आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने लगभग निश्चित भएको छ ।
दुई पार्टीबीच तालमेलका विषयमा सैद्धान्तिक सहमति भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
कांग्रेस नेतृत्वको सत्तारुढ गठवन्धन विस्तारित बलियो बन्दै गएपछि दवावमा परेको एमालेले राप्रपालाई साथ लिन खोजेको हो ।
केही दिनअघि दुई पार्टीका अध्यक्षबीच नै भेटवार्ता भएको थियो । अहिले पार्टीका दोस्रो तहका नेताहरु पनि आपसी संवादमा छन् ।
प्रवक्ता श्रेष्ठले एमाले र राप्रपाले मिलेर चुनाव लड्ने निश्चित भएको बताए । यद्यपि, तालमेलको मोडालिटी भने निश्चित भइनसकेको उनको भनाइ छ ।
‘हामी अहिले पनि छलफलमा नै छौं । तालमेलको मोडालिटीबारे विभिन्न प्रस्तावहरु अघि सारिएका छन् । मोडालिटीको टुंगो लागिनसके पनि तालमेल हुनेमा चाहिँ शंका छैन,’ उनले भने ।
एमाले नेताहरुले भने अहिलेसम्म राप्रपासँगको तालमेलका विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । आफ्नो पार्टी सत्तारुढ गठवन्धनसँग एक्लै लड्न तयार रहेको उनीहरुले बताउँदै आएका छन् ।
यद्यपि, सत्तारुढ गठवन्धनमा नरहेका साना पार्टीहरुसँग तालमेलको प्रयास भने जारी छ ।
यदि एमाले र राप्रपा तालमेल निश्चित भएर त्यसमा अन्य साना दलहरु पनि जोडिए भने ‘काउन्टर गठवन्धन’ निर्माण हुन सक्छ ।
राप्रपासँगै राप्रपा नेपाल, विवेकशील साझा पार्टी (मिश्र समूह), सिके राउत नेतृत्वको जनमत पार्टी लगायत दल एमालेसँग तालमेलका निम्ति इच्छुक छन् ।