सुदूरको देउडा लोपोन्मुख अवस्थामा

देउडामा अत्यधिक भाषिक क्षयीक



सुख, दुःख, रहनसहनदेखि पारिवारिक कुराकानी, बिहेबारीका कुराकानीसमेत देउडामै हुन्थे । खप्तडछान्ना गाउँपालिका–५ का देउडा गायक डबल पाध्याय भन्नुहुन्छ, “सैन्डाँडा र दशहराको देउडाले देउडियालाई मात्रै होइन, दुई जिल्लालाई नै प्रेममा बाँध्यो । रहनसहन, संस्कार र व्यवहारलाई समेत देउडामार्फत साटिन्थ्यो ।”

 

वर्षको एक पटक मात्रै भेट हुने मेलामा देउडिया दोस्रो वर्षको पर्खाइमा हुने गरेको उहाँ सम्झनुहुन्छ । “अघिल्लो पटक जवाफ दिन नपाएका दोस्रो वर्षको पर्खाइमा हुन्थे,” उहाँले भन्नुभयो, “हाम्रा त्यो बेलाका देउडिया साथीहरूसँग अहिले पनि सौहार्दपूर्ण तरिकाले कुराकानी हुन्छ तर, अहिलेको पिँढी भने त्यसप्रति चासो नै देखाउँदैनन् ।”

 

युवावस्थामा रात दिनसमेत देउडा खेल्ने गरेको पाध्याय सम्झिनुहुन्छ । “हामे (हामी) तन्नेरी हुने बेला त राम हुने ठाउँ (मेला)मा रातदिन देउडा खेल्थ्यौँ । खुट्टा दुखेर सुन्निसकेका हुन्थे तर, हाम्रो देउडा रोकिएको हुँदैनथ्यो ।” उहाँ भन्नुहुन्छ । रातभरि देउडा खेलेपछि बिहान छुट्टिने बेलामा आफूले हालेको देउडा सम्झिनुहुन्छ पाध्याय ।

 

लय पुरानै भए पनि देउडाका शब्द नै अनौठा लाग्छन् पाध्यायलाई । “हाम्रा सैन्डाँडा र दशहरामा गाइने देउडा गीत अहिले बुझिदैनन्,” पाध्याय भन्नुहुन्छ, “हाम्रा लोकसंस्कृतिका शब्द वीरलै कम पाइन्छन् । डोट्यालका शब्द पनि यतै छन्, डडेल्धुराकी पनि यतै, नेपाली, हिन्दी, अङ्ग्रेजीसमेत देउडामा मिसिएका छन् । यस्ता शब्द हामी देउडियालाई बुझ्न त कठिन छ, अरूलाई सजिलो हुने त कुरै भएन ।”

 

उहाँ नयाँ पिँढीलाई सिकाउन खोजे पनि चासो नदेखाएको बताउनुहुन्छ । “मेलामा गएको बेलामा नयाँ पिँढीलाई खेलमा हात समातेर लिन्छु तर, एक घण्टा पनि खेलमा टिक्न सक्दैनन् ।” नयाँ पुस्तामा मोबाइलले पुरानो कला संस्कृतिप्रति ध्यान जान नसकेको उहाँको गुनासो छ । मध्य तथा सुदूरपश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । पहिले वनपाखामा गुञ्जने ठाडी भाकाहरू पनि हराउँदै गएका छन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा गीत ओझेलमा परेको उच्च अदालत दिपायलका इजलास अधिकृत वसन्त पाध्याय बताउनुहुन्छ । “सहरीकरणले युवाहरू संस्कार भूलेका छन्,” उहाँ भन्नुहुन्छ, “परिवेश फेरियो, पुरानो पुस्ता फेरियो, प्रविधिको विकासले सोच फेरियो । देउडा पनि फेरिँदैछ ।”

 

नयाँ पुस्तालाई देउडाप्रति चासो नै नभएको उहाँले बताउनुभयो । “पहिलेका देउडाका भाष्यहरू सबै हराइसके । मौलिक देउडा विकाससँग जोडियो । राजनीतिसँग जोडियो । त्यसले गर्दा मातृभाषासमेत फेरिन थाल्यो ।” भाषा, संस्कार, स्रष्टा सबै फेरिएको हुँदा अहिले सुदूरको लोकदेउडा लोप हुँदै गएको उहाँ बताउनुहुन्छ ।

 

