जितपुरसिमरामा चर्तिकला; स्थानको विषयमा विवाद हुँदा शपथ नै भएन

नगरबासीलाई न्यायिक सेवा दिने इजलास भत्काएर बनाइएको कक्षमा नभई आफूहरूलाई कार्यालयको अन्य कक्ष वा कार्यालयको हाताभित्र रहेको खुल्ला स्थानमा शपथ ग्रहण गराउन कार्यपालिका सदस्यहरूले प्रमुख पौडेलसँग आग्रह



बाराको जितपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जना सदस्यको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ ।
शपथ ग्रहण गर्ने स्थानको विषयमा कार्यपालिका सदस्य र उपमहानगर प्रमुखबीच असहमति नभएपछि स्थगित भएको हो ।
उपमहानगर प्रमुख राजन पौडेलले कार्यपालिका सदस्यलाई आफ्नै कार्यकक्षमा शपथ ग्रहण गराउने तयारी गरेका थिए । तर, न्यायिक इजलास कक्ष भत्काएर बनाइएको उपमहानगर प्रमुखको कक्षमा शपथ ग्रहण गर्न कार्यपालिका सदस्यहरूले अस्वीकार गरे ।
नगरबासीलाई न्यायिक सेवा दिने इजलास भत्काएर बनाइएको कक्षमा नभई आफूहरूलाई कार्यालयको अन्य कक्ष वा कार्यालयको हाताभित्र रहेको खुल्ला स्थानमा शपथ ग्रहण गराउन कार्यपालिका सदस्यहरूले प्रमुख पौडेलसँग आग्रह गरेका थिए ।
प्रमुख पौडेलले भने आफ्नो कक्षबाहेक अन्यत्र गएर शपथ ग्रहण नगराउने अडान लिँदै आएका छन । शपथ ग्रहण गराउने आफ्नो काम भएको र आफूले तयारी गरेकै स्थानमा शपथ ग्रहण गर्न कार्यपालिका सदस्यलाई उन्ले आग्रह गरेका छन ।
यसपछि भने प्रमुख पौडेलसँग कार्यपालिका सदस्यहरू आक्रोशित नै भए । दुवै पक्षले अडान नछाडेपछि शपथ ग्रहण कार्यक्रम स्थगित गरिएको हो ।
शपथ ग्रहण स्थगित भएपछि निर्वाचन अधिकृत टिकामणि न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलको कक्षमा कार्यपालिका सदस्यलाई प्रमाण–पत्र वितरण गरेका छन । प्रमाण–पत्र वितरण कार्यक्रममा सहभागी हुन प्रमुख पौडेललाई बोलाइए पनि सहभागी भएनन ।
उपमहानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि जेठ १५ गते भएको निर्वाचनमा नेकपा एमालेका आठ जना उम्मेदवार निर्वाचित हुनुभएको थियो ।
निर्वाचित हुनेमा महिला सदस्यतर्फ पवित्रामाया कार्की, बुद्धकुमारी अधिकारी, मायादेवी चौधरी, रामपती थरुनी र सुकुमाया कुमारी छन । दलित तथा अल्पसङ्ख्यकतर्फ अर्जुन विक, प्रह्लाद साह सोनार र प्रभावती देवी छन ।
कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी हुँदा नगर कार्यपालिकामा एमालेबाट प्रतिनिधित्व गर्नेको सङ्ख्या २२ पुगेको छ भने माओवादीको पाँच, काँग्रेसको पाँच, लोसपा र एकीकृत समाजवादीको एक–एक जना सदस्य छन ।

नवनिर्वाचित मेयर कर्मचारीहरुलाई लिएर काठमाडौं लागेपछि …

बारा, १२ जेठ: जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौं लागेपछि कार्यालयको काम प्रभावित बनेको छ ।

 

 

मेयर पौडेलले काठमाडौंमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेटन भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौं गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो ।

 

जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको नमुना पठाउँन भनेर नगरपालिका कार्यालय पुगेका वडा नम्बर २३ का वडा अध्यक्ष मुस्तकिम अन्सारी कार्यालयमा कर्मचारीहरू नभेटेपछि निराश हुँदै फर्कन बाध्य भएका छन् ।

 

हस्ताक्षरको नमुना नगरपालिका मार्फत सिडियो कार्यालयमा पठाएपछि मात्रै नवनिर्वाचित वडा अध्यक्षहरूले कार्यालयको कागजपत्रमा हस्ताक्षर गर्न पाउने भएकोले वडा सचिव सहिँत नगरपालिका गएको तर कर्मचारी नभेटेपछि हस्ताक्षर प्रमाणिकरणको काम गर्न नपाएर जनताको सिफारिसमा असहज भएको उनले बताए ।

 

