प्रधानमन्त्रीबाट बोल्ड आउट इमरानको राजनीतिक भविष्य के होला ?



२२ साउन, काठमाडौं । पाकिस्तानको इतिहासमा इमरान खान यस्ता प्रधानमन्त्री हुन्  जसले संसदको लोकतान्त्रिक प्रक्रियाको सामना गरेर सत्ता छोडे । पाकिस्तानको संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने खान पहिलो प्रधानमन्त्री हुन् ।

२०१८ जुलाइ सत्ताको क्रिजमा आएका उनी १० अप्रिल २०२२ मा पेभिलियन फर्किनुपरेको थियो । सत्ता बाहिरै रहँदा पनि खानले राजनीतिप्रतिको मोह त्यागेनन् । सत्तानै तर्सने गरी ठूल-ठूला र्‍याली र सभा गरे ।

ल २ महिनाको अवधिमा उनी २ पटक गिरफ्तारमा परेका छन् । यसपटक खान तीन वर्षका लागि जेल चलान भएका छन् । अब उनको दलको पाकिस्तान तेहरिक ए इन्साफ के होला भन्ने चिन्ता सर्वत्र छ ।

पाकिस्तानमा भ्रष्टाचार र अनियमितताको अन्त्य गर्ने वाचा गरेर सत्तामा आएका उनले नट आउट पूर्ण पारि बिताउने सोचेका थिए । एकपटक निर्वाचित भएर चारवर्षको अवधि शासन गर्ने प्रधानमन्त्री त भए तर सत्ताको पाँच वर्षको पूर्ण कार्यकाल उनले कटाउन सकेनन् । ।

सेनालाई रिझाउन नसक्दा उनले सत्ता छोड्नुपरेको जानकारहरु बताउँछन् ।

सत्ताबाट बाहिर आएर पनि उनले पाकिस्तानमा लोकतान्त्रिक पद्धतिको पालनाका लागि चुनावको माग गरे । विशाल र्‍याली र आमसभामार्फत सत्तालाइ दबाब दिए । उनलाई लक्षित गरेर गोलीसमेत प्रहार भयो । तर खानले दबाब दिन छोडेका थिएनन् ।

खानमाथि राष्ट्रको सम्पत्ति बेचेर विलासी जीवन विताएको, चरम भ्रष्टाचार गरेर राष्ट्रलाई आर्थिक संकटमा पुर्‍याएको आरोप लाग्यो । पेसावरस्थित निवासबाट उनी ९ मेमा गिरफ्तार परेका थिए । ५ असगस्ट उनी फेरि गिरफ्तारमा परे ।

खानको पहिलो गिरफ्तारीमा  पेशावरदेखि कराचीमा ठूलै हंगामा मच्चिएको थियो । सडक समर्थकको आक्रोश र सेनाको सर्तकताले भरिएको थियो । शनिबार उनी गिरफ्तार पर्दा भने पेशावर र कराँचीका सडक शान्त थिए ।

राष्ट्रको सम्पत्ति बेचेर अनियमितता गरेको आरोपमा खानलाई अदालतले तीन वर्षको जेल सजाए सुनाएको हो । फौजदारी अभियोग लागेकाले खानले अब आगामी निर्वाचनमा उम्मेदवारी दिन पाउनेछैनन् ।

गिरफ्तारीअघि खानले सत्तालाई दबाब दिन खानको शान्तिपूर्ण आन्दोलनको आग्रहलाई समर्थकले यसपटक टेरेका छैनन् ।

खानका समर्थकको मौनतालाई सरकारले उनीहरुले तेहरिक ए इन्साफलाई पछ्याउन नचाहेको रुपमा अर्थ्याएको छ । सैन्य तथा गुप्तचरी संयन्त्रसँग खानको सम्बन्ध विगतको भन्दा थप अमिलिएको छ ।

