धार्मिकस्थल दर्शन र पूजाआजामा रोक



माघ ४, २०७८: कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।

 

भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

१० बैशाख २०७८, शुक्रबार

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ ।

पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान छ बजेदेखि १ बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय खुला गरिएको थियो । अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले विरोधसमेत जनाएका थिए ।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्यरूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।

कोरोनाका कारण पर्यटक आउन छाडेपछि पर्यटक गाइड तथा पर्यटकका लागि लक्ष्य गरी विभिन्न सामग्रीको व्यापार व्यवसाय गरेकाहरुसमेत मर्कामा परेका छन् ।

Comments Box