बारीमै कुहिन थाल्यो अदुवा; लमजुङ र तनहुँका किसान मर्कामा

करिब ५० रोपनी जग्गा भाडामा लिएर गत वर्ष लगाएको हलेदो र अदुवामध्ये अदुवा बिक्री हुन नसकेको



बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।

 

बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउनुहुन्छ । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ”, उहाँले भन्नुभयो ।

 

गत वर्ष अदुवाको माग नभएपछि बिक्री गरिएको थिएन । यस वर्ष पनि माग नआएको उहाँ बताउनुहुन्छ । “बारीमै कुहिनुभन्दा कम मूल्यमै बेच्न थालेका छौँ । विगत दुई वर्षदेखि धार्नीको रु दुई सयदेखि रु दुई सय ५० सम्ममा बिक्री गर्दै आएका थियौँ । यस पटक बढ्नुपर्ने बेलामा झन् घटेर बेच्न बाध्य छौँ । यस वर्ष धार्नीको रु एक सयमा बेच्दछौँ”, उहाँले भन्नुभयो, “लगानी नै उठ्दैन यस पटक ।”

 

बीउबिजन महँगो मूल्यमा किन्नुपर्ने र बिक्री कम मूल्यमा गर्दा किसान मर्कामा परेका कृषक राना बताउनुहुन्छ । मुख्यतः अदुवाको खपत भारतीय बजारमा हुने र भारतबाट माग नआएपछि अदुवा बिक्रीमा समस्या भएको उहाँको भनाइ छ । “अदुवा बारीमै कुहिने, सुक्ने भएपछि निकाल्न थालिएको छ । अलि बढी पानी भएमा पनि कुहिने समस्या आउँछ”, उहाँले भन्नुभयो ।

 

कृषक रानाले वार्षिक रूपमा सात सय धार्नी अदुवा उत्पादन गर्नुहुन्छ । यस पटक अलि कुहिएकाले छिटो निकालिएको उहाँ बताउनुहुन्छ । यस क्षेत्र अदुवा पकेट क्षेत्र हो । उक्त क्षेत्रका प्रत्येक किसानले एक सयदेखि नौ सय धार्नीसम्म अदुवा उत्पादन गर्ने गरेका उहाँले बताउनुभयो । रजिडाँडाका मात्रै २५ घरधुरीले अदुवा उत्पादन गर्दै आएका छन् ।

 

सो स्थानका कृषकले समूह बनाएर अदुवा खेती गर्दै आएका छन् ।  गत वर्ष उत्पादन गरिएको बीउ शुक्लागण्डकी नगरपालिकाका लागि अदुवाको बीउ निर्यात गरिएको उहाँ बताउनुहुन्छ । बिक्री नभएका अदुवाको सुठो बनाएर बिक्रीका लागि बजारमा पठाइने कृषक रानाले बताउनुभयो । माघ र फागुनसम्म अदुवा निकाल्न मिल्ने र चैतमा बीउ रोपण गर्ने समय हो ।

 

भिमाद साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण खनालले अदुवा प्रशोधन बिक्रीका लागि बजार खोजी गर्ने गरेको बताउनुभयो । गत वर्ष करिब २८ मेट्रिक टन बुटवलको प्रशोधन केन्द्रमा प्रशोधन गरी बिक्रीका लागि तयार रहेको उहाँ बताउनुहुन्छ । गत वर्ष प्रतिकेजी रु ४० मा खरिद गरी प्रशोधन केन्द्रमा लगिएको उहाँले जानकारी दिनुभयो ।

 

यस वर्ष प्रतिकेजी रु २८ मा खरिद गर्ने बताउँदै आएको उहाँ बताउनुहुन्छ । “नेपालमा आफैँले उत्पादन गर्ने प्रचलन छ । निर्वाहमुखी खेतीले पुग्छ र किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै बिक्री हुने हो । कम अदुवा बिक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो”, अध्यक्ष खनालले भन्नुभयो, “केही भने यहीको बजारमा खपत हुन्छ ।”

 

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले कृषकले उत्पादन गरेको वस्तुको बजार सिर्जना गर्ने कार्यमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । तीन तहको सरकारले बजारको व्यवस्थापन गर्न भूमिका खेलेमा कृषि प्रधान देशको भनाइलाई सार्थक बनाउन सकिने उहाँले बताउनुभयो ।

 

“विश्वमा पूर्णरूपमा आयातित वस्तु उपभोग गर्ने देश छन् । ती देशसँग समन्वय, सहकार्य गरी व्यापारिक सम्बन्ध कायम गरी देशको आर्थिक समृद्धिलाई प्रमुख बनाउने भूमिकामा देशका मुख्य–मुख्य राजनीतिक दल र तीन तहको सरकारले समन्वय गर्न सके छिटो समृद्ध नेपाल बनाउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

 

कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेसाबाट कृषक विमुख भएको पाइन्छ । यस पेसामा युवालाई टिकाउने र स्वदेशमा नै उत्पादन वृद्धि गरी आयातभन्दा निर्यातलाई प्रोत्साहन गर्न सरकारले नै कदम चाल्नुपर्ने अवस्था रहेको छ ।

 

अदुवा उत्पादन वृद्धि

अदुवाको बजार मूल्य र बजार पाउन समस्या भए पनि तनहुँमा अदुवा उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

 

उत्पादनको क्षेत्रफल घट्दो छ । अदुवाको बजार पाउन समस्या भएको छ । तर उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार तनहुँमा आर्थिक वर्ष २०७७÷७८ मा पाँच सय १२ हेक्टर क्षेत्रफलमा सात हजार पाँच सय ४० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

