नेपाल बैङ्क र वाणिज्य बैंकले घोषणा गरे लाभांश

वितरणयोग्य नाफाको ३० प्रतिशत मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था हटाएको



 दुई सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्क लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैङ्कको सञ्चालक समिति बैठक गत बुधबार बसेको थियो । ती बैङ्कहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारण सभामा लैजाने जनाएका छन् ।

 

वाणिज्य बैङ्कको सञ्चालक समिति बैठकले बैङ्कको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक साधारणसभा गर्ने बिहीबार जारी सूचनामा उल्लेख छ ।

 

वाणिज्य बैंकले गत असार मसान्तसम्मको नाफा–नोक्सान, सोही अवधिको नगद प्रवाह तथा शेयर धनी कोष परिवर्तनको विवरण लगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव साधारण सभामा लैजाँदै छ । बैंकले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशत नगद र पाँच प्रतिशत बोनस शेयर लाभांश दिँदै छ । यो प्रस्ताव पनि अनुमोदनका लागि साधारण सभामा लगिनेछ ।

 

गत असार मसान्तसम्ममा वाणिज्य बैङ्कको चुक्ता पुँजी रु १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार ९९ बराबर रहेको छ । उक्त चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने रु एक अर्ब चार करोड ५५ लाख २६ हजार नौ सय बराबर नगद लाभांश वितरण गर्ने स्वीकृति दिने प्रस्ताव साधारण सभामा लगिँदै छ । त्यस्तै, बैंकका सेयर धनीलाई चुक्ता पुँजीको पाँच प्रतिशतले हुने आउने रु ६९ करोड ७० लाख १७ हजार नौ सय ५४ बराबर बोनस सेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पनि साधारण सभामा लगिने बैंकले जनाएको छ ।

 

वाणिज्य बैङ्कमा सरकारले सेयर पुँजीका रुपमा लगानी गरेको रु एक अर्ब बैङ्कको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने जनाइएको छ । बैंकले पुस १८ गते बुक क्लोज (शेयर धनी दर्ता पुस्तिका बन्द) गरिसक्नेछ ।

 

त्यस्तै, नेपाल बैंकले पुस २९ गते साधारणसभा गर्दैछ । बैङ्कको प्रधान कार्यालय धर्मपथमा आयोजना हुने साधारण सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पेश गरिनेछ । त्यस्तै, बैङ्कको गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिमा लगिँदै छ ।


बैंकहरू नगद लाभांशका केन्द्रित

नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा गर्दै आएको कडाईलाई खुकुलो बनाएसँगै बैंकहरूले नगद वितरणमा केन्द्रित भएका छन्। विगतमा लाभांश बापत बोनस सेयरमा केन्द्रित हुने वाणिज्य बैंकहरूले गतवर्षको नाफाबाट भने अधिकांशले नगदनै घोषणा गरेका छन्।

 

घट्दो बजार भएकाले बोनस सेयर भन्दा पनि नगद लाभांश पनि फाइदाजनक हुने सेयर बिश्लेषकहरू बताउँछन्। वाणिज्य बैंकहरूमा चुक्ता पुँजीको दबाब नरहेपछि नगद लाभांशनै दिन लागेका हुन्। बैंकसँगै बिमा, हाइड्रोपावर, म्युचुअल फन्डहरू पनि नगदमा केन्द्रित भएका छन्। विगतका वर्षहरूको तुलनामा बैंकहरूको लाभांशदर समग्रमा घटेको छ। त्यसैले पनि यसपटक मर्जरमा जाने बैंकहरूले नगदमै केन्द्रित गरेका छन्।

 

हालसम्म करिब ३ दर्जन कम्पनीहरूले गतवर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। जसमध्ये १ पूर्बाधार र ६ वटा वाणिज्य बैंक पनि रहेका छन्। लाभांश घोषणा गर्ने ६ वटा बैंकमध्ये ४ वटा मर्जर प्रकृयामा सहभागी भएका छन्।

 

बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य नाफाको ३० प्रतिशत मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था हटाएको थियो। हालसम्म लाभांश घोषण भएका कम्पनीले धमाधम नगद गरिरहदाँ अन्य घोषण गर्न बाँकी भएका कम्पनीले समेत नगदनै बढी राखेर घोषणा गर्ने तयारी गरेका छन्।

 

अहिलेसम्म कुनको कति?

गत वर्ष पनि अधिकांशले बोनस सेयर नै दिएकाले यसपटक नगदमा जोड दिएका छन्। कुमारी र एनसीसी बैंकले पनि नगदलाई नै प्राथमिकतामा राखेका छन्। त्यस्तै, ग्लोबल आइएमई बैंकसँग मर्ज सम्झौता गरेको बैंक अफ काठमाण्डुले पनि बोनस  नगद लाभांश नै धेरै दिएको।

 

यसले कुुल २०.९५ प्रतिशत लाभांशमध्ये जम्मा ६ प्रतिशत मात्र बोनस सेयर दिने भएको हो। ग्लोबल आइएमइ बैंकले १३.६ प्रतिशत लाभांश मध्ये (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) घोषणा गरेको छ। पछिल्लो ३ वर्ष बैंकहरूले नगद लाभांश दिन नपाएका कारणले पनि नगदमा केन्द्रित भएका छन्।

 

हालसम्म बैंक अफ काठमाण्डु, कुमारी, सिटिजन्स, एनसीसी, सानिमा बैंक र ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेका छन्। जसमा कुमारी बैंकले १२ प्रतिशत र सिटिजन्सले ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् भने बैंक अफ काठमाण्डूले ६ बोनस र १४.९ प्रतिशत नगद र एनसीसीले ३.३३ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

 

ग्लोबल आइएमइ बैंकले १३.६ प्रतिशत लाभांश मध्ये (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) घोषणा गरेको छ। यस्तै, निफ्राले पनि सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

Comments Box