त्रिदेशीय (नेपाल, भारत र चीन) सिमाना पर्ने छाङरुमा फोरजी सेवा शुरू

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिङ्करलगायतका क्षेत्र र सिमानासम्म फोरजीको पहुँच



दार्चुला, भदौ ३१ गते । दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । त्रिदेशीय (नेपाल, भारत र चीन) सिमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकाको छाङरुमा हेलिकोप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

 

यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सिमानासम्म पुगेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार टावर निर्माणका सामग्रीसहित उपकरण हेलिकोप्टरबाट ढुवानी गरेर कालापानीभन्दा झन्डै १३ किलोमिटर तल रहेको छाङरुमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।

 

भदौ पहिलो साता हेलिकोप्टर प्रयोग गरिएको थियो । टावरका साथै टावरमा प्रयोग गरिने सौर्य ब्याट्री, पाता र डिभाइसलगायतका सामान र उपकरण हेलिकोप्टरबाट ढुवानी गरिएको थियो ।

 

छाङरुमा टावर सञ्चालनमा ल्याउन व्यास गाउँपालिका–४, कैचुलामा रहेको टावरलाई ब्रह्मलेकमा सारिएको छ । ब्रह्मलेकबाट छाङरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेसन राखिएको हो ।

 

छाङरुको ज्याक्तीडाँडामा टेलिकमको नयाँ रिपिटर स्टेसन राखेर छाङरु गाउँमा रहेको नमस्ते फोन सेवाको फोरजी सञ्चालनमा ल्याइएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो । व्यास गाउँपालिका–५, धौलाकोटमा टेलिकमको नयाँ टावर स्थापनाका लागि सर्भे गरिएको छ ।

 

धौलाकोट क्षेत्रमा राप्ला र पीपलचौरी दुवै क्षेत्रको टावरले काम नगर्ने भएकाले त्यहाँ नयाँ टावर स्थापना गरिने उहाँले बताउनुभयो ।

 

अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिङ्करलगायतका क्षेत्र र सिमानासम्म फोरजीको पहुँच पुगेको छ । भारतका सीमावर्ती गाउँसम्म पनि सेवा पुग्ने नेपाल टेलिकम दार्चुलाले जनाएको छ । टेलिकमको टावर सञ्चालनमा आएसँंगै अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने व्यास क्षेत्र सञ्चार सम्पर्कमा जोडिएको छाङरुका स्थानीय योगेश बोहराले बताउनुभयो ।

 

अहिलेसम्म व्यासमा नेपाल टेलिकमको स्काई फोन सेवा मात्रै सञ्चालनमा हुन्छ । मौसमी प्रतिकूलता, भौगोलिक विकटतासंँगै विभिन्न प्राविधिक कारणले बेलाबेला सञ्चार सेवा अवरुद्ध भएर व्यासवासी सञ्चार सम्पर्कबाट वञ्चित हुँदै आएका थिए । छाङरुमा १२० जति घरधुरी र सात सयजति जनसङ्ख्या तथा अन्य क्षेत्रका गरी करिब चार हजार जनसङ्ख्या यसबाट प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ । यो स्थानमा सशस्त्र प्रहरीको बेसक्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालयसमेत रहेका छन् ।

 


८ बैशाख २०७९, बिहीबार

तिंकर सडक निर्माणका लागि छाङरुमा क्याम्प राख्दै सेना

दार्चुला तिंकर सडकको निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका वडा नं १ छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका वडा नं २ कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।

 

क्याम्प स्थापना हुने ठाउँमा बिहीबा नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकोप्टर मार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकको समेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । नेपाली सेनाले दार्चुला तिंकर सडकको निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लीङमा क्याम्पको स्थापना गरेको थियो ।

 

हाल व्यास गाउँपालिकाको वडा नं २ कोठेधारमा सेनाले सडक निर्माणको काम गरिरहेको छ । केपी ओली नेतृत्वको सरकारले कोठेधार देखि तिंकर सम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । पछिल्लो समय सरकारले तुसरपानी देखि कोठेधार सम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा सेनालाई दिएको छ ।

 

कोठेधार–तिंकर सडकको नयाँ डिपिआर गरि नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिदाँ ८७ किलोमिटर डिपिआरको कोठेधार–तिंकर सडकको जिम्मा दिएको थियो । नेपाली सेनाले घुम्तीहरु घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधार देखि तिंकर सम्म ७४ किलोमिटरको नयाँ डिपिआर गरि सडक निर्माण गरिरहेको छ ।

 

कोठेधार तिंकर सडकको नयाँ डिपिआर गरि ७४ किलोमिटर कायम गरिएको नेपाली सेनाका एक जना अधिकारीले बताए । तुसरपानी देखि कोठेधार सम्मको ४ किलोमिटर सडक निर्माणका लागि पनि सेनाले गृहकार्य गरिरहेको छ ।

 

तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका वडा नं ३ तुसारपानीमा वर्षादका कारण अवरुद्ध भएको सडक मर्मत गरिँदैछ । सडक अवरुद्ध हुदाँ नेपाली सेनालाई फतङगाड सम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला तिंकर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ ।

 

तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयहरुले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेका व्यास गाउँपालिका वडा नं ३ का स्थानीय कृष्ण सिह कुवरले बताए ।


२७ माघ २०७८, बिहीबार

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिमको भ्रमणमा आउनुभएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गर्नुभएको हो ।

 

उहाँले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

 