विश्लेषकहरु भन्छन्, ‘सैन्य तथा गुप्तचरी संयन्त्रसँग निकैनै मित्रवत सम्बन्ध भएका बखत खानको सत्तामा उदय भयो । जसै सम्बन्ध अमिलियो उनी रसातलमा पुगे।’

गत मेमा निवासबाट सरकारले जर्बजस्त गिरफ्तार गरेपछि खानले सैन्य नेतृत्व र त्यसको समर्थन प्राप्त सत्ताको निकै आलोचना गरे । खानको गिरफ्तारसँगै सेनाका भवनहरुमा आक्रमण भएपछि सेनाले यसका विरुद्ध शून्य सहनशीलताको नीति लिने बताएको थियो ।

यो प्रकरणका कारण खानका हजारौं समर्थकहरु गिरफ्तारीमा परे । उनीहरुविरुद्ध सैनिक अदालतमा मुद्दा चल्यो । नागरिकलाइ सैनिक अदालत लाने कुराको चौतर्फी विरोध भए पनि सरकारले त्यहीँ सुनुवाइ गरिछाड्यो ।

खानका समर्थकमाथिको सैन्य कारबाहीले  उनको दललाई कमजोर बनाउँदै लग्यो ।

सत्ताले खानविरुद्ध निकै कठोर नीति लिएको छ । पाकिस्तानका मिडियामा सेना परिचालन गरेको छ । पत्रकारहरुलाई खानको नाम उच्चारणनै नगर्न उर्दी जारी गरिएको छ ।

खानका समर्थकहरुले पनि सामाजिक सञ्जाल र अन्यत्र सत्ताको विरोध र खानको पक्षमा अभिव्यक्ति दिन छोडेका छन्-‘पाकिस्तानमा लोकतान्त्रिक विधिको पालना हुनुपर्छ भन्ने खानको अडानमा हामी असहमत होइनौं । तर उनको पक्षमा कहीँ लेख्दा वा बोल्दा सत्ताको निशाना र कठोर कारबाहीमा पर्ने त्रासले हामीले यसपटक केही गर्न सकेका छैनौं,’ समर्थकहरु भन्छन् ।

औपचारिक रूपमा सरकारले शान्तिपूर्ण आन्दोलनमा कुनैपनि धरपकड र त्यसमा सहभागीलाई गिरफ्तार नगर्ने बताएको छ । तर व्यवहारिक रुपमा सरकारको कदम फरक छ । उसले खानका समर्थकको भेलालाई निरुत्साहित गर्न प्रहरी प्रशासन तथा सेनालाइ उर्दी जारी गरेको छ ।

सयभन्दा बढी खानका समर्थक गिरफ्तारमा परिसकेका छन् । पाकिस्तानको राजनीतिलाई नियालिरहेका एशिया इन्स्टिच्युटका निर्देशक माइकल कल्गम्यान भन्छन्, ‘सरकारको कठोर कारबाहीको नीतिले खानका समर्थकको सात्तो गएको छ र उनीहरु मौनता साँध्न विवश छन् । ‘

खानका समर्थकहरुलाई यक्ष प्रश्न के छ भने भने सत्ताविरुद्ध सडकमा आक्रोश पोख्न नसेकेका उनीहरुले मतदानमा आक्रोशको फिलिङ्गुलाई ज्वालामा परिणत गर्लान् वा नगर्लान् ?

खानको गिरफ्तारीका बाबजुद उनका कानुन व्यवसायीहरुले हरेस खाएका छैनन् । यसका विरुद्ध अझै अपिल गर्ने उनीहरु बताउँछन् । केही महिनाअघिसम्म उनका कानुन व्यवसीहरुले खानलाइ अस्थायी राहत दिएका थिए । अब यो श्रृंखला कायमै होला वा नहोला भन्ने अझै प्रष्ट छैन ।

पाकिस्तानको राजनीतिक वातावरण पनि विगतमा भन्दा निकै पृथक बनिसकेको अवस्थामा खानको आगामी भविष्य पनि अनिश्चयको भुमरीमा फसेको छ ।

