चालु आर्थिक वर्ष २०७९/८०को ६ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।
तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म रू नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमारू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको हो ।
साथै गत आवको पुससम्म एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो । तथ्याङक अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ ।
सात खर्बकोे व्यापारघाटा
चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा सात खर्बभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापारघाटा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ ।
गत आवमा आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ ।
तथ्याङ्क अनुसार छ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ ।
आयात प्रतिबन्धकोे असर राजस्वमा
सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार बराबर राजस्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्षको छ महिनामा रू दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा चालु आवमा सोही अवधिमा एक खर्ब ८२ अर्ब ८४ करोड बराबर राजस्व सङ््कलन भएको हो ।
सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ । विभागका अनुसार छ महिनामा नेपालले विभिन्न देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो । तर, मङ्सिरमा रू एक खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा एक खर्ब २७ अर्ब बराबरको मात्रै आयात थपिएको हो ।
एक सय ४८ देशबाट आयात
विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न एक सय ४८ देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । छ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै रु चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात भएको छ ।
कुल रू चार खर्ब बढीको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार बराबरको मात्रै निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।
६ महिनाको अवधिमा चीनबाट रू एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाख बराबरको आयात भएको छ भने ३४ करोड ११ लाख मात्र निर्यात भएको छ । चीनसँग मात्र रु एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख बराबरको व्यापारघाटा भएको छ ।
१२ देशबाट नेपालले सियो आयात गर्छ
काठमाडौं, २२ असार : कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुनेगरेको छ ।
धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ ।
हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनेदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ ।
भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा विश्का १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो ।
२६ माघ २०७८, बुधबार
देउवा सरकारको ६ महिना; मुलुकको व्यापार घाटा – ८ खर्ब ८० अर्ब
चालु आर्थिक वर्षको छ महिनामा कूल व्यापार घाटा रु आठ खर्ब ८० अर्ब ४९ करोड कायम भएको छ । आयातमा उल्लेख्य वृद्धि भएका कारण व्यापार घाटामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको छ महिनाको विवरणअनुसार कूल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु एक खर्ब १० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ८३ अर्ब एक करोड बराबरको भएको थियो । चालू आवको छ महिनामा कूल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई रु एक खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, जस्तापाता, तारलगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै कूल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ९९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशकलगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा चालु खाता रु तीन खर्ब ५४ अर्ब सात करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर २० प्रतिशतले कमी आई रु पाँच अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु छ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु सात अर्ब ६६ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । कूल विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेकामा १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा रु ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा रु ११ अर्ब ७५ करोड रहेकामा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई रु नौ अर्ब ८९ करोड कायम भएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकामा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई रु १० खर्ब १५ अर्ब ५९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु एक खर्ब ५४ अर्ब ३९ करोड रहेकामा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई रु एक खर्ब ५० अर्ब २१ करोड कायम भएको छ ।
गत पुस मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ । आव २०७८÷७९ को छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।