५७ नेपाली र १५ विदेशी नागरिक सवार विमान सेती खोँचमा दुर्घटनाग्रस्त

भोलि देशभर शोक बिदा



काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।

 

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।

 

६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १-१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

 

कल सेन्टर स्थापना

दुर्घटनापछि मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । दुर्घटनाबारे मृतक र घाइतेका परिवारलाई आधिकारिक सूचना दिन कल सेन्टर स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पार्थिव शरीर बुझ्न र लैजान सहजीकरण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

 

नेपालमा हालसम्म १०४ वटा हवाई दुर्घटना

नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

 

नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।

 

यतिको नाममा ४ वटा एटीआर बाँकी

गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । सुगम उडानमा यतिको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ४ वटा एटीआर बाँकी छन् ।

 

Comments Box