सडक परीक्षण र मतदान

पाकिस्तानका अन्य प्रधानमन्त्रीझैं इमराख खान पनि मुद्दा मामिलामा फसेका छन् । यसको सूचीमा नवाज सरिफ, बेनजिर भुट्टो, सैन्य तानाशाह पर्वेज मुसरफ पनि थिए । खान स्वयंले पनि आफू सत्मा हुँदा आफ्ना धेरै विरोधीलाई जेल चलान गरेका थिए ।

आफूविरुद्ध सत्ताले केही कदम चाले पाकिस्ती नेताहरु भन्छन्, ‘सत्ताले प्रतिसोध साँध्यो ।’

जब आफू सत्तामा पुग्छन् उनीहरु पनि प्रतिसोध साँध्न पुग्छन् । खानलाई सार्वजनिक पदमै बहाल हुन नपाउने गरी जेल चलान गरिएको छ । यदि उनी सार्वजनिक पदमै बहाल हुन पाएनन् भने उनको दलको हविगत के होला भन्ने प्रश्न खडा भएको छ ।

विगतमा खानले आफू नेतृत्वमा रहे पनि वा नरहे पनि आफ्नो पार्टी जीवन्त र जबरजस्त हुने बताएका थिए । तर पार्टीको अवस्थिति खानको गिरफ्तारीसँगै अनिश्चयमा छ ।

‘खानलेझैं पीटीआइका अन्य नेताले समर्थकहरुलाई सडकमा कत्तिको उतार्न सक्छन् वा अपिल गर्न सक्छन् त्यसेलै पीटाईको आगामी भविष्यको संकेत गर्नेछ । सडकमा अब उत्रने जमात पीटाइको एक परीक्षण हो,’ कल्गम्यानले भने ।

पीटीआई खानकै बलमा खडा भएको थियो र यो दल उनमै केन्द्रित छ । कतिसम्म भने यसको चुनाव चिह्नसमेत क्रिकेट ब्याटको छ । जसले खानको क्रिकेटर छविलाई प्रतिविम्बित गर्छ ।

खानका वरिपरि रहेका उच्च राजनीतिक छविका नेताहरुले गत वर्षनै पार्टी छोडेका छन् । बाँकी रहका नेताहरु गिरफ्तारी छल्नका लागि भूमिगतझैं छन् । यी सबै परिदृश्यले तेहरिक-ए इन्साफको भविष्य अनिश्चमा रहेको संकेत गर्छ ।

सत्ताले गरेको अन्यायको जवाफ मतदानमा दिएर दललाई मतदाताले इन्साफ देलान् वा नदेलान् आगामी चुनावसम्म पर्खनैपर्नेछ ।

केट स्टार खानको छवि प्लेब्वाइदेखि पवित्र सुधारकसम्को छ । सन् १९५२ मा जन्मिएका खानका पिता इन्जिनिएर थिए । उनी र उनका चार बहिनीले राम्रै शिक्षा दिक्षा पाए । अक्सफोर्डमा पढ्न जानुअघि लाहोरमै उनले राम्रै शिक्षाको अवसर पाए ।

क्रिकेटप्रतिको उनको लगावले खानलाई दुई दशकसम्म राम्रै क्रिकेटर बनायो । सन् १९९२ मा पाकिस्तानले विश्वकप समेत उचालेको थियो । लण्डनका रात्री क्लब वरपर उनले प्लेब्याइको छवि बनाएका थिए । रात्रि क्लबमा गए पनि आफूले कहिल्यै रक्सी नपिएको खान बताउँछन् ।

सन् १९९२ मा विश्वकपको ट्रफी उचालेपछि आफ्नो आमाको सम्झनामा क्यान्सर अस्पताल बनाउनका लागि चन्दा संकलनमा उनी सक्रिय भए । यही जगबाटै उनको राजनीतिक यात्राको सुरुवात भएको थियो । आफ्नो व्यक्तिगत जीवनका कारण भने खान  सधैँ विवादमा परे ।

