काठमान्डौं-पोखरा २ घन्टामा नै पुग्ने गरी बनाउने भनेको सडक निर्माण निकै सुस्त

ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता रहने



तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन ।

 

सडक विस्तार गर्ने क्रममा ठाउँठाउँमा भित्ता काट्ने काम हुँदा सडक धुलाम्य छ । निकट वस्तीका वासिन्दाहरु सडक विस्तारको काम कहिले सकिएला र धुलोबाट मुक्ति पाइएला भन्ने आशामा बसेका छन् ।

 

८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर निर्माण थालिएको झण्डै डेढ वर्ष वितेको छ । तर, प्रगति भने जम्मा १० प्रतिशतको हाराहारीमा छ । दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनीले पाएका छन् । तुलनात्मक रूपमा सजिलो भूगोल भए पनि ठेकेदार कम्पनीले कामको स्पीड बढाउन सकिरहेको पाइँदैन । अहिलेको सिजन कामका लागि मुख्य समय मानिन्छ । यो समयमा कामलाई गति दिन नसके केही महिना पछि नै बर्खा लाग्ने र झनै काम गर्न नसकिने अवस्था आउने आयोजनाका अधिकारीहरु बताउँछन् ।

 

सडकको भित्ता काट्ने, रिटेनिङ्ग वाल लगाउने, नाली बनाउने काम जारी छ । रुख काट्ने काम लगभग सकिएको छ भने, विद्युतका पोल सार्ने काम अझै पनि बाँकी छ ।

 

अहिलेको सडकलाई विस्तार गरी शहरी क्षेत्रमा सर्भिसलेनसहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिनेछ । त्यसको बीच भागमा ३ मिटरको मेडियन बन्ने छ । ६ लेनमा तीनवटा मेडियन हुने डिजाइनमा उल्लेख छ । विमलनगर, डुम्रे, दमौली, खैरहनीटार लगायतका बजार क्षेत्रमा सडक ६ लेनको हुनेछ । विस्तार भएपछि मेडियनका दुईतर्फ ७-७ मिटरको सडक हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । सहरी क्षेत्रका मेडियनमा ग्रिनरी बेल्ट तयार गरेर रुख बिरुवा र फूल रोपिने छन् । चार लेनको सडकको दायाँबायाँ नै साढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ ।

 

 

ठेक्का सम्झौता भएको झण्डै डेढ वर्ष भइसक्दा सडक विस्तारको प्रगति निकै न्यून छ ।

 

आँबुखैरहनी-पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँको दमौली नजिक रहेको मादी नदी र पोखराको सेती नदीमाथि पुल बनाउन सडक विभागले अलग-अलग ठेक्का लगाएको छ । पोखराको सेती नदीमाथि आकर्षक सिग्नेचर बि्रज बनाउने विभागले लगाएको ठेक्का रसुवा कन्स्ट्रक्सन प्रा.लिले पाएको छ । १ अर्व ७ करोडमा ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले पुलको नक्सा डिजाइन गरिरहेको छ ।

 

डिजाइन एण्ड विल्डको आधारमा बनाइने पुल अहिलेको सेती नदीभन्दा माथि दुई लेनको र तल दुई लेनको बन्ने छ । समग्रमा सेती नदी माथि ६ लेनका पुल हुनेछन् ।

 

यस्तै, मादी नदीमाथि पुल बनाउन जेआइइसी र अनक जेभीसँग गत कार्तिकमा ठेक्का सम्झौता भैसकेको छ । अहिले रहेको पुलभन्दा माथिल्लो भागमा पुल बनाउन १ अर्ब २० करोडमा ठेक्का भई डिजाइनको काम भैरहेको छ ।

Comments Box