सुदूरपश्चिम प्रदेशमा गठबन्धन टुट्यो

जसपालाई सरकारमा सहभागी नगराएपछि उसले चैत २६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको घोषणा



 

१६ जेठ: केन्द्रमा सत्ता साझेदारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिममा भने प्रतिपक्षीको लाइनमा बसेको छ । सोमबारदेखि सुरुभएको प्रदेशको दशौं अधिवेशनमा जसपाकी प्रदेशसभा सदस्य मालामति राना प्रतिपक्षीको लाइनमा बसेकी हुन् ।
९औं प्रदेशसभासम्म सरकारकालाई समर्थन गरेको जसपा सरकारमा सहभागी नगराइएको भन्दै चैतदेखि रुष्ट बनेको हो ।

 

 

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराए पनि जसपालाई सरकारमा सहभागी नगराएपछि उसले चैत २६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो ।

 

 

चैत २५ गते अघि सम्म सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमात्रै सरकारमा सहभागी थियो भने नेपाली कांग्रेस र जसपाले सरकारलाई समर्थन मात्रै गरेको थियो । अव सुदूरपश्चिम प्रदेशसभामा तीन दल जसपा, लोसपा र नेकपा एमाले प्रतिपक्षी बनेका छन् ।


१५ चैत्र २०७८, मंगलवार

सुदूरपश्चिम सरकारमा नलगेकोभन्दै कांग्रेस आक्रोशित, गठबन्धन नगर्ने चेतावनी

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसले समर्थन गर्दै आएको छ । संघमा पाँच दलीय सत्ता गठबन्धन बनेपछि त्यसैको मर्म अनुसार सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले सरकारलाई समर्थन गर्दै आएको छ । तर, सरकार सञ्चालन भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मात्रै गर्दै आएका छन् ।

 

१४ प्रदेशसभा सदस्य भएको समाजवादी पार्टी र १३ प्रदेशसभा सदस्य भएको माओवादी पार्टीले सरकार सञ्चालन गरिरहँदा १२ सदस्य भएको नेपाली कांग्रेस भने सरकारमा अटाएको छैन ।

 

चैत १ गते धनगढी आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि सरकारमा लैजाने विषयमा सहमति भएको जनाएका थिए । तर, त्यो व्यवहारमा लागू भएन । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई लैजाने कुनै संकेत अहिलेसम्म देखिएको पनि छैन ।

 

यही कारण अहिले नेपाली कांग्रेस माओवादी र समाजवादीलाई गठबन्धन तोड्ने र चुनावमा तालमेल नगर्ने धम्की दिँदै आएको छ । नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलाएर पटक–पटक प्रदेशमा गठबन्धन नहुने बताउँदै आएका छन् । तर प्रदेश रकारमा भाग दिएमा गठबन्धन हुन सक्ने उनको संकेत छ ।

 

सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा पनि बलायरले अरूको पार्टी बनाई दिन कांग्रेस आफ्नो पार्टीमा आगो लगाउन नचाहने बताएका थिए । उनले सुदूरपश्चिम प्रदेश सरकारमा दुई दल (माओवादी र समाजवादी)ले मनमानी गरेको भन्दै त्यसलाई कांग्रेसले टुलुटुलु हेरेर बस्न नसक्ने प्रतिक्रिया दिएका थिए । ‘संघदेखि प्रदेश सम्म सरकार सञ्चालनमा तालमेल गर्ने अहिलेको नीति छ,’ बलायरले भने, ‘तर सुदूरपश्चिमको हकमा त्यसो भएको छैन, कांग्रेस प्रतिपक्षी जस्तो बनेको छ, अनि चुनावमा हामीले उनीहरूलाई किन सहयोग गर्ने ?’

 

उनले प्रदेश सरकारमा कांग्रेसको पनि सहभागिता हुनुपर्ने धारणा समेत राखेका छन् । केही दिन अघि न्युज कारखानाले सभापति बलायरलाई सुदूरपश्चिममा कांग्रेसले भाग मागेको हो ? भनेर सोधेको प्रश्नमा जवाफ दिँदै बलायरले भनेका थिए, ‘संघीय नेतृत्वको सहमति अनुसार कांग्रेसले दुई प्रदेशमा नेतृत्व पाइसकेको छ । सुदूरपश्चिममा हामीले नेतृत्व मागेका छैनौं, तर सरकारमा हाम्रो सहभागिता पनि हुनु जरुरी छ । दुई दललाई मनमानी गर्न दिएर कांग्रेस त्यसलाई हेरेर बस्न सक्दैन ।’

 

तर उनले सरकारमा भाग पाएमा भने आगामी निर्वाचनमा तालमेल गर्न सकिने संकेत गरेका छन् । ‘बदनाम गरिएको कुर्सीमा गएर कांग्रेसले त्यसको असज चाही लग्न सक्दैन,’ उनले भने, ‘तर संघीय नेतृत्वको भावना अनुसार हामी केही लचिलो हुन सक्छौं, सरकारमा तालमेल हुँदा निर्वाचनमा पनि आवश्यकता अनुसार तालमेल हुन सक्दछ ।’

 

प्रदेशका अन्य राजनीतिज्ञ भने माओवादी र समाजवादी पार्टीले कांग्रेसलाई सरकारमा लैजान नै नचाहेका टिप्पणी गर्छन् । ‘दुई दल मिल्दा सरकारलाई बहुमत छ,’ नेकपा एमाले प्रदेश संसदीय दलका नेता लिलाधर भट्टले भने, ‘सरकारमा कांग्रेसको आवश्यकता नै छैन, उनीहरू कांग्रेसलाई सरकारमा लैजान नै चाहँदैनन् ।’

 

कांग्रेस प्रदेश स्तरका नेताले जे कुरा गरे पनि केन्द्रमा हुने सहमतिलाई बाध्यभएर मान्नु पर्ने बाध्यताका कारण कांग्रेसले प्रदेश सरकारमा समर्थन दिएको उनले बताए । ‘चुनावको मुखमा धम्क्याएर केही भाग पाइन्छ कि भन्ने कांग्रेसको योजना हुन सक्दछ,’ उनले भने, ‘तर यहाँ कांग्रेसलाई केही पाइने वाला छैन । आगामी चुनावमा केन्द्रबाट तालमेल भएमा सुदूरपश्चिममा पनि कांग्रेसले त्यसलाई मानेर जाने छ ।’

 

कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी आरजु राण देउवाले भने आगामी निर्वाचनमा सुदूरपश्चिममा पनि चुनावी तालमेल हुने बताएकी थिइन् । केही दिन अघि धनगढी आएकी कांग्रेस नेतृ देउवाले स्थानीय, प्रदेश संघीय निर्वाचनमा गठबन्धन दलबीच तालमेल हुने स्पष्ट पारेकी थिइन् । तर, कांग्रेस प्रदेश सभापतिले भने त्यस पछि पनि लगातार चुनावी तालमेलको विपक्षमा आफ्नो धारणा राख्दै आएका छन् ।

Comments Box