दोर्दी गाउँपालिकाको पर्यटकीय क्षेत्र मेमेपोखरीमा दोर्दी गाउँपालिकाले धर्मशाला निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरी धर्मशाला निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
मेमे पोखरीमा धर्मशाला निर्माणको काम सकिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार धर्मशालन निमाण भएपछि पर्यटकीयस्थल मेमेपोखरी अध्ययन अवलोकन, मनोरञ्जनका लागि जानेहरुको लागि सहज हुने छ । मेमेपोखरी नजिक बस्न मिल्नेगरी शौचालय, पानी धारासहितको धर्मशाला निर्माण गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
लमजुङको उत्तरपूर्वी क्षेत्रमा पर्ने मेमे पोखरीमा वर्षको एकपटक जनैपूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । बेसीशहरबाट चिती हुँदै बराहपोखरी भएर ३ देखि ४ दिनमा मेमेपोखरी पुग्न सकिन्छ । यस्तै, दोर्दी गाउँपालिकाको टापगाउँ, सिमीताँजे, नौथरक्षेत्र साथै दूधपोखरी गाउँपालिकाबाट पनि मेमेपोखरी पुग्न सकिन्छ ।
सफा मनले मेमे पोखरीको यात्रा गर्दा मनले चिताएको पूरा हुने विश्वास गरिन्छ । समुद्री सतहबाट ४ हजार ५ सय मिटर उचाइमा रहेको मेमेपोखरीबाट उत्तरतर्फ हिमचुली हिमाल देख्न सकिन्छ ।