दसैँ अवधिमा दुर्घटना – नुवाकोट दुर्घटनामा ३८ जना घाइते



नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हँुदै काठमाडाँै जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

 

घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ ।

 

बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ ।

बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो ।

 

दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दाबढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौँतर्फ जान लागेका थिए ।

 

सिन्धुपाल्चोकमा ३५ घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ ।

 

 

बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

 

अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ ।

 

बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

 

काठमाडौँ-धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियोे ।

 

 

चितवन जिल्लामा दसँैंको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो ।

तीव्र गति, क्षमता भन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उहाँले बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उहाँको भनाइ छ । चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उहाँको भनाइ छ ।

दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २० वर्षीय मनिष रौनियार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ९५६४ नं को स्कारपियोले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रौनियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments Box