उपल्लो डोल्पाको स्वास्थ्य सेवा : आम्ची र भगवान् भरोसा

हिमाल क्षेत्रको करिब एक हजार प्रजातिका जडीबुटी र १३० किसिमका जनावरका शरीरका विभिन्न अङ्गबाट सोवा रिग्पाको औषधि बनाउने गरिन्छ



सुर्खेत, १६ कात्तिक: उपल्लो डोल्पाका सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै आएको छ । तीन वटा पालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँका सर्वसाधारणको उपचार हुँदै आएको हो ।

 

शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि नै कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । शे फोक्सुण्डोमा तीन वटा संस्था रहेका छन् । १ देखि ४ सम्मका सर्वसाधारणलाई भनेर सालदाङ, ५, ६, ७ का लागि भिजेर र ८ र ९ नम्बरका लागि फोक्सुण्डोमा स्वास्थ्य चौकी रहेको छ । सालदाङमा मात्र अहिले एक जना स्थानीय स्वास्थ्यकर्मी रहेका छन् भने अन्य ठाउँमा हिमपातका कारण जान सकेको अवस्था छैन ।

 

सबै वडामा आम्चीले स्थानीय जडीबुटीद्वारा उपचार गरेर बिरामी तथा सुत्केरी सेवा दिने गरेको स्वास्थ्यकर्मी निमा धार्गे गुरुङले बताए । स्वास्थ्यकर्मीले दिएको सेवा समेत यहाँका स्थानीयवासीलाई नपरेको र आम्चीकै भरमा सबै खालका उपचार गर्दै आएको गुरुङले बताए । दुनैबाट औषधि लिनसमेत मुस्किल हुँदै गएको छ । प्रतिकिलोको १२० रुपैयाँमा भाडा लाग्ने गरेको गुरुङले बताए ।

 

एक गाउँबाट अर्को गाउँमा जानका लागि हिउँले अब केही दिन भित्र जान नसक्ने अवस्था हुने भएकाले सेवा दिन समेत हैरानी भएको उनको भनाइ छ । खोप सेवा समेत कात्तिकदेखि चैतसम्म बन्द हुने गर्छ ।

 

त्यस्तै डोल्पोबुद्ध  गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ वडाका लागि धोमा रहेको छ । वडा नम्बर ४, ५ र ६ का लागि तिन्जेमा रहेको छ । आफ्नै भवन नहुँदा भाडामा चलाउनु परेको गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । अहिले कुनै पनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएको उनले गुनासो गरे ।

 

कर्मचारी गाउँपालिकामा आउनै नमान्ने गरेको उनको दुखेसो सुनाए । सरकारले सुत्केरी भत्ता दिए पनि यहाँका सबै गर्भवतीहरू घरमै सुत्केरी हुने भएकाले भत्ता नपाउने गरेको उनले बताए । आम्चीको भरमा घरमै सुत्केरी हुने परम्पराका कारण स्वास्थ्य संस्थाको विश्वास नरहेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

 

त्यस्तै छार्काताङसुङ गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ को लागि छार्कामा र ४, ५ र ६ को मुकोटमा रहेको स्वास्थ्य संस्थाले सेवा दिने गर्छन् । त्यहाँ अहिले कुनै पनि स्वास्थ्यकर्मी नभएको पाइएको छ । मुकोट स्वास्थ्य संस्थाका प्रमुख ज्ञानेन्द्रबहादुर शाही जुफाल घरमा रहेका छन् । तिहारमा घरमा आएका उनी चैतमा मात्र फर्कने सोचमा रहेको बताए । हिमपात छ कसरी जानु ? उनले प्रश्न गरे ।

 

कात्तिकदेखि नै खोप सेवा बन्द भएको उनले बताए । मुकोटमा रहेको स्वास्थ्य संस्थामा प्रहरी, बैंकसमेत बसेको उनले बताए । गाउँपालिका भरी अघिल्लो वर्ष एक जनाले मात्र सुत्केरी सेवा लिएको शाहीले बताए । सबै यहाँका गर्भवती आम्चीको सहयोगमा घरमै हुने सुत्केरी हुने गरेका कारण सुत्केरी भत्तासमेत नपाउने गरेका छन् । नियमित गर्भ जाँच कसैले पनि स्वास्थ्य संस्थामा आएर नगर्ने तर घरमै बसेर जोखिम मोलिरहेको स्वास्थ्यकर्मीको भनाई छ ।

 

उता आम्चीले स्वास्थ्यकर्मीसँग भाषा नमिल्ने भएकाले काम गर्न समस्या हुने गरेको बताएका छन् । आफूहरू स्थानीय भाषा मात्र बोल्ने भएकोले स्वास्थ्यकर्मी नेपाली भाषा बोल्ने भएकाले आफूहरू त्यो नजान्ने भएकाले समस्या भएको उनीहरूको भनाइ छ । एक गाउँमा एक आम्ची हुने गरेको बताएको छ । उपल्लो डोल्पाको तीन वटा पालिकामा स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँचदेखि सुत्केरी हुने संख्या जिरो रहेको छ ।

 

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा थोरैले सुत्केरी सेवा लिने गरेका छन् । एक वडाबाट अर्को वडामा जानका लागि दिनभरी लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण पनि यहाँका महिलाहरू सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन् ।

 

ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका स्थानीय तह हुन् । मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको छ । जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ । उपल्लो डोल्पा भन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढी रहेको छ ।

 

कर्णाली प्रदेशको सबै भन्दा बढी हेलिकोप्टरबाट गर्भवतीको उद्धार हुने जिल्लामा डोल्पा एक नम्बरमा पर्छ । यहाँका महिलालाई सुरक्षित रूपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारले बताएका छन् ।

 

के आम्ची उपचार विधि ? 