सुदूरको संस्कृतिलाई जोगाइ राख्न अब लेख्न, पढ्न सक्ने युवा शक्ति अघि आउनुपर्ने उहाँले बताउनुभयो । पश्चिमेली संस्कृतिको विकाससँगै मौलिक लोक गीतहरू ओरालो लागेको उहाँले बताउनुभयो । “पहिलेको पुस्ता स्वतः स्फूर्तरूपमा चासो राखेर देउडा खेल्थे । उनलाई कुनै पुरस्कारको, कुनै निर्णायकको मतलब हुँदैनथ्यो । अहिले भने जति पुरस्कार राखे पनि गहिरो चासो कोही राख्दैनन् ।” पाध्याय भन्नुहुन्छ ।

 

सुदूरपश्चिमका युवा जनशक्तिहरू आफ्नो संस्कृति छोडेर बाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएको सह–प्रा. डा. बद्री शर्मा बिनाडी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “देउडा मासिनु र लोप हुनु पश्चिमा संस्कृतिको प्रभाव हो । अहिलेको पुस्ता मोबाइल केन्द्रित भयो । नृत्य पनि अरू गीतमै हुन थाल्यो ।” उहाँले परम्परागत गीतहरु हस्तान्तरण गर्न नसक्नु अघिल्लो पुस्ताको पनि कमजोरी भएको बताउनुभयो । संस्कृतिलाई जोगाउन स्थानीय तहले पनि ध्यान दिनुपर्ने उहाँको धारणा छ । “आफ्नो संस्कृतिलाई स्थानीय पाठ्यक्रममा राख्नुपर्ने, तिनीहरूको महत्व, विशेषता, ऐतिहासिकता, देवी देवताहरूको उत्पतिबारे लेखेर अनिवार्य पाठ्यक्रममा राख्ने हो भने संस्कृति जोगाउन सकिन्छ ।” डा. बिनाडी बताउनुहुन्छ ।

 

जयपृथ्वीबहादुर सिंहजस्ता वीर पुरूषकै बारेमा बनेका गाथाहरू संरक्षण गर्नसके पनि संस्कृति जोगिने उहाँ बताउनुहुन्छ । “कुनै पुराना कविताहरू व्यक्तिले रचेकै भए पनि यिनको संरक्षण गर्ने जिम्मा स्थानीय निकायको नै हो । त्यसले ध्यान दिँदैन भनेपछि शिक्षित भनिएकालाई पनि आफ्नो संस्कृतिको बारेमा थाहा हुने छैन ।” उहाँ भन्नुहुन्छ ।

 

कतिपय ठाउँमा स्थानीय पाठ्यक्रम भनेर पुस्तक प्रकाशन गरिएको भए पनि लोक साहित्यविहीन भएको उहाँले बताउनुभयो । “अहिले स्थानीय निकायनै अधिकार सम्पन्न भएका छन् । तिनीहरूले संस्कृति झल्काउने देउडा, फाग, मांगलहरू पाठ्यक्रममा समेटेर अनिवार्य गर्ने हो भने संस्कृति जोगाउन कठिन छैन ।” उहाँले भन्नुभयो ।

 

अहिले देउडामा अत्यधिक भाषिक क्षयीकरण भएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “अहिले जबर्जस्त बचाएका देउडाका भाषामा पटक्कै मिठास छैन । भाषिक क्षयीकरण भइसक्यो । परम्परागत भाषाका शब्दहरू नभएर विभिन्न भाषाका शब्द मिश्रित गर्दा रहेछन् । त्यो भनेको पहिचान गुमेको देउडा मात्रै हो ।”

 

संस्कृति जोगाउनका लागि विद्यार्थीको पाठ्यक्रम नै स्थानीय भाषामा हुनुपर्ने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “संस्कृति जोगाउनका लागि भाषा जोगाउनुपर्छ । भाषा जोगिए, संस्कार आफैँ जोगिन्छ ।” उहाँले अहिले जयपृथ्वी नगरपालिकामा ६–८ कक्षा पढाइ हुने गरी पाठ्यक्रम निर्माण भइरहेको बताउनुभयो । “हाम्रो पालिकामा पहिचान जोगाउनका लागि विज्ञको सहयोगमा पाठ्यक्रम निर्माण गर्दैछौँ । त्यो पाठ्यक्रम पालिकाका सबै विद्यालयमा अनिवार्य लागू हुनेछ ।” उहाँले भन्नुभयो ।