 

आर्थिक वर्ष २०७८÷७९ मा पाँच सय १७ हेक्टर क्षेत्रफलमा सात हजार छ सय २२ मेट्रिक टन अदुवा उत्पादन भएको तिवारीले जानकारी दिनुभयो । कृषिमा लगानी वृद्धि गरी इलेक्टिक प्रशोधन गरी बिक्रीका लागि अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न सके कृषकको आकर्षण बढ्ने उहाँको भनाइ छ ।

 

प्रतिकेजी रु ६० का दरले बिक्री गर्दा तनहुँबाट रु ४५ करोडको अदुवा बिक्री वितरण हुने गरेको उहाँले बताउनुभयो । किसानले रु एक सयमा धार्नी बेच्नुपर्ने परिस्थितिले भने कम हुने उहाँको भनाइ छ


२८ असार २०७९, मंगलवार

लमजुङमा १० क्विन्टल अदुवा उत्पादन; बजार नपाउँदा किसान चिन्तित

लमजुङ, २८ असार: लमजुङ राइनासका किसानहरू अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् । राइनास नगरपालिका-५ तिनपिप्लेका स्थानीयले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब  १० क्विन्टल अदुवाले बजार नपाएको हो ।

 

प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती  गरेका थिए । नगरपालिकाको सहयोगमा उनीहरूले करिब ५० रोपनी जग्गा भाडामा लिएर गत वर्ष लगाएको हलेदो र अदुवामध्ये अदुवा बिक्री हुन नसकेको हो ।

 

४० रोपनी बढी जग्गामा लगाएको हलेदो तत्कालै बिक्री भए पनि पाँच रोपनी जग्गामा लगाएको अदुवाले बजार नपाउँदा भने किसानले यस वर्ष अदुवा खेती नै नगरेको बताएका छन् ।  उत्पादित अदुवामध्ये करिब १५ सय किलो बिक्री गरे पनि अझै १० क्विन्टल बढी अदुवा स्टोर गरी राखेको प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहका सल्लाहकार पूर्णबहादुर नेपालीले बताए  ।

 

प्रतिकेजी एक सय ५० रुपैयाँसम्म तिरेर सल्यानदेखि बीउ खरिद गरी अदुवा खेती गरेका किसानले अहिले प्रतिकेजी ५५ देखि ६० रुपैयाँसम्म दिँदा पनि अदुवाले बजार पाउन नसकेको समूहका उपाध्यक्ष रामशाली नेपालीको भनाइ छ ।

 

सामूहिक खेतीका लागि राइनास नगरपालिकाले गत वर्ष मसलाबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब आठ लाख बराबरको हातेक्याक्टर, औजार उपकरण र अदुवा तथा हलेको बीउ सहयोग गरेको थियो । नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै सामूहिक खेतीतर्फ उत्साहित बनेका  किसानहरूले आलु खेतीसमेत गरेका थिए ।


२५ चैत्र २०७७, बुधबार

बाँदरबाट जोगिन बेसार र अदुवा 

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउन नयाँ विधि अपनाएको छ। वन जङ्गलमा पर्याप्त आहारा नहुँदा कृषकले खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन नसकेपछि पालिकाले नयाँ जुक्ति निकालेको हो।

 

बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पुर्‍याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ।  दिनहुँ बाँदरको समस्याबाट देशभरका कृषक चिन्तित छन्। उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताउनुभयो।

 

कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको छ। उहाँले भन्नुभयो, “वडाको अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ।” खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उहाँले बताउनुभयो।

 

बेसार र अदुवा बाँदरले खाँदैन। उहाँले भन्नुभयो, “उत्पादन पनि राम्रो हुने भएकाले बीउ वितरण गरेका हौँ।” बाँदरले क्षति पुर्‍याउने खेतबारीमा अदुवा र बेसार खेती प्रभावकारी हुने देखिएकाले कृषकको माग अनुरूप बीउ वितरण गरिएको सो वडा कार्यालयले जनाएको छ। कृषकको आवश्यकता र मागअनुसार वितरण गरेको बताउँदै उहाँले भन्नुभयो, “कृषकको चासो देखाएर लाग्न आग्रह गरेका छौँ, बीउको उचित सदुपयोग भए÷नभएको समय समयमा अनुगमन गरिनेछ।” वडाले अनुदानमा बीउ उपलब्ध गराउँदा राहत मिलेको स्थानीय सोमबहादुर कुँवरले बताउनुभयो। मकै र कोदो लगाउँदा सबै बाँदरले खाएर घरमा भित्र्याउन नपाएको गुनासो पोख्दै अन्नबालीको अलवा अब अदुवा र बेसार उत्पादन गरेर मुनाफा लिने गरी खेती गर्ने योजना रहेको बताउनुभयो।

 

ज्याला मजदूरी गरी खाने परिवारमा एकदुई जना मानिस त खेती कुर्नै पर्ने भएकोले वैकल्पीक खेतीको रुपमा अदुवार बेसार खेती उपयुक्त रहेको उहाँले बताउनुभयो। वडाले बाँदरबाट प्रभावित कृषकलाई राहत दिन चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरेको थियो। शुक्लागण्डकी नगरपालिकाले लगाएको बालीनाली खाएर दुःख दिएको अन्य वडाको पहिचान गरी अदुवार र बेसारको बीउ वितरण गर्ने योजना रहेको बताइएको छ।

Comments Box