हिमाली क्षेत्रका डाक्टर हुन्, आम्ची । आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौं वर्षेदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । उनीहरू अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन् । ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन् । आम्ची जडीबुटी पाइने बेला उच्च हिमाली भागमा उक्लन्छन् ।

 

पुस्तौँदेखि जडीबुटीको चिन्ने कलाले उनीहरूलाई कुनचाहिँ ओखती हो र कुन हैन भन्ने सजिलै थाहा पाउने गर्दछन् । ती जडीबुटीलाई पिसेर, मात्रा मिलाएपछि बल्ल ओखती बन्छ । पूर्वीय समाजको दैनिक जीवनमा आम्ची र आयुर्वेद परापूर्वकालदेखि नै प्रयोगमा छ । अहिले आयुर्वेद जोडिएका औषधी र सौन्दर्य प्रशोधनले लोकप्रियता पनि हासिल गरेका छन् । पुरातन उपचार पद्धतिलाई आधुनिकीकरण गर्ने विश्वव्यापी लहर पनि चलेको छ ।

 

पुरातन पद्धतिमा टेकेर जडीबुटीमार्फत उपचार गर्ने आम्चीहरू देवता नै रहेको यहाँका स्थानीयवासी बताउँछन् । हिमालयन आम्ची एसोसिएसनको पहलमा सरकारले आम्ची पढ्न अनुमति दिइएको छ ।

 

सोवा रिग्पा उपचार पद्धति आदिवासी ज्ञानमा आधारित उपचार विधि हो । अहिले यो उपचारका बारे विश्व विद्यालय तहमा अध्यापन हुने गरेको छ । यसबाट सोवा रिग्पाका विज्ञ विशेषज्ञ (आम्ची) उत्पादन हुन थालेका छन् ।

 

सोवा रिग्पा उपचारका अगुवा आम्ची हुन्छन् । स्वास्थ्य उपचारका वैकल्पिक विधा आयुर्वेद, अकुपञ्चर युनानी जस्तै सोवा रिग्पा पनि उपचारको फरक पद्धति हो । बुद्ध भगवानको पाँच महाज्ञान मध्ये एउटा ज्ञान सोवा रिग्पा ज्ञान हो । बुद्ध भगवानले यस उपचार विधिका लागि चार वर्ष तपस्या गरेका थिए ।

 

हिमाल क्षेत्रको करिब एक हजार प्रजातिका जडीबुटी र १३० किसिमका जनावरका शरीरका विभिन्न अङ्गबाट सोवा रिग्पाको औषधि बनाउने गरिन्छ । यस्ता जडीबुटीहरू नेपालमा नै उपलब्ध हुन्छन् । यी जडीबुटी पहिचान गर्ने ज्ञान आम्चीहरूमा मात्र हुन्छ । यस्तो ज्ञान परम्पराबाट सिकेका हुन् ।


तीन दिनदेखि यातायात ठप्प

डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो ।

 

जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताउनुभयो । “हामीले दुई स्थानीय तहले ३०० कर उठाउँदा मारमा परेर पनि ३५० मै यात्रु बोकियो, घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निणर्यबाट गाडी बन्द गरिएको हो”, पौडेलले भन्नुभयो, “दर्जनौँ जीपधनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ, पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै ।” जीप व्यवसायीहरुले क्षमताभन्दा बढी मान्छे हाल्न पाउनुपर्छ भनेर कानूनमा नभएका कुरा गरेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो । “तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियम विपरीत राखेका स्थानीय तहका ढाट हटाइयो, उनीहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि रु ५० घटाइएको हो”, पाण्डेले भन्नुभयो, “सर्वसाधारणको सेवा सुविधालाइ ध्यानमा राख्दै सबै कुरा व्यावहारिक रुपमा हेरिएको छ, तैपनि व्यवसायीहरु आफूखुशी गर्छन् ।” सर्वसाधारण र व्यवसायी दुवै पक्षलाइ मर्कामा नपर्ने गरी भाडादर समायोजन गरिएको र जीप बन्द गरेपछि व्यवसायीलाई नै समस्या पर्ने पाण्डेले बताउनुभयो । सुँपानी–दुनैको १४ किमी सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भाडा ३५० बाट घटाएर रु ३०० मा झारेको थियो । जिल्लाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर सङ्कलन केन्द्रहरु अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो ।

 

तर प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै जीप व्यवसायीहरुले यातायात सेवा ठप्प पारेका हुन् । दुनै–सुपाँनी सडकखण्डमा दुई दर्जनभन्दा धेरै जीपहरु सञ्चालनमा छन् ।

Comments Box