काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।
काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।
६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १-१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
कल सेन्टर स्थापना
दुर्घटनापछि मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । दुर्घटनाबारे मृतक र घाइतेका परिवारलाई आधिकारिक सूचना दिन कल सेन्टर स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पार्थिव शरीर बुझ्न र लैजान सहजीकरण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
नेपालमा हालसम्म १०४ वटा हवाई दुर्घटना
नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।
यतिको नाममा ४ वटा एटीआर बाँकी
गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । सुगम उडानमा यतिको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ४ वटा एटीआर बाँकी छन् ।