जुम्लामा ‘नेकोनएयर’ दुर्घटनाका २४ वर्ष : न विमानस्थल स्तरबृद्धि,न नियमित उडान



२४ वर्ष पहिले आजकै दिन २०५५ सालमा जुम्ला विमानस्थलमा (नेकोन एअरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै एक्कासी दुर्घटना भयो । जुम्लाबाट नेपालगन्जका लागि उडेको जहाज धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित पाँच जनाको मृत्यु भयो । दुर्घटनामा ७ जना घाइतेसमेत भए । क्याप्टेन सुरेन्द्र बहादुर चन्द्र,सह चालक हरि बहादुर मल्ल तथा निरविक्रम शाही,भृकुटी खाँण ठकुरी लगायत ५ जनाको उक्त दुर्घटनामा मृत्यु भयो ।

 

उक्त विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तरबृद्धिको बहस नभएको हैन तर दसकौँ बितेपनि विमानस्थले काँचुली फेरेन । जोखिमयुक्त विमानस्थल न त स्तरबृद्धि भयो । नत नियमित उडान नै भयो ।

 

२०५५ सालमा नेकोन एयरको दुर्घटनाग्रस्त जहाज

 

त्यस्तै, २०६३ साल असार ७ गते यति एरलाईन्सको टुईनेटर विमान दुर्घटना हुँदा चालक दलका तीन जनासहित ८ जनाको मृत्यु भयाे । सुर्खेतबाट जुम्ला उडेको उक्त विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको थियो । ०६३ यता १६ वर्ष बित्दा पनि विमानस्थल सुधार भएन ।

 

विमानस्थल स्तरबृद्धि गर्ने बहस चलिरहेकै बेला २०७५ जेठ २६ गते नेपालगन्जबाट जुम्लाको लागि उडेको तारा एयरको नाइएन एइभी विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भयो । उक्त विमानमा सवार १८ यात्रु सकुशल रहे पनि विमान भने पुरै ध्वस्त भयो । जहाजको प्राविधिक समस्यासँगै धावनमार्ग स्तरीय नहुनु विमान दुर्घटनाको मुख्य कारण रहेको जुम्लाका वरिष्ठ पत्रकार नवराज शाही बताउनुहुन्छ ।

 

हालसम्म भएका तीन वटा विमान दुर्घटनामा परी यहाँ १३ जनाको मृत्यु भएको छ । तर पनि राज्यले जुम्ला विमानस्थल स्तरबृद्धिमा भने खासै ध्यान दिएको देखिदैन । नेकोन विमान दुर्घटना भएको माघ ३ गते मंगलबार २४ वर्ष भयो । शाहीले भन्नुभयो,‘मैले २०५५ सालमा विमान दुर्घटनाको रिपोर्टिङ गरेकाे थिए । त्यसपछि विमानस्थल स्तरबृद्धि गर्ने,नियमित उडान गर्ने भनिएपनि विमान दुर्घटनाको साढे दुई दशक बित्दासमेत समस्या ज्युँका त्युँ छन् ।’

 

जुम्ला विमानस्थल स्तरबृद्धि गर्न स्थानीय नेतादेखि मन्त्रीसम्मले आश्वासन दिए पनि हालसम्म कुनै सुधार नभएको शाहीको गुनासो छ । २०५५ देखि हालसम्म तीन वटा विमान दुर्घटना भएर १३ जनाको मृत्यु समेत भई सक्दा सरकारले जुम्ला विमानस्थल स्तरबृद्धिको कुनै पहल थालेको छैन । विमानस्थल स्तरबृद्धि गर्ने डिपिआर निर्माण भएपनि हालसम्म कुनै काम अघि बढेको छैन ।

 

२०५५ सालमा जुम्लामा भएको नेकोन एयरको दुर्घटनामा परी स्वर्गीय क्याप्टेन सुरेन्द्र बहादुर चन्दकी श्रीमती पाइलट सन्जु खतिवडाको आइतबार पोखरामा भएको विमान दुर्घटना मृत्यु भएको छ ।

 

फोटो : जुम्ला विमानस्थल

 

सुविधायुक्त टर्मिनल भवन बन्ने

जुम्ला विमानस्थलमा नयाँ सुविधायुक्त टर्मिनल भवन बन्ने भएको छ । चालु आवमा नेपालका सात विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नति गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना अनुसार जुम्ला विमानस्थलमा पनि सुविधायुक्त टर्मिनल भवन निर्माण हुने विमानस्थल प्रमुख सन्तोष अधिकारी बताउनु हुन्छ । ,‘जग्गा अभावका कारण विमानस्थल स्तरबृद्धि सम्भव छैन । विमान स्थल स्तरबृद्धि आवश्यक छ । तर लगानी छैन ।’ उहाँले भन्नुभयो । उहाँले तत्काल २०५३ सालमा निर्माण भएको जीर्ण टर्मिनल भवन भने निर्माण हुने बताउनुभयो । टर्मिनल भवन निर्माणका लागि एक करोड बजेट विनियोजन भएको र प्राधिकरणले सर्वे समेत गरिसकेको उहाँले बताउनुभयो ।

 

दैनिक सयौँ यात्रुको चाप हुने जुम्ला विमानस्थलमा टर्मिनल भवन बन्नु सुखद पक्ष भएपनि हालसम्म विमानस्थल स्तरबृद्धि र नियमित उडान नहुनु दुखद पक्ष भएको पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो ।

 

जुम्लामा दिनमा मुस्किलले दुई, नत्र एक उडान मात्र हुने गरेको छ । तारा,समिट,नेपाल एयरलाइन्स,सिता लगायतका विमानले उडान भरे पनि नियमित उडान नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।

 

यात्रुको चाप,भविष्यमा हुन सक्ने विमान दुर्घटना मध्यनजर गर्दै विमानस्थल स्तरबृद्धिको लागि पहल गर्नुपर्नेमा उहाँको जोड छ ।

 

वर्षौँदेखि विमानस्थल स्तरबृद्धिको कुरा चलेपनि सार्थकता पाउन नसक्नुमा मुख्य समस्या आर्थिक भएको बताइन्छ । विमानस्थल स्तरबृद्धिका लागि मोटो रकम चाहिने भएकोले बजेट जुटाउन समय लाग्ने गरेको धेरेको बुझाई छ । विमानस्थल प्रमुख अधिकारी तत्कालका लागि सर्वसाधारणलाई राहत दिन नियमित उडानमा जोड दिन जरुरी रहेको र विमानस्थल स्तरबृद्धि पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ ।

Comments Box