्।
‘अर्थ मन्त्रालयको स्वीकृति लिएर मन्त्रिपरिषदबाट निर्णय गराउने भनी दुबै मन्त्रीले सकारात्मक रूपमा कुरा अघि बढाउने भन्नुभएको छ,’ आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख कमल श्रेष्ठले भने।
चैत १५ देखि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न थालिएको थियो।
अहिले पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको छ। पुरानो पाइपलाइनमा ३ सय ३३ ठाउँ चुहावटको समस्या देखिइसकेको छ। तीमध्ये २०० ठाउँ मर्मत गरिसकिएको छ।
चुहावटको समस्या बढेसँगै केयुकेएलले आकस्मिक रूपमा मर्मत गर्न ¥यापिड रेस्पोन्स टिम परिचालन गरेको जनाएको छ।
अहिले दैनिक साढे आठ करोड लिटर पानी वितरण भइरहेको छ। यो चक्रपथभित्र मात्रै छ।
सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत् साढे आठ करोड लिटर पानी ल्याइएको छ।
अर्को प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउने छ। यो चाँडै ल्याइने भनिएको छ।
अहिलेको भन्दा दुई गुणा बढी पानी आउँदा चुहावटको समस्या झन् बढ्छ। किनभने, अहिले अधिकांश ठाउँमा पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको छ।
यो पाइपलाइन झन्डै पचास वर्षसम्म पुरानो छ। त्यो पाइपलाइन काठमाडौं उपत्यका आसपासका विभिन्न स्रोतबाट राजधानीमा खानेपानी ल्याउँदा विस्तार गरिएका हो।
फलामका पाइपमा खिया लागिसकेका छन्। नियमित पानी आपूर्ति नहुँदा पाइप जीर्ण छन्। तिनै जीर्ण पाइप मर्मत गरेर मेलम्चीको पानी वितरण थालिएको थियो।
जनघनत्व थपिँदै जाँदा काठमाडौंमा पानीको हाहाकार नै भयो। वैकल्पिक रुपमा खानेपानीको व्यवस्था उपभोक्ता आफैंले गर्न थाले।
‘अब १७ करोड लिटर पानी ल्याउँदा चुहावट झन् बढ्न सक्छ,’ आयोजना कार्यान्वयन निर्देशक श्रेष्ठले भने।
मेलम्चीको पानी ल्याउने बहुचर्चित योजना हरेक सरकार गठनताका प्रमुखताका साथ उठ्ने गरेको छ।
दुई तिहाइको सरकार बनेपछि प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी ल्याएरै छोड्ने बताएका थिए।
तर, कहिले ठेकेदार भाग्ने र कहिले सुरूङमा समस्या आउने गरेकाले मेलम्चीको पानी ल्याउने बचन लम्बिँदै गयो।
जसरी पनि ल्याएरै छोड्ने सरकारको योजनाअनुसार पुरानै पाइपलाइनबाटै पानी वितरण थालिएको हो।
‘नयाँ पाइपलाइन पूरा हुने ७–८ महिना लाग्न सक्छ, त्योभन्दा अगाडि पनि हुनसक्छ,’ आयोजना निर्देशक श्रेष्ठले भने, ‘अहिले १६ सय घरधुरीलाई नयाँ पाइपलाइनबाटै वितरण गरिरहेका छौं।’
मेलम्ची खानेपानीको सञ्जालमा चुहावट व्यापक हुने भएकाले प्रदूषण बढाउने निश्चितै रहेको सडक विभागका महानिर्देशक थापा बताउँछन्।

 

Comments Box