डेंगु रोगीको सङ्ख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

२०७६ सालमा नेपालमा डेंगु प्रकोपका रुपमा फैलिएको थियो



नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।

 

योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।


डेंगु भनेको के हो ?

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरस सङ्क्रमित एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ ।

 

डेंगु भाइरस चार प्रजातिको हुन्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रो पटक लागेको डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुने डा. पुन बताउनुहुन्छ ।

 

एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्ने डा.पुन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुन्छन् । सो समयमा थप सचेत रहनुपर्छ ।”

 

लक्षणहरु

ज्वरो आउने, माशंपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु शरीरमा रातो बिमिरा आउँनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन । खानामा अरुचि हुने, हाडजोर्नी तथा मांसपेशीहरु र ढाड दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिने गर्दछन् ।

 

लक्षणहरू देखिएको ३ देखि ७ दिनपछि बिरामीमा कडा डेंगु देखिन सक्ने सम्भावना बलियो हुने गर्छ । लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव भई बेहोस हुन्छ ।

 

उपचार

डेंगु भाइरसबाट हुने भएकाले यसको खास उपचार छैन । कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा औषधि लिनुपर्ने चिकित्सक बताउँछन् ।

 

उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रसस्त मात्रामा खाने र आराम गर्ने डेंगुको उपचार हो । डेंगु भाइरस भएका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती तथा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई गम्भीर असर पर्ने हुँदा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

 

डेंगुबाट बच्ने उपाय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारी लामखुट्टेको बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, खाली ठाउँमा मल्हम लगाउने, सधैँ सुत्दा झुलभित्र सुत्ने, घर वरपर वा खेतीबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउने, झ्याल ढोकामा जाली लगाई बन्द गरेर सुत्ने सुझाव दिनुहुन्छ ।

 

लामखुट्टेले फुल पार्ने ठाउँहरुमा फुल पार्न नदिनु नै उपयुक्त उपाय भएको डा. अधिकारी बताउनुहुन्छ । त्यसका लागि घर वरिपरि कार्यस्थल र सार्वजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्न, पानी जमिहालेको खण्डमा हप्तामा दुई पटक जमेको पानी फाल्न र दैनिक प्रयोजनको लागि राखेको पानी छोपेर राख्न डा.अधिकारीको सुझाव छ ।

 

यस्तै, कुलरमा रहेको पानी हप्तामा दुई पटक सफा गर्ने, गमला वा गमला राखेको प्लेटमा जमेको पानी हप्तामा दुई पटक फालेर सफा गर्ने । त्यस्तै, भाँडाकुँडामा पानी जम्न नदिन घोप्ट्याएर राख्ने, घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने, काम नलाग्ने भाँडाकुडा, सिसी र प्लास्टिकका सामग्री, टायर आदिमा पानी जम्न नमिल्ने गरी विसर्जन गर्दा लामखुट्टे लाग्नबाट बच्न सकिने डा. अधिकारी बताउनुहुन्छ ।

Comments Box