चुनावको मुखमा फेरिएको शेखरको बोली

गठबन्धनको घोर विरोधको शृङ्खला



केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जान नहुने भन्दै कांग्रेस एक्लैले निर्वाचन लड्नु पर्ने तर्क गरेका नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले चुनावको मुखमा भने संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर महानगरपालिकाको जनपथ चोकमा आज आयोजित कोणसभामा लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याए । शिक्षाबिना समाज र राष्ट्र सभ्य हुन नसक्ने भएकाले कांग्रेसले शिक्षालाई उच्च प्राथमिकता राखेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनेमा मुलुकमा विकास हुने र बेथिति हट्ने विचार राखे ।

 

‘कोखदेखि शोकसम्म’ कांग्रेसले योजना बनाई कार्यान्वयन गर्ने उल्लेख गर्दै उनले गरिबलाई शोकमा रु १० हजारसम्म किरिया खर्च दिने उद्घोष गरे । कांग्रेसले सुत्केरी भत्तादेखि ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिने बताए ।

राष्ट्रियसभाका सदस्य एवं नेकपा (माओवादी केन्द्र )का नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवार जित्नुपर्ने बताए ।

 

क्षेत्र नं ६ (२) का उम्मेदवार केदार कार्कीले विराटनगरलाई संरचनासहितको राजधानी बनाउने भएकाले गठबन्धनले जित्नुपर्ने बताए । उनले विराटनगरको चक्रपथ व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मतदाता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्तालाई निर्देशन दिए ।


१५ बैशाख २०७९, बिहीबार

कांग्रेसका कुनै सभापतिले नगरेको गठबन्धन देउवाले किन गर्न खोजेका हुन ? – शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् । आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् ।

 

 

प्रेस विज्ञप्ति
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि उत्साह र उल्लासपूर्ण वातावरणमा देशभरि उम्मेदवारी दिने काम सम्पन्न भयो ।
पाँचवर्ष पछि आउने यो महायज्ञमार्फत नेपालको लोकतान्त्रिक आन्दोलन गाउँघरमा पुग्दछ । हामी निर्वाचनको प्रक्रियामा संलग्न सबै पक्ष नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नुपर्छ भनी सदैव सचेत र सतर्क रहनुपर्छ ।
नेपाली कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरुको पंक्ति लामो थियो । अधिकांश योग्य र सक्षम पनि थिए । कांग्रेस देशको सबैभन्दा पुरानो र एकमात्र लोकतान्त्रिक पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा टिकट वितरण कार्य सहज थिएन ।
टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।

 


अहिले म साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दैछु, टिकट वितरणलाई लिएर । जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरुलाई कांग्रेसको मुल प्रबाहमा फर्कन म आग्रह गर्दछु । त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन ।

 


सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ ।
साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु । पार्टी भित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु । हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर पनि हामी लड्छाँ । र अन्तत : जित सत्य र न्यायको हुन्छ । हामी निरास हुने छैनौँ ।


अन्तमा, कांग्रेस पार्टीको बिभिन्न तहका साथीहरु, भातृ तथा शुभेच्छुक संगठनहरुलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन म जोडदार अपिल गर्दछु ।


देउवालाई शेखरका ९ प्रश्न ; गभर्नर निलम्बनमा आक्रोश, सुपारी र मरिच आयातमा आपत्ति

काठमाडौ, २९ चैत : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई इतिहास सम्झाउँदै नौवटा प्रश्न गरेका छन् ।

 

 

नेपाल निजामती कर्मचारी संगठनका कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले केन्द्रीय समितिको निर्णयविपरीत सभापति देउवा हिड्न खोजेकोदेखि गभर्नर निलम्बन, सुपारी आयात, राजदूत नियुक्ति र टेलिकममा निर्देशक नियुक्तिसम्मका नौवटा प्रश्न गरेका हुन् ।

 

