उद्यमशीलतामा जुट्दै सामुदायिक वन



तनहुँ, १८ चैत (रासस)ः जिल्लाको म्याग्दे गाउँपालिकाका छवटा सामुदायिक वन मिलेर माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याएका छन् । स्थानीय सिद्धबतासना, उमाचोक, भिरपानी, ज्यान्ट्याङ, बरच्याङ र पोसेली सामुदायिक वन उपभोक्ता समिति मिलेर उद्योग सञ्चालनमा ल्याएका हुन् ।

म्याग्दे गाउँपालिका–२ का तीन, १ का दुई र ३ का एक गरी छ सामुदायिक वनका गरी करीब एक हजार ३०० जनाको सहभागितामा अमृत बेल सर्वत उत्पादन गरिएको हो । ‘गुणस्तर प्रमाणित बेल तथा फलफूलका उत्पादनको प्रयोग गरौँ, वन तथा प्राकृतिक स्रोतमा आधारित उद्यमको प्रवद्र्धन गरौँ’ भन्ने मूल नारा लिएर यहाँका सामुदायिक वनले एक किसिमको उदाहरणीय कार्यको थालनी गरेका छन् । वनमा खेर गइरहेको बेललाई सदुपयोग गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् । बेललाई प्रशोधन गरी स्क्वायस बनाएर बिक्रीका लागि बजारमा ल्याउन थालिएको माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उद्योगमा उत्पादित जुस तनहुँको खैरेनीटार, दुलेगौडा, दमौली, कावासोती, काठमाडाँैलगायत शहरका अधिकांश आयुर्वेदिक पसलहरुमा सजिलै रुपमा पाउन सकिने उहाँले बताउनुभयो । सात सय मिलिलिटर बोतलको रु २१० र ३०५ मिलिलिटर बोतलको रु १२५ खुद्रा मूल्य कायम गरिएको छ । शुरुमा उद्योग सञ्चालनमा ल्याउन रु आठ लाख ८५ हजार लगानी गरिएको थियो । हरियो वन केयर नेपालले रु ३० लाख, डिभिजन वन कार्यालयले रु पाँच लाख, म्याग्दे गाउँपालिकाले करीब रु दुई लाख र घरेलु तथा साना उद्योग विकास समितिबाट रु ९५ हजार सहयोग प्राप्त भएको थियो । म्याग्दे गाउँपालिका–२ स्थित साठीमुरेमा रहेको करीब दुई रोपनी सार्वजनिक जग्गा गाउँपालिकाले उपलब्ध गराएपछि करीब रु १३ लाख खर्चेर उद्योगको भवन निर्माण गरिएको उद्योग व्यवस्थापन समितिका सचिव कमला शाहीले बताउनुभयो । छवटै सामुदायिक वनको प्रतिनिधि रहने गरी ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । डिभिजन वन, घरेलु, उद्योग वाणिज्य सङ्घ र सामुदायिक वन महासङ्घ समितिका पदाधिकारीहरु रहने गरी सल्लाहकार समिति गठन गरिएको छ । पराम्पराकालदेखि नै वनमा रहेका बेलका रूख काटेर दाउरामा प्रयोग गर्ने गरिए पनि अहिले बेलका रूख काट्न प्रतिबन्ध लगाइएको व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर रानाभाटले जानकारी दिनुभयो । सिद्धबतासना सामुदायिक वनमा चार वर्षअघि १६ हजार बेलका बिरुवा लगाइएको थियो । सोही वनमा १६ हजार चापका बिरुवासमेत रोपिएको छ । उहाँले भन्नुभयो, “हरियो वन केयर नेपालले वनमा वृक्षरोपण गर्नुपर्छ भन्ने बानीको विकाससमेत गराएको छ ।”

विसं २०७२ मा उद्योग स्थापना गरिए पनि भवन निर्माणका लागि केही समय रोकिन पुगेको थियो भने भूकम्पपछि कोरोनाले पनि काम गर्न बाधा पु¥याएको व्यवस्थापन समितिले जनाएको छ । समितिले चार वर्षसम्म आएको मुनाफाको ८० र चार वर्षपछि २० प्रतिशत कोषमा राख्ने त्यसपछि बाँकी रहेको सामुदायिक वनलाई बाँडफाँट गर्ने योजना छ । उद्योग शुरु गरेयता करीब रु आठ लाख मुनाफा कमाएको बताइएको छ ।

बेलको जुस पिउँदा हुने फाइदा

विशेषगरी बेलको जुस बाह्रै महिना बिक्री हुने गरे पनि गर्मी मौसममा अझ धेरै बिक्री हुने गरेको बताइएको छ । ‘गुणस्तर प्रमाणित बेल तथा फलफूलका उत्पादनको प्रयोग गराँै’ वन तथा प्राकृतिक स्रोतमा आधारित उद्यमको प्रवद्र्धन गरौँ, बेलको जुस सेवन गर्दा स्मरण शक्ति बढ्छ, पाचन शक्तिमा वृद्धि, पेट सफा गर्ने, उच्च रक्तचाप, मुटु रोग, झाडा, आउँ, ग्याष्टिक, कब्जियत, पायल्स भएका व्यक्तिलाई फाइदा गर्दछ । रङ र बास्ना समेतको प्रयोग विना उत्पादित बेलको जुसले छालामा चमकता ल्याउने र बालबालिका, महिला वयस्कदेखि वृद्धहरुका लागि अति उपयोगी मानिन्छ । उक्त उद्योगले उत्पादन गरेका बेलका जुस अहिले पनि चार हजार बोतल स्टकमा रहेको छ । ७०० मिलिलिटरका तीन हजार र ३०५ मिलिलिटरका एक बोटल जुस रहेको छ । यसरी उत्पादन गरेका जुसलाई एकदेखि डेढ वर्षसम्म प्रयोग गर्न सकिनेछ । जुस छिट्टै नबिग्रियोस् भनेर थोरै मात्रामा रासायनिक प्रयोग गर्ने गरिए पनि चिनीको मात्रा भने नराखिने सञ्चालक श्रेष्ठले बताउनुभयो

 

Comments Box