दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु



२९ साउन (रासस) : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु गरिएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख लागतमा दिक्तेल बजारस्थित सिँचाइ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम शुरु गरिएको हो ।

 

अहिलेसम्म कच्ची अवस्थामाा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक ढलान गर्न अहिले फराकिलो पार्ने, विद्युत् र टेलिफोनको पोल तथा तार हटाउने लगायतका कामलाई तीव्रता दिइएको छ । सडक ढलानको काममा कुनै किसिमका अवरोध आएमा तत्काल स्थानीयवासिन्दा तथा नगरपालिकासँग समन्वय गरी ढलानको कामलाई तीव्रता दिइने निर्माण कम्पनीले जनाएको छ ।

 

सडक ढलानको जिम्मा लिएको ठेकेदार कम्पनी सूर्य–विकास जेभीका प्रतिनिधि रोशन राईका अनुसार निर्माणस्थलमा जेसिबी र कामदार खटाएर सडक फराकिलो पार्ने काम भइरहेको छ । “सडक ढलानका लागि आवश्यक निर्माण सामग्री सम्भवतः आज बेलुकीसम्ममा निर्माणस्थलमा खसाएर निर्माण कार्य अगाडि बढाइनेछ”, उहाँले भन्नुभयो, “सडक निर्माणको कामलाई निरन्तरता दिन नगरपालिका र यातायात व्यवसायीसँग समन्वय गरेर सिँचाई गेटदेखि त्रिवेणीचोकसम्म सवारी साधन बन्द गर्ने तयारी गरेका छौँ ।”

 

आरसिसी ढलान निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । ठेकेदार कम्पनीले उक्त सडक ढलानका लागि विसं २०७८ मङ्सिर मसान्तमा निर्माणको सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७८ असार ९ गते नगरपालिकासँग सम्झौता गरेको हो ।    सडक ढलानको काम गुणस्तरयुक्त र स्टिमेट बमोजिम भए नभएको नियमित अनुगमन गर्न नगरपालिकाबाट प्राविधिक टोलीसमेत परिचालन गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “ठेकेदार कम्पनीले दोस्रो चरणअन्तर्गत दिक्तेल बजारको ७६४ घनमिटर सडक ढलान र ४५३ घनमिटर सडकमा ग्याभिङ वालको काम गर्नेछ”, उहाँले भन्नुभयो, “सडक ढलानको काम गुणस्तरहीन भएमा तथा तोकिएको समयमा सम्पन्न नगरेमा नगरपालिकाले तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउँछ ।”

 

सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाकै लगानीमा यसअघि पहिलो चरणअन्तर्गत आव २०७६÷७७ मा दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोकदेखि सिँचाइ गेटसम्म आरसिसी ढलान गरिएको थियो । पहिलो चरणमा गरिएको दिक्तेल बजारको विभिन्न सडकखण्ड ढलानको काम गुणस्तरहीन भएको भन्दै दिक्तेल बजारबासीले असन्तुष्टि जनाउँदै आएका छन् ।

अव्यवस्थित बजारीकरणका कारण दिक्तेल बजारको सडक ढलानका क्रममा कतिपय घर तथा पसलको ढोका छेकिन पुगेको छ भने कतिपय घर तथा पसलको ढोका सडकभन्दा माथि भएको छ । त्रिवेणीचोकदेखि मालपोत कार्यालय अगाडिसम्म र पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने सडक यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ ।

 

पुरानो घर तथा साँघुरो सडक रहेको दिक्तेल बजारमा यसअघि वर्षातको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुँदा सामाजिक सञ्जालमार्फत नगरप्रमुख रिजालको व्यापक आलोचना भएको थियो । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा ठूलो यस नगरपालिका भौतिक पूर्वाधार निर्माणमा अन्य स्थानीय तहभन्दा अगाडि देखिएको छ ।      जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजार पछिल्लो समय सडक ढलानको कामले तीव्रता पाएसँगै दिक्तेल बजारले मुहार फेर्ने निश्चित छ । मध्यपहाडी लोकमार्गले छोएको यस नगरपालिकालाई व्यवस्थित गर्न यसअघि नै सडक सौर्यबत्ती तथा सीसी टिभी जडान गरिएको छ ।

Comments Box