केन्द्रले स्थानीय तहको उम्मेदवार तय गरे कांग्रेस र गठबन्धन दुवैलाई अप्ठ्यारो

केन्द्रीय सदस्य कोइरालाले कांग्रेस केन्द्रीय समितिको ‘आवाश्यकता र औचित्यका आधारमा स्थानीय तहले निर्वाचनमा तालमेल गर्ने’ पार्टीको आधिकारिक निर्णयविरुद्धमा सभापति देउवा लाग्न खोजेको आशंका गरेका छन् । केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जान नहुने भन्दै कांग्रेस एक्लैले निर्वाचन लड्नु पर्ने तर्क गरेका कोइरालाले केन्द्रबाट उम्मेदवार तोक्ने काम गरिए पार्टी र गठबन्धन दुवैलाई अप्ठ्यारो पर्ने बताए ।

 

‘केन्द्रीय समिति बैठकले आवाश्यकता र औचित्यलाई मध्यनजर गर्दै स्थानीय तहले तालमेल गर्ने सक्ने भनिएको छ । त्यो कुरालाई नजर अन्दाज गरेर केन्द्रबाट उम्मेदवार तोक्न थाल्यौँ भने कांग्रेसलाई त अप्ठ्यारो पार्छ, सत्ता गठबन्धनलाई पनि अप्ठयारो पार्ने देखिन्छ,’ कोइरालाले भने । स्थानीय तहमा तालमेल गर्ने भए सोको निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिएमा मात्र मूर्तरुप पाउने नत्र परिणाम उल्टो हुने कोइरालाको भनाइ छ ।

 

कांग्रेसका कुनै सभापतिले नगरेको गठबन्धन देउवाले किन गर्न खोजेका हुन ?

कांग्रेसका यसअघिका कुनै पनि नेतृत्वले कम्युनिस्टहरूसँग तालमेल गरेर निर्वाचन नगएको र पराजित हुने पूर्ववतः जानकारी हुँदा पनि कांग्रेस एक्लै निर्वाचनमा गएको उदाहरण पेस गर्दै ‘के कारणले अहिले तालमेल गर्नु परेको हो ? ’ भन्ने प्रश्नसमेत कोइरालाले गरेका छन् ।

 

‘बिपी कोइरालाले कम्युनिस्टसँग मिलेर जानु हुँदैन भनेर पहिला नै भन्नुभएको थियो । कांग्रेसको आदर्श र सिद्धान्त बिपी कोइरालाले नै प्रतिपादन गर्नु भएको हो, अब किन त्यो सिद्धान्त र आदर्शवाट च्यूत हुनु परेको हो ? मैले बुझ्न सकेको छैन्,’ कांग्रेसका संस्थापक सभापतिलाई सम्झँदै कोइरालाले भने ।

 

त्यसो त कोइरालाले अर्का सभापति कृष्णप्रसाद भट्टराईको पनि उदाहरण दिएका छन् । ‘पहिलो जनआन्दोलनपछि किसुनजीको सरकारमा एमाले पनि थियो  । तर, निर्वाचनमा हामीसँगै गएनाैँ, अलग अलग लड्यौँ, कांग्रेसले बहुमत ल्यायो,’ं कोइरालाले अगाडि भने, ‘त्यति मात्र होइन, दोस्रो जनआन्दोलनपछिको सरकारमा पनि एमाले र माओवादी थिए । तर,  संविधानसभामा पनि कांग्रेस एक्लै गएको हो । गिरिजाबाबुले यो निर्वाचनमा कांग्रेस हार्दै छ, लोकतन्त्रले जित्दै छ सुरुमा नै भन्नुभएको थियो । तर, त्यो बेला पनि हामी मिलेनौँ, मिलेर चुनावमा गएनौँ ।’

कांग्रेसका हालसम्मका सभापतिले पार्टी पराजय हुँदा पनि एक्लै निर्वाचनमा लगेर जनमत कायम गरिरहेको उदाहरण दिनका लागि अर्का सभापति सुशील कोइरालालाई पनि सम्झेका छन् । ‘सुशील कोइरालाको पालमा पनि हामीहरू निर्वाचनमा गयौं, त्यो निर्वाचनमा पनि हामी एक्लै लडयौँ, आज के कारणले यो अवस्था आयो र गठबन्धन गर्ने अवस्था आयो ? यो सबैले बुझ्नुपर्ने हुन्छ ।’

