सरकारले भुक्तानी नदिएपछि रोकियो मेलम्ची मर्मतको काम; काम भन्दा कमिसन प्राथमिकता ?



 

चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने मन्त्रीको रटान

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताए ।

 

सरकारले भुक्तानी नदिएपछि रोकियो मेलम्ची मर्मतको काम

सरकारले भुक्तानी नदिएपछि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्यमा जुटेका कामदारलाई मुहान क्षेत्र अम्बाथानबाट फर्काउन लागिएको बताएको छ ।

 

 

आयोजनाको मर्मतकार्य ७५ प्रतिशत सम्पन्न भैसक्दा समेत सरकारले भुक्तानी नदिएको भन्दै सिनो हाइड्रोले शुक्रबारदेखि नै काम बन्द गरेको छ । खानेपानी मन्त्री उमाकान्त चौधरी र सचिव सुरेश आचार्यसँग शुक्रबार भएको टेलिफान सम्पर्कमा कम्पनीले रकम भुक्तानी नभएसम्म काममा नर्फकने अडान राखेका छन् । दुई महिनादेखि भुक्तानीका लागि आग्रह गर्दासमेत बेवास्था गरेपछि काम रोक्न बाध्य भएको कम्पनीको तर्क छ । एक हप्ताअघिको बिहीबारसम्म ५० प्रतिशत रकम भुक्तानी नदिए काम बन्द गर्ने अग्रिम जानकारीसमेत आफूहरूले दिइसकेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले सरासर काम गरे मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ । कम्पनीले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ७५ प्रतिशत काम सकिएको जनाएको छ । अस्थायी रूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी विकास समितिले जानकारी गराएको छ । गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रूपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी गरिएको हो । सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै समितिले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताएको छ ।

 

केहिदिन अघी मात्र प्रमुख प्रतिपक्षी दलका नेता केपि शर्मा ओलिले काम सकिएका आयोजनाले पनि भुक्तानी नपाएको र मन्त्रीहरु कमिसनको चक्करमा परेको बताएका थिए । मेलम्चीको पहिलेको ठेकदार ईटालियन कम्पनीले पनि निरन्तर कर्मचारी परिवर्तन हुने र हरेक नयाँ लाई हरेक चोटी को भुक्तानीमा कमिसन दिनु पर्ने भएकाले काम गर्न नसकिएको अनौपचारिक छलफलमा जनाएका थिए ।


मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु

४ आश्विन २०७८ (रासस) : असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ ।

 

बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ ।

 

मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्याक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ । चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो ।

 

पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ । त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालू नहुने देखिएको छ । केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ । यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन् । त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ । न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ । चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ । केही समय पहिलेसम्म आवतजावत नै अवरुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ ।

 

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन । आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताउनुभयो ।

 

उहाँका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ । पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हाराहारीमा खुलाइरहेको छौ ।”

 

पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । त्यतिबेला झण्डै रु एक अर्बको क्षति भएको अनुमान गरिएको थियो । साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै रु दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ । प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पहुँच सडक बनेर त्यहाँसम्म पुगेपछि नै केके क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उहाँले बताउनुभयो ।

 

आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन । आयोजनामा बैंकको सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पहिले कति खर्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ । उहाँले भन्नुभयो, “त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ ।”

 

आयोजनामा मात्रै नभएर त्यहाँका अरु पूर्वाधारमा क्षति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ । फरकफरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रवक्ता न्यौपानेले बताउनुभयो । सडक, पुल, खानेपानी सबै आयोजना एक्लैले गर्न नसक्ने भएकाले सबैको संयोजनमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले मन्त्रालयले ती निकायसँग कसले के गर्ने भनी छलफल गरिरहेको छ । उहाँले भन्नुभयो, “एउटै मन्त्रालय र निकायसँग विशेषज्ञता पनि नहुने र समय बढी लाग्ने भएकाले सबै मिलेर छिटो गर्ने योजना छ ।”

 

मेलम्ची आयोजनामा भएको क्षतिको विस्तृत अध्ययनका लागि बैंकको सहयोगमा भौगर्भिक अध्ययन सुरु भएको छ । यो ठाउँमा पहिरो यो वर्ष मात्रै आएको हो कि अरु वर्षमा पनि खतरा छ भनेर अध्ययन गर्न लागिएको हो । यहाँको भूगोल, वातावरणीय अवस्थाका बारेमा अध्ययन गराउन बैंकलाई मन्त्रालयले अनुरोध गरेको थियो । उहाँले भन्नुभयो, “एडिबीले विशेषज्ञसहित टोली राखेर अध्ययन गरिरहेको छ ।”

 

गत वर्ष उपत्यकावासीले केही महिनासम्म मेलम्चीको पानी उपभोग गर्न पाएका थिए । यो वर्षभित्रमा पुनःपानी ल्याउने सरकारको योजना छ । सडक, पुललगायतका पूर्वाधार निर्माणमा समय लाग्ने भए पनि जतिसक्दो चाँडो पानी ल्याउन लागिने प्रवक्ता न्यौपानेले बताउनुभयो । पानी ल्याउने र अरु काम सम्पन्न गर्ने फरक समय लाग्ने देखिएको छ । तत्काल पहुँच सडक बनाउन सकिएमा आयोजनाका संरचनामा रहेका अवरोध हटाएर पुनःपानी ल्याउन सकिन्छ । अहिले हेर्दा सडक र पुल सम्पन्न गरिसक्न लामो समय लाग्न सक्ने देखिएको छ । उहाँले भन्नुभयो, “पानी जतिसक्दो चाँडो ल्याइनेछ भने मर्मतको काम पनि चालू गरिनेछ ।”

 

उपत्यकावासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । यहाँको जनसङ्ख्या बढिरहँदा भएको स्रोत घट्दै गएकाले वर्षेनी खानेपानीको समस्या अझै विकराल बनिरहेको थियो । सरकारले दुई दशक पहिले मेलम्ची खोलाको पानी उपत्यकामा ल्याउने योजना बनाएको थियो । योजना निर्माण सुरु भएको लामो समय पछि बल्ल सम्पन्न भयो । झण्डै तीन महिना घरघरमा पानी आएकामा आयोजनाको परीक्षणकै क्रममा पहिरोले पुनःसंरचनामा क्षति पु¥याएको छ । काठमाडौँवासीले कहिलेसम्म पानी पाइन्छ भनेर चासो राखिरहँदा यहाँको क्षतिको मर्मत पनि सजिलो देखिएको छैन ।

 

उपत्यकामा रहेको खानेपानीको समस्या समाधानकै लागि मेलम्चीको पानीको विकल्पमा पनि छलफल भइरहेको छ । काठमाडौँ उपत्यका र उपत्यका आसापासका क्षेत्रमा रहेका मुहानको खोजी गरेर त्यसको अध्ययन गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । आयोजनास्थलमा मर्मत गरिसक्न कम्तीमा पनि चैत महिनासम्म लाग्ने देखिएको छ । कताको पानी ल्याएर उपत्यकावासीलाई सजिलो बनाउने भनी विकल्पमाथि छलफल भइरहेको छ । मेलम्चीको विकल्पका विषयमा विगतमा पनि छलफल भइरहेकामा अहिले अध्ययनमा नै जाने योजना बनाइएको उहाँले बताउनुभयो ।

Comments Box