सरकारले गत वर्ष सदरकुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो । सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ ।

 

विसं २०६५÷६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो । यसअघि नेपाली सेनाले साढे चार मिटर बढी घोरेटो बाटोसमेत यस क्षेत्रमा काटेको छ । धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ आउनुभएका शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि हुनुहुन्छ ।

 

दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीन महिने नेपाली सेनाको तालिमको समापन लगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा जानुभएको हो ।


व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

२५ असार २०७८ (रासस) : गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका– १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी पनि खुशी भए । छ महीना पुग्ने खाद्यान्न ढुवानी गरिएपछि खुशी नहुने कुरो पनि भएन । हाल आएर अहिलेसम्म सरकारले दोस्रोपटक यहाँका नागरिक र सुरक्षाकर्मीका लागि खाद्यान्न ढुवानी गरेको छैन ।

 

सर्वसाधारणले गत वैशाखमा बसाइँसराइ (स्थानीय सौका समुदायको भाषामा कुञ्चा) सर्ने बेला थोरैथोरै खाद्यान्न घोडा र खच्चरमा लगेर जीविका चलाउँदैछन् । सौका समुदायले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी गरेका थिए ।

 

भारतीय एसएसबीसँग हारगुहार गरेर खाद्यान्न गाउँ पु¥याइएको थियो । अहिले पछिल्लो समय व्यास– १ छांगरुको गागास्थित सशस्त्र प्रहरीले भारतीय समकक्षीसँग अनुरोध गरेर खाद्यान्न ढुवानी गर्नु परेको छ । मित्रवत् व्यवहार भएका कारण खाद्यान्न, तरकारीलगायत सामग्री ढुवानी गरेर जोहो चलेको बताइएको छ । समकक्षीसँग सम्बन्धका कारण छांगरुमा रहेका सशस्त्र प्रहरीले आवश्यक सामग्री ढुवानी गर्ने गरेका छन् । नेपालको बजारबाट खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । बाटोघाटो छैन । गाडी त परै जाओस्, मान्छे हिँड्नसमेत बाटो छैन । सशस्त्र प्रहरीलाई खाद्यान्न किन्न पूरै भारतीय बजारमै निर्भर हुनु परेको छ । धारचुला बजारबाट गाडीमा सीतापुलसम्म खाद्यान्न ढुवानी गरेर छांगरु पु¥याउनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ ।

 

अहिले पनि धारचुलाबाट खाद्यान्न ढुवानीको तयारी थालिएको छ । गत मङ्गलबार भारतको गर्वाधार क्षेत्रमा पहिराले सडक अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न सकेको छैन । भारतयतर्फको पहिराले नेपालतिरको कल्जु क्षेत्रमा बाटो भत्काएको छ । सशस्त्र प्रहरीको क्वाटर मास्टर (खाद्यान्न व्यवस्थापन गर्ने व्यक्ति) ले नै धारचुला बजारमा खरीद गरेर पठाउनुपर्ने बाध्यता छ । सबैभन्दा सजिलो उपाय भनेको हेलिकप्टर नै हो । सरकारले हेलिकप्टरमार्फत ढुवानी गर्नमा चासो नदेखाएपछि सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले भारतीय सडक र भारतीय बजारबाटै खाद्यान्नको जोहो गर्नुपरेको छ ।

 

बिओपी स्थापना गर्दा २०७७ वैशाखमा छ महीनाका लागि सैनिक हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरियो । त्यसपछि भने खाद्यान्न व्यवस्थापनलगायत न सेनाको हेलिकप्टर प्रयोग भयो, न वैकल्पिक व्यवस्थापनको पहल भयो । शुरुमा खाद्यान्नलगायतका सामग्री सबै हेलिकप्टरमार्फत ढुवानी गरियो । कात्तिकपछि हेलिकप्टर आउनै छाडेको छ । “गत जेठमा नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकप्टरमार्फत ढुवानी भयो, हाम्रा लागि अझै सरकारले हेरेको छैन”, सशस्त्र प्रहरीको गुनासो छ ।

 

सीमावर्ती बजारमा राशनकार्डवाहक भारतीयले चामल प्रतिकिलो भारु तीनदेखि पाँचमा पाउँछन् । भारतीय सुरक्षाकर्मीका लागि नियमित हेलिकप्टरमार्फत राशन, पोषणयुक्त सामग्री सबै ढुवानी हुन्छ । उनीहरुले खानुपर्ने सबै प्रकारका राशन सहजरुपमा पाइरहेका छन् । अण्डा र मासु पनि नियमित उनीहरुले पाइरहेका छन् । नेपालतिरका सुरक्षाकर्मीले पाउनुपर्ने राशन सुविधासमेत पाउन सकेका छैनन् । सदरमुकाम खलङ्गाबाट व्यासको छांगरु तिङ्कर पुग्न चारदेखि पाँच दिन समय लाग्छ । सडक पुगेको छैन । बाटो घाटो राम्रो छैन । सबै ठाउँमा जोखिम मोलेरै आवतजावत गर्नुपर्ने यहाँको बाध्यता छ । त्रिदेशीय सीमा जोड्ने गरी निर्माण भइरहेको खलंगा–तिकर सडक खण्डको १२ वर्षमा ४३ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । गाडी ४० किलोमिटरसम्म मुस्किलले मात्रै सञ्चालन छ । त्यो पनि हिउँदयाममा मात्रै । बर्खामा यो सडक पनि बन्द रहन्छ ।