लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ।
अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो।
मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएका हुन्।
कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ ल्याइएका छन्।
दाङको राप्ती गाउँपालिका वडा नं. ३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वति माविमा सारिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय, आवास गृह र मुख्य सचिवको कार्यालय निर्माण कार्य भएको थियो ।
मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आगामी आइतबारदेखि मुख्यमन्त्रीको कार्यालले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ । बुटवल स्थित अस्थायी मुकाम बन्द गरिएको छ । यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड गरी दाङ पुर्याइएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विश्वकर्माले राति १२:४० मा दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सार्न सकेको फेसबुकमा लेखेका छन् ।
आज (मंगलबार) बिहान ११ बजेतिर राजधानी व्यवस्थापन मुल समितिको बैठक बस्दैछ । त्यही बैठकले के–के गर्ने भन्ने छलफल हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । साथै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई भालुवाङमै सफत खुवाउने समेत तयारी गरिएको छ । प्रदेशसभा भवन समेत निर्माणको अन्तिम चरणमा छ ।
२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो ।
२०५० सालमा स्थापना भएको राप्ती गाउँपालिका वडा नं. ५ स्थित राप्ती प्राबिधिक शिक्षालय १६ विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ । त्यहाँ साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।