 

समावेशी आधारमा राजदूत चयन भएनन् 

कांग्रेस संस्थापक बिपी कोइरालाले समावेशी र समानुपातिकको आदर्श स्थापित गरे पनि हालै भएको २० राजदूत नियुक्ति गर्दा सो आदर्श प्रधानमन्त्री देउवाले उल्लंघन गरेको आरोप लगाएका छन् ।

 

‘२० जना एम्बेसडर नियुक्ति गर्दा समावेशी भएको देखिँदैन,’ कोइरालाले भनेका छन् ।   गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवाका आठजना र राजनीतिकतर्फका १२ जना नियुक्ति गर्दा खसआर्य समुदायबाट बढी मात्रामा र मधेसी, थारु, महिला, मुस्लिम समावेशी नभएको मात्र होइन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँदेखि ऊर्जामन्त्री पम्फा भुसालका ज्वाइँलाई पनि नियुक्ति दिएको भन्दै चर्को आलोचना भएको विषयलाई कोइरालाले प्रश्नको रुपमा उब्जाएका छन् ।

 

टेलिकम निर्देशक नियुक्तिमा असन्तुष्टि

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्तिका विषयलाई पनि लिएर कोइरालाले असन्तुष्टि जनाएका छन् । ‘मैले सुनेको उहाँ (पौडेल) ओम्नीमा पनि संलग्न हुनुहुन्छ, त्यस्ता विवादित व्यक्तिलाई किन नियुक्त भयो ?,’ कोइरालाको प्रश्न छ, ‘हामी सबैलाई सरकारले यसको जवाफ दिनुपर्छ, गुड गभरमेन्सको कन्टेन्टबाट हेर्नु भयो भने पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्व हुनुपर्ने जरुरी छ ।’ तर, २४ चैतमा नियुक्त भएका पौडेलका विषयमा सरकारले कुनै जवाफ नदिएको भन्दै कोइरालाले थप असन्तुष्टि जनाएका छन् ।

 

गभर्नर निलम्बनमा आक्रोश

अर्थतन्त्रमा नकरात्मक सूचक बढिरहेको बेला अर्थतन्त्रलाई सही दिशा दिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको विषयप्रति पनि कोइरालाले असन्तुष्टि जनाएका छन् ।

 

अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरबीच संसारभरि खटपट हुने उदाहरण दिँदै तालमेल मिलेन भन्दै निलम्बन गर्ने निर्णयलाई विश्व बंैंकदेखि दातृ निकायले पनि सुक्ष्म तरिकाले हेरिरहेको कोइरालाको भनाइ छ ।

 

‘अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरबीच संसारभरि खटपट हुन्छ, मौद्रिक नीति उसैले बनाएर अर्थ मन्त्रीका गलत क्रियाकलाप रोक्छ । तर, नेपालको अर्थतन्त्र ओरालो लागिरहेको बेला राष्ट्र बैंकले गभर्नरलाई निलम्बन गर्नु सरासर गलत कुरा हो । त्यसले झन् अप्ठयारो अवस्थामा जान्छ भन्नेमा शंका छैन,’ कोइरालाले भने, ‘वर्ल्ड बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषदेखि दातृ निकाय र राष्ट्रले सुक्ष्म ढंगले हेरिरहेका छन् । मन्त्रीसँग तालमेल नमिलेको भन्दै निलम्बन गर्नु गैर जिम्मेवारी रुपमा आएको छ,’ गत २५ चैतको मन्त्रिपरिषद बैठकले गभर्नरलाई निलम्बन गरी छानबिनको दायरामा राखेपछि कोइरालाले आक्रोश पोखेका हुन् ।

 