जनताको कामलाई बेवास्ता गर्दै मेयर पौडेल आफ्नों पार्टीका नेता भेट्न कर्मचारी नैं लिएर गएपछि वडा अध्यक्षहरूले मेयरले जनताको कामलाई भन्दा पार्टी व्यक्तिगत कामलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् ।


ज्योतिषसँग सल्लाह लिएर माओवादीबाट निर्वाचित नगरप्रमुखले न्यायिक कक्ष भत्काएर, आफ्नै कक्ष बनाएपछी …

बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन् । उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको न्यायिक समितिको इजलाश कक्ष भत्काएर उनले आफ्नो कार्यकक्ष बनाएका हुन् ।

 

 

उपमहानगरमा रहेको नगर प्रमुखको कार्यकक्ष हुँदाहुँदै पौडेलले उक्त कक्षमा नबसेर इजलाश कक्ष हटाउँदै उक्त कोठालाई कार्यकक्ष बनाएका हुन् । इजलाश भत्काएर तयार गरिएको कार्यकक्षमै पौडेलले सोमबार बिहान पदभार ग्रहण गरेका थिए ।

 

न्यायिक कक्षलाई कार्यकक्ष बनाएपछि इजलाशका फर्निचर चौथो तल्लामा रहेको सभाहलमा थुपारिएको छ । नगर कार्यपालिकाको बैठकलगायत विभिन्न कार्यक्रम हुने हलको टेबल र कुर्सीमाथि इजलाश कक्षको फर्निचरलगायतका सामान यत्रतत्र छाडिएका छन् ।

 

नेपालको संविधान ०७२ धारा २१७ ले प्रत्येक स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्ष संयोजक हुने गरी न्यायिक समिति हुने व्यवस्था गरेको छ । न्यायिक समितिले नगर क्षेत्रभित्रबाट परेका उजुरी र विवादमा छलफल गरी न्याय सम्पादन गर्नेगर्छ । जीतपुरसिमरामा पनि सोहीअनुसार करिब आठ लाख लागतमा न्यायिक इजलाश कक्ष निर्माण गरिइको थियो ।

 

उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख सरस्वतीदेवी चौधरीले उपप्रमुखको कार्यकक्षसँगै रहेको कोठामा न्यायिक इजलाश बनाएर न्याय सम्पादन गर्दै आएकी थिइन् ।समितिमा निर्वाचित नगरसभा सदस्यमध्ये दुई जना सदस्य, एक जना अधिवक्ता र कर्मचारी रहनेछन् ।

 

कक्ष भत्काएपछि तत्कालै न्याय सम्पादनको काम प्रभावित हुने भएको छ भने उपमहानगरको सभाहलमा सामान राखिएपछि बैठक तथा कार्यक्रम पनि नहुने भएका छन् ।

 

ज्योतिषको सल्लाहअनुसार न्यायिक कक्ष भत्काएको आरोप 

कार्यकक्ष तयार गर्नुअघि पौडेलले ज्योतिषसँग सल्लाह लिएको र ज्योतिषले इजलाश कक्षनै उपयुक्त हुने सुझाएको जनाइएको छ । यसपछि ज्योतिषको सल्लाहअनुसार नागरिकले प्रत्यक्ष सेवा प्राप्त गर्ने इजलाश कक्षनै भत्काएर पौडेलले कार्यकक्ष बनाएको स्रोतको भनाइ छ ।

 

इजलाशलाई कार्यकक्ष बनाएका पौडेलले निवर्तमान उपप्रमुखको कक्षलाई वेटिङ रुम बनाएका छन् । उपप्रमुखको कार्यकक्षलाई वेटिङ रुम र इजलाश हटाएको विषयमा नवनिर्वाचित उपप्रमुख भोलाप्रसाद अधिकारी समेत जानकार थिएनन् । नगर प्रमुख पौडेलले इजलास हटाउने विषयमा सामान्य छलफल समेत नगरेको उपप्रमुख अधिकारीले बताए ।

 

नगर प्रमुख पौडेलले भने निवर्तमान नगर प्रमुखको कोठामा घाम लाग्ने भएकाले इजलास कक्षलाई कार्यकक्ष बनाएको प्रतिक्रिया दिएका छन् । नवनिर्वाचित नगरप्रमुख पौडेलले घाम लाग्छ भनेको उक्त कोठामा निवर्तमान नगर प्रमुख डा। कृष्ण पौडेलले पहिलो कार्यकाल बिताएका थिए ।

 

उपप्रमुखको कार्यकक्षलाई नगर प्रमुखले वेटिङ रुम बनाएपछि उपप्रमुख अधिकारीले निवर्तमान नगर प्रमुखको कार्यकक्षमा पदभार ग्रहण गरेका थिए ।

Comments Box