गठबन्धन दलले गरे गाउँपालिका बन्द !



खोटाङ, ११ चैत: खोटाङको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले एकदिने बन्द गरेको छ । बुधबार राती ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले शुक्रबार गाउँपालिका बन्द गरेको हो ।

 

नेता बस्नेतमाथि सांघातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था एक दिनका लागि बन्द गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । आक्रमणको विरोधमा गठबन्धन दलले चिसापानीबजारमा संयुक्त विरोधसभा गरेको छ ।

 

एमाले सम्बद्ध युवाले नियोजित रूपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषयमा विवाद निकालेर बस्नेतमाथि बोतल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेसले दाबी गरेको छ । बोतल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । एमाले सम्बद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति विष्टले बताए ।

 

जन्तेढुंगामा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमालेबाट निर्वाचित छन् । पाँच वर्षको अवधिमा एमालेले गरेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको गठबन्धन दलको भनाई छ ।एमाले जन्तेढुंगा गाउँपालिका कमिटी अध्यक्ष यामकुमार राईले भने जाँडरक्सी खानेक्रममा केही व्यक्ति बीचको विवादलाई राजनीतिक रंग दिएर एमालेको नाम जोडेर बदनाम गरेको बताए ।

 

गाउँपालिकाको प्रशासनिक भवन, चिसापानी ट्रस हाटबजार, वडा कार्यालय काहुलेको भवन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रममा अवरोध पुर्‍याउनका लागि गठबन्धन दलले बन्द आव्हान गरेको एमालेले दाबी गरेको छ । यद्यपि, बन्दकैबीचमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गाउँपालिकाको एक तले भवन भवन, चिसापानी हाटबजार, वडा कार्यालय काहुलेको भवन उद्घाटन तथा एमाले पालिका कमिटीको मदन स्मृति भवन शिलान्यास गरेका छन् ।

 

गठबन्धन दलले भने गाउँपालिकाको भवन निर्माणको काम सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै विरोध जनाएका छन् ।


२१ श्रावण २०७८

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो । उक्त कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । “चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ”, कार्यदलका सदस्य सचिव केशवराज जोशीले भन्नुभयो । कार्यविधिलाई अन्तिम रुप दिन कार्यदलको आज बिहानैदेखि बैठक बसेको थियो । उक्त बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी हुनुहुन्छ ।

 

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सत्तारुढ शीर्ष नेतृत्वले छलफल गरी सो प्रतिवेदन सार्वजनिक गर्ने सदस्य सचिव जोशीले जानकारी दिनुभयो । न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि केही दिनभित्र सरकारले पूर्णता पाउने बताइएको छ ।

Comments Box