वसन्तलाई स्वागत गर्ने ‘चैतलो’ पर्व

हुम्लाको सिमकोट गाउँमा प्रत्येक वर्ष फागुन १२ गते मात्र मनाइने पर्व हो ‘चैतलो’ । विशेष पर्वका रुपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाएका छन् । श्रीमान्को मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरुले गाउँको सार्वजनिकस्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाएका हुन् ।

 

यसलाई यहाँका सधवा महिलाहरूले पीत वस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रुपमा खेल्ने गरिन्छ । बसन्तलाई स्वागत गर्ने पर्वका रुपमा पनि यसलाई मान्ने गरिन्छ । गाउँगाउँ, टोलटोलबाट पीत वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रुपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो । गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाच खेल्ने गरिन्छ ।

 

यहाँ शुरुमा देवदेवी र पञ्चभूतत्वलाई खुशी पार्न माङ्गल, चुड्कीला, चाड्ची, आरती र प्रस्तुती गाइन्छ भने त्यसपछि रमाइलोका लागि चुड्कीला र देउडा खेल्ने गरिन्छ । चैतलो पर्व सिमकोट गाउँपालिकाका वडा नं १, २, ५ र ६ का महिलाले धुमधामका साथ मनाएको स्थानीयवासी लोग भण्डारीले बताउनुभयो । श्रीमान्को मनोकामना पूरा होस् भनेर बिहानैदेखि व्रत बसेर नुहाइधुवाई गरी महिला गीत गाउन सार्वजनिकस्थलमा जाने गर्छन् । शरीरमा गाउन लगाउने र पहेँलो कपडा ओढेर गीत गाउँदै नाच्ने महिलाको लस्करले निकै रमाइलो देखिन्छ । उमेरअनुसार जेठीबाट कान्छी क्रमशः दुई लाममा लाग्छन् । मुख्य गीत गाउने एक एक जना अगुवा हुन्छन् । अरुले उनको गीतलाई साथ दिएर गाउने गर्छन् । एक हप्ता अगाडिदेखि गीत गाउने अभ्यास पनि महिलाले गर्छन् । देवीदेवता र भगवान्को प्रार्थनाका साथै दुई पक्षबीच सवालजवाफ पनि हुने गर्छ । एक आपसमा मनका पीरमर्का पनि गीतबाटै व्यक्त गर्ने गरिन्छ । एक वर्षमा घरमा मान्छे नमरेको प्रत्येक घरबाट एक महिला चैतलो नाच्न जाने गरिन्छ । श्रीमान् बितेकी महिला भने उक्त गीत गाउन जानुहुन्न भन्ने सामाजिक मान्यता छ ।

 

चैतलो पर्वमा महिला नाचेको रमाइलो हेर्न टाढाटाढाका गाउँबाट पनि मानिस आउने गरेको उहाँले बताउनुभयो । चैतलो गीत गाउन गएकी महिलालाई आफन्त तथा माइती पक्षले मीठा परिकार बनाएर खुवाउने गरिन्छ । यसका साथै धामी पनि नाच्ने गरिन्छ भने राति महिला पुरुष मिलेर देउडा गीत गाउने गरिन्छ । यसलाई यस क्षेत्रको तीजभन्दा पनि ठूलो मान्ने गरिन्छ । आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ६ ऋतुको शुरुवाती वसन्त ऋतुको आगमनलाई स्वागत गरेर वर्षभरी नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रुपमा ‘चैतलो’ लाई मानिंदै आएको छ । यो गिती नाचपछि आफ्न्त र नजीकका मित्रहरूलाई घरमा बोलाएर पुरी, खिर, भात, सेल, मासुलगायत अन्य विभिन्न मिष्ठान्नका परिकार खुवाउने चलन छ । यो विशेष पहिरन र आभूषण लगाएर सधवा महिला तथा कन्या केटीहरूले मात्र खेल्न पाउने महिला पर्व हो ।

 

यस पर्वमा चैतलो खेल्न जाने ‘चैतालई रानी’हरूले अनिवार्य रुपमा पहेलो रेशमी कपडाको लामो लुगा ओढ्नु पर्ने परम्परा नौलो र मौलिक रहेको सिमकोट गाउँपालिका वडा न. ५ की लक्ष्मी रोकायाको भनाइ छ । चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खस (क्षेत्री) समुदायले मान्ने विशेष प्रकारको यो पर्वका बारेमा खोजी गर्नुपर्ने आवश्यकता देखिन्छ । यसलाई संस्कृति र प्रकृतिलाई अन्तरघुलन गर्ने गराउने एक सशक्त माध्यम मानिएको छ ।

Comments Box