सन् १९९५ मा ४३ वर्षको उमेरमा उनले २१ वर्षकी जेमिना गोल्डस्थिसँग विवाह गरेका थिए । उनी बेलायती धनाढ्य जेम्स गोल्डस्थिकी छोरी थिइन् । जेमिना र खानका २ छोरा थिए । सन् २००४ मा उनको विवाह टुट्यो।

सन् २०१५ मा खानले बीबीसीकी  पत्रकार रेहम खानसँग विवाह गरे । त्यो विवाह पनि एकवर्ष टिक्यो । सन् २०१८ मा उनले पाँच सन्तानकी आमा बुस्रा वाटोसँग विवाह गरे  ।

वाटो उनको धार्मिक सल्लाहकार समेत थिइन् । तर वाटोलाई घरजग्गा कारोबारीसँग घुसबापत जग्गा लिएर ट्रस्टको स्थापना गरेको अभियोग लाग्यो ।

यसलाई समेत जोडेर खानलाई भ्रष्टाचार अभियोगमा गत मेमा गिरफ्तार गरिएको थियो  । आफ्नो प्लेब्वाइ छवि सुधार्नका लागि खानले धर्मलाई अशस्त्र बनाउन थाले । सन् २०१८ को चुनावी अभियानमा खानले महिला पत्रकारसँग अन्तरवार्ता  दिन अस्वीकार गरे ।

राजनीतिज्ञका रुपमा खान उदारवादी मानिन्छन् । तर उनले इस्लामिक मूल्य मान्यता र पश्चिमा पश्चिमाविरोधी विचारका लागि  समर्थकलाई प्रोत्साहन समेत गरेका छन् ।

उनको शासन कालमा धार्मिक कट्टरपन्थी र इस्लामिक लडाकुको उपस्थिति बलियो भएको थियो । तालिबान प्रति उनी सहानुभूतिनै राख्थे । त्यसैले प्रतिपक्षीहरुले उनलाई तालिबान खानको संख्या दिएका थिए ।

सन् २०२०मा उनले ओसामा बिन लादेन शहीद रहेको बताएपछि उनका विरुद्ध ठूलो विरोध भएको थियो ।

लामो समयसम्म पश्चिमाको समर्थक रहेको पाकिस्तानले विस्तारै चीनसँग पनि सम्बन्ध बलियो बनायो।  सन् २०२२ मा संयुक्त राष्ट्रसंघमा रुसले युक्रेनमा गरेको हमलाबारे मतदानमा पाकिस्तान अनुपस्थित रह्यो ।

इतिहास देखि वर्तमानसम्म दुश्मनीको सम्बन्ध रहेको भारत र पाकिस्तानको सम्बन्ध सुधारमा खानको नेतृत्वमा समेत कुनै पहल भएन ।

यसका अलावा खानले निकै महत्वपूर्ण काम भने आफ्नो कार्यकालमा गरे । पाकिस्तानमा कोभिडको असर एशियाका अन्य राष्ट्रमा भन्दा कम बनाउन खान सफल भए । विश्वस्तरीय उपचार आफ्ना नागरिकलाई दिलाउनका लागि खान  सफल भएका थिए ।

गरिबी  निवारणको क्षेत्रमा पनि खानको नेतृत्वमा धेरै नै सुधार भएको थियो । यी दुईको जगमा आगामी चुनावमा उनलाई केही न केही फाइदा पुग्ने देखिन्थ्यो ।

तर चुनावअघिनै कुनै पनि सार्वजनिक पदमा बस्न नमिल्ने गरी उनी जेल तीन वर्षका लागि जेल चलान भए । यो फैसलालाई पुनरावेदन गर्ने बाटो अझै खुला छ । खानका कानुन व्यवसायीहरु त्यसका लागि काम गरिरहेका छन् । तर पुनरावेदनमा समेत उक्त फैसला सदर भएमा खान जिन्दगीभरका लागि सार्वजनिक पद धारणका लागि अयोग्य हुनेछन् ।

-बीबीसीबाट

Comments Box