डाँका र प्रहरीबीच गोली हानाहान , एक प्रहरीसहित दुईजना घाइते

उद्योगमम लुटपाट भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दा प्रहरी माथि नै रड प्रहार



उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भिडन्त हुँदा एक प्रहरीसहित दुईजना घाइते भएका छन् ।

 

बाराको जीतपुरसिमरा वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रालिमा शनिबार मध्यरातमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच झडपमा गोली हानाहान समेत भएको हो ।

 

भिडन्तमा डाँका समूहले गरेको रड प्रहारबाट इलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरीक्षक कमलबहादुर शाही घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलको आइसीयुमा उपचार भइरहेको छ ।

 

उद्योगमम लुटपाट भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दा प्रहरी माथि नै रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

 

प्रहरीमाथि डाँका समूहले रड प्रहार गर्नुका साथै एक राउण्ड गोली चलाएपछि प्रहरीले ३ राउण्ड गोली चलाएको बोगटीले जानकारी दिए ।

 

डकैतीमा संलग्न दुईजनालाई पक्राउ गरी उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल , एक थान भरुवा बन्दुक र तीन राउण्ड गोली बरामद गरिएको बोगटीले बताए ।

 

पक्राउ परेका दुईजना डाँकामध्ये एकजना घाइते रहेको र उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको बोगटीले जानकारी दिए ।

 

बोगटीका अनुसार , शनिबार राति ११ बजे तिर १२/१५ जनाको संख्यामा डाँकाहरु लुटपाट गर्न उद्योगमा पसेका थिए ।

 

त्यो खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय जितपुरबाट बरिष्ठ प्रहरी नायव निरीक्षक शाहीको नेतृत्वमा प्रहरीको टोली उद्योगमा पुगेको थियो । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँका समूहबीच भिडन्त भएको हो ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

Comments Box