आज खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?

१ घन्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने



मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

 

बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ ।

 

बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । १ घन्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको ९ घन्टा अघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

 

आज बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए ।

 

खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ । यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ ।

 

धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यताप्राप्त पात्रोमा उल्लेख छ ।

 

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि ८ कात्तिक मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लागेको छ ।

Comments Box