शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको



नयाँ दिल्ली, २९ साउन: भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ ।

 

नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो । कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका  बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो ।

 

बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।

 

मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

 

‘पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिनेछ । मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरे ।

 

पीडितको पोस्टमार्टम गर्न अहमदाबादमा एउटा प्रहरी टिम पठाइएको छ ।


सन २०२० मा भारतको जबलपुर मेडिकल कलेजमा अध्ययनरत २८ वर्षीय डा. भागवत देवांगनले जातीय विभेदकै कारण आत्महत्या गरेका थिए ।

 

भारतको छत्तिसगढका ती जुनियर डा ।भागवतले आफ्ना सिनियरबाट चरम विभेदको सामना गर्दै आएका थिए ।

 

विभेदकै कारण उनले आत्महत्या गरेको भन्दै छत्तिसगढमा विशाल प्रदर्शन भएको बिबिसीले जनाएको थियो ।

 

तल्लो जातको भन्दै हेपाह व्यवहार र प्रताडित गर्ने गरेकाले उनले १० दिनअघि मेडिकल कलेजमै आत्महत्या गरेका थिए ।

 

आफन्तले सिनियर डाक्टरलाई कारबाहीको माग गरेका थिए । तर, कलेज व्यवस्थापनले भने आरोप अस्वीकार गरेको थियो ।

 

आफन्तले सिनियर ५ जना डाक्टरविरुद्ध कारबाहीका लागि उजुरी दिए पनि पुलिसले अनुसन्धानसमेत नगरेको आफन्तको भनाइ थियो । डा. भागवतले त्यहाँ पिजी गरिरहेका थिए ।

 

उनका दाजु प्रल्हाद देवांगनले भाइले आफूलाई उच्च जातका सिनियर डाक्टरहरुले कुटपिटसमेत गरेको बताएको जानकारी दिएका थिए ।

 

यो विषयमा पटक पटक कलेज प्रशासनलाई जानकारी गराइएको र त्यहीँ पीडाले आफूले भाइ गुमाउनु परेको प्रल्हादको भनाइ थियो ।

 

भारतमा यो घटनापछि जातीय विभेदका विषयमा नयाँ बहस सुरु भएको थियो ।

Comments Box