४० करोड रुपैयाँ शंकास्पद

पृथ्वीबहादुर शाहले अमेरिकावाट ल्याएको भनिएको ‘शंकास्पद’ ४० करोड रुपैयाँ फुकुवा गर्न दबाब दिएर देउवा सरकारले गम्भीर गल्ती गरेको दाबी गरेका छन् । ‘अचानक ४० करोड रुपैयाँ नेपालमा आउँछ, त्यसको छानबिन गर्ने निकाय राष्ट्र बैंक हो, त्यसलाई छानबिन गर्न अधिकार नै दिइँदैन, यो त अचम्मको कुरा हो,’ कोइरालाले सो रकममाथि छानबिन गर्न राष्ट्र बैंकलाई दिनुपर्ने तर्क राखेका छन् ।

 

सत्य बताउँदा कारबाही गर्नु दुराशयपूर्ण

निर्यात नभई आयात मात्र हुँदा विदेशी सञ्चिति रकम ६ महिनाका लागिभन्दा नभएको प्रतिवेदन सार्वजनिक गरेको भन्दै गभर्नरलाई कारबाही गर्नु गलत भएको कोइरालाको टिप्पणी छ ।

 

‘विदेशी आयातका लागि सञ्चिति रकम ६ महिनाका लागि मात्र छ, विलासिताका समान रोक्नुहोस् भनियो, तर त्यो लिक गरेको भनेर कारबाही गरिदिने ?,’ कोइरालाको प्रश्न छ । विलासिताको समान आयातमा रोक लगाउन सुझाव दिएर राष्ट्र बैंकले ठिक गरेको कोइरालाको टिप्पणी छ ।

 

सुपारी र मरिच आयातमा प्रश्न

विदेशी रकम सञ्चितिले ६ महिना मात्रै धान्न सक्ने अवस्था हुँदा सुपारी, मरिच, छोकडा र मटर दाना आयात गर्न दिएकोप्रति पनि कोइरालाले आपत्ति जनाएका छन् । ‘सुपारीको आयात, मरिचको आयात, छोकडाको आयात, मटर दानाको आयात किन चाहियो ?,’ कोइरालाको प्रश्न छ, ‘त्यसले विदेशी रकम सञ्चिति हुन्छ ? जे मन लाग्यो, त्यो आयात गर्न अनुमति दिने, त्यो आयात नगर भनेर राष्ट्र बैंकले भन्न सक्दैन र, सक्छ नि,’ विलासिता वस्तु आयातमा प्रतिबन्ध लगाएर मुलुकका अर्थतन्त्र जोगाउने राष्ट्र बैंकका गभर्नर अधिकारीको कोइरालाले बचाउसमेत गरेका छन् ।

 

निर्वाचन सार्ने अभिव्यक्तिप्रति आपत्ति 

३० वैशाखका लागि तय भएको निर्वाचन सार्न सकिने भन्दै सत्तारुढ गठबन्धनका नेताहरूले दिएको अभिव्यक्तिप्रति कोइरालाले आपत्ति जनाएका छन् । ‘गठबन्धनका शिर्ष नेताहरूले बोलिदिएका कुराले तपाईहरूलाई निर्वाचन हुन्छ कि हुँदैन भने लागेको छ भने म भन्छु, निर्वाचन हुन्छ, हुन्छ, हुन्छ, कसैले रोकेर निर्वाचन रोकिँदैन,’ कोइरालाले आश्वस्त पार्दै भने ।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत २८ चैतमा नेत्रविक्रम चन्द समूह पनि निर्वाचनमा भाग लिने खण्डमा निर्वाचन सार्न सकिने अभिव्यक्ति दिएका थिए भने २६ चैतमा ७ असोज २०७४मा निर्वाचित भएका स्थानीय जनप्रतिनिधिलाई पाँच वर्षसम्म काम गर्न नदिएर निर्वाचन आयोगले उनीहरूको संवैधानिक अधिकार हनन् गरेको विषयतर्फ इंगित गर्दै कोइरालाले निर्वाचनमा विश्वस्त हुन आग्रह गरे ।

 

९ चैत्र २०७८, बुधबार

कांग्रेस भ्रातृ संस्था नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्तिमा शेखरको आपत्ति

नेपाली कांग्रे‍सको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयनमा सभापति शेरबहादