निर्वाचनको दिन कसले कति सवारी साधनका लागि अनुमति पाउने ?

मतदाता ओसारपसार गर्ने कामका लागि प्रयोग गर्न नपाइने



निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने दिन मंसिर ४ गते सवारीसाधन सञ्चालनका लागि मापदण्ड जारी गरेको छ ।

 

सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको संख्यासमेत समावेश गरेर आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवगमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको हो ।

 

मापदण्ड अनुसार उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी सधान प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मूख्य निर्वाच अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

निवेदन प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले एउटा दुई पाग्रे वा तीन पाग्रे वा चार पाग्रे विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधनका लागि अनुपतिपत्र जारी गर्नुपर्नेछ ।

 

उम्मेदवारको एक जना निर्वाचन प्रतिनिधिका लागि दुई पाग्रे वा तीन पाग्रे वा चार पाग्रे विद्युतीय वा यान्त्रिक शक्तिबाट चल्ने एउटा हलुका सवारी साधनलाई अनुमति दिइने छ ।

 

उम्मेदवार बाहेक अन्य निकाय वा संस्थाले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम र सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरेर सिफारिस दिने अधिकारीको सिफारिस लिएर अनुमती पत्र जारी गर्ने निकाय वा अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

 

निवेदन प्राप्त गरिसकेपछि तोकिएको निकाय वा अधिकारीले तोकिएको संख्यामा नबढ्ने गरी आयोगबाट जारी गरिने सवारी अनुमतिपत्रको हकमा तोकिएको ढाँचामा र प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने सवारी अनुमतिपत्रको हकमा तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्नुपर्नेछ ।

 

आयोग वा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्दा कामको प्रकृति हेरी एकभन्दा बढी बढी जिल्लाका लागि सवारी साधन प्रयोग गर्ने गरी अनुमतिपत्र जारी गर्न सक्नेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोग गर्न भने अनुमति दिइने छैन ।

 

आपत्कालिन अवस्थामा सवारी साधनको आवश्यक व्यवस्था सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउनुपर्ने

मानवीय उद्धार तथा सहायता एवम आपत्कालिन अवस्थामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले त्यस्तो सवारी साधनको आवागमनका लागि आव्श्यक व्यवस्था मिलाउनुपर्नेछ ।

 

यस बाहेक निर्वाचनको स्वच्छता, स्वतन्त्रता निष्पक्षतामा असर नपर्ने गरी आवश्यकता र औचित्य हेरी प्रत्येक जिल्लामा सवारी साधनको उचित व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय ६ सदस्यीय सवारी साधन व्यवस्थापन समिति रहनेछ ।

 

हवाई यात्रु आवागमनका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्ने

अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा बासस्थानदेखि बिमानस्थलसम्म र बिमानस्थलदेखि यात्रुो बासस्थानसम्मको आवागमनका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ ।

 

आफै हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि विशेष व्यवस्था

मापदण्ड अनुसार अपांगता भई आफैँ हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न अवधी कायम रहेको पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचय पत्र ९क र ख वर्ग०को आधारमा सवारी साधनको प्रयोग गर्न सकिने छ ।

 

अशक्तताको कारणले आफै हिँडडुल गर्न नसक्ने व्यक्तिको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सकिनेछ ।

 

सञ्चारकर्मीसहित अत्यावश्यक सेवाका सवारी साधनले अनुमतिपत्र लिन नपर्ने

मतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपालीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल र सञ्चारकर्मीलाई अनुमतिपत्र लिनुपर्ने छैन् । यस्तै दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधनले अनुमति लिनुपर्ने छैन ।

 

फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लािग प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, यूएन एजेन्सी र द्धिपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी एवम कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयो गर्ने सुरक्षा निकायको सवारी साधनले अनुमति लिनुपर्ने छैन ।

 

आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनका लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयमसेवकले प्रयोग गर्ने सवारी साधनले पनि अनुमति लिनुपर्ने छैन् ।

 

सञ्चारकर्मीको सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि अनुमतिपत्र लिनुपर्ने छैन । तर, त्यस्ता सवारी साधन मतदाता ओसारपसार गर्ने कामका लागि प्रयोग गर्न नपाइने मापदण्डमा उल्लेख छ ।

 

मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न, त्यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन तथा अनुगमन गर्नका लागि आयोगका प्रशासन महाशाखा प्रमुखसमेत रहेका सहसचिव शालिग्राम पौडेलेको संयोजकत्वमा ५ सदस्यीय सवारी साधन आवागमन व्यवस्थापन तथा अनुगमत समिति रहनेछ ।

 

सवारी आवागमत अनुमति पत्र प्राप्त गर्ने व्यक्तिले सवारी अनुमति पत्र सुरक्षाकर्मीले सजिलैसँग देख्नेगरी राख्नुपर्ने, सवारीमा परिचयपत्र बाहक आधिकारिक व्यक्तिबाहेक अरुलाई राख्न नपाइने मापदण्डमा उल्लेख छ । यस्तै सवारी साधन मतदाता ओसारपसार गर्न कार्यमा प्रयोग गर्न नपाइने र सवारी साधनलाई मतदान केन्द्रभित्र प्रवेश अनुमति नहुने उल्लेख छ ।

 

मापदण्ड विपरित सवारी साधनमा असम्बन्धित व्यक्ति राखेको पाइएमा वा सवारी साधनको दुरुयोग भएको पाइएमा त्यस्तो सवारी साधनको अनुमतिपत्र तत्काल खारेज गरिनेछ ।

 

मतदानको दिन कसैले मापदण्ड विपरित सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिएर आवश्यक कानूनी कारबाही गर्नेछ भने मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिइनेछ ।

Comments Box