किसानलाई हैरान पारेको बँदेलको सिकार गराइने

वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको



वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो ।

 

आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । “वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्”, उनले भने, “विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास छ ।”

 

नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन । त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौँ खर्चन तयार हुन्छन् ।

 

आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि पुगेका छैनन् । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

 

“बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, उनले भने, “वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।” बँदेल सिकारको दररेट भने बोलपत्रमा हुने प्रतिस्पर्धापछि मात्र तय हुने आरक्ष कार्यालयले जनाएको छ ।

 

विभागले नाउर, झारलसँगै बँदेलको पनि एकसाथ विद्युतीय बोलपत्र माग्ने भएको छ । आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको सिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो । सोही आधारमा विभागले दुई याममा ११/११ बँदेलको सिकार कोटा तोक्ने तयारी गरेको हो ।

 

प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताए। नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्ने गर्छ ।

 

यस वर्षलाई बँदेलको बढी बसोबास रहेका सिकार ‘ब्लक’मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र सिकार गराइने भएको छ । आरक्षका सातवटै सिकार ‘ब्लक’मा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ‘ब्लक’मा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए।

 

“बँदेलको सिकार गराउन कम्पनीले माग गर्दै आएका थिए, विभागले प्रकृया अघि बढाएको सुनिएको छ”, उनले भने, “यसबाट आन्तरिक पर्यटक आकर्षित हुन्छन्, सिकारको रोमाञ्चक अनुभव लिने अवसर पनि मिल्छ ।” नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उनको भनाइ छ ।

 

“हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न विदेशी ढोरपाटन आउँछन्, बँदेल त मासुको प्रयोजनमा मात्र काम लाग्छ”, थापाले भने, “नेपालीहरु पनि ढोरपाटनमा सिकार खेल्न इच्छुक छन्, सिकारमा रमाउन चाहान्छन्, त्यो अवसर दिनुपर्छ ।”

 

रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । विभागले केही दिनमै चालु आवको पहिलो सिकार यामका लागि दरभाउपत्र मागको सूचना निकाल्दैछ । विभागले कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ ।

 

ढोरपाटनमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् ।

 

बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ ।

 

वर्षमा २० नाउर र ११ झारलको सिकार गरिन्छ । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् ।

 

चार वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु तेह्र लाख ५१ हजार र झारल सिकारको रु तेह्र लाख ५० हजारसम्म राजश्व बुझाउन कम्पनी तयार भएका थिए ।

 

आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन् ।

 

सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइँमा ढोरपाटन पर्ने गरेको छ । सिकारीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् ।

 

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।


२ चैत्र २०७७, सोमबार

बँदेलबाट हैरान किसान

डोटी जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्ने लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ। राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्।

 

  दैनिक गहुँ, मटर, मसुरो, तोरी तथा साग तरकारी बँदेलले नोक्सान गर्न थालेपछि उनीहरुबाट जोगाउनका लागि यहाँका किसान राति जाग्राम बस्न बाध्य भएको जोरायल गाउँपालिका–५ का पदमसिंह खडायतले बताउनुभयो। उहाँले भन्नुभयो, “हुलका हुल आउने बँदेलले गहुँलगायत अन्यबाली सखाप गर्न थालेको छ, बाली जोगाउन हामी रातभरि जाग्राम बस्न बाध्य छौँ।”

 

 खप्तड राष्ट्रिय निकुञ्ज तथा यहाँका महाभारतको लेक तेले क्षेत्रबाट आउने बँदेलको समूहले बालीनाली नोक्सान गर्न थालेको हो। जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा पूर्वीचौँकी गाउँपालिकाका विभिन्न वडामा अहिले जङ्गली बँदेलेको समूहले गहुँलगायतका अन्य बाली खाएर हैरान बनाएको किसान बताउँछन्।

 

 शिखर–१ का किसान रामसिंह ऐरका अनुसार कम्तीमा पनि सात/आठ वटाको समूह बनाएर आउने जङ्गली बँदेलेको समूहले एकैरातमा कम्तीमा पनि तीनदेखि चार रोपनी जमीनमा लगाएको बाली खाएर नोक्सान गर्ने तथा खेतनै खनेर जाने गरेका छन्।

 

 जङ्गली बँदेलको समूहले अहिले जिल्लाका विभिन्न स्थानमा लगाइएका बालीनालीमा नोक्सानी पुर्‍याउन थालेको खबर सबै निकायमा जानकारी हुँदासमेत नियन्त्रणका लागि कुनै क्षेत्रबाट पनि प्रयास नभएको किसानको गुनासो छ। उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जङ्गली बँदेलले किसानका खेतीबाली तथा तरकारी नोक्सान गरे सबै मूल्याङ्कनका आधारमा रु १० हजारसम्म रकम दिने नियम रहेको बताउनुभयो।

 

 उहाँले भन्नुभयो, “जङ्गली बँदेलले किसानको बालीनाली नोक्सान गरे कृषि कार्यालय, प्रहरी तथा सम्बन्धित स्थानीय तहको सिफारिसमा हामीले राष्ट्रिय निकुञ्जलाई क्षतिपूर्ति दिनका लागि सिफारिस गर्ने नियम छ, निकुञ्जले अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिन्छ।”

 

 यसैगरी वन तथा वातावरण मन्त्रालयले गएको वर्ष असारसम्म जङ्गली बँदेलले किसानको बालीनाली नोक्सानी गरे धपाउने, लखेट्ने तथा मार्नेसम्मको आदेश दिएको भए पनि यो वर्षदेखि उक्त नियम नवीकरण नभएकाले पनि खेतीबाली नोक्सान गर्ने बँदेललाई किसानले लखेट्न, मार्न तथा धपाउन नपाएका कारण पनि समस्या हुँदै आएको केआइसिंह गाउँपालिका–५ का अर्का किसान चेतराज भट्टले बताउनुभयो।

 

उहाँले भन्नुभयो, “किसानले वर्षभरि खानका लागि लगाएको खेती नोक्सान गर्ने बँदेल मार्न, धपाउन नपाइने, क्षति गरेको रकम पनि नदिने भएपछि किसानले के गरी खाने, किसानका मर्का कसले बुझ्ने ?” अन्न फलाउनका लागि पर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरीद गरेर परिवार पाल्नुपरेको किसानको गुनासो छ।

 

जङ्गली बँदेलले किसानको सयौँ बिघा जमीनमा लगाएको बालीनाली नोक्सान पुर्‍याउँदै आएको भए पनि अहिलेसम्म एक जनाले मात्रै क्षतिपूर्ति पाएको डिभिजन वन कार्यालयले जनाएको छ। निकुञ्ज कार्यालयले जङ्गली जनावरले पुर्‍याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यहाँका किसानको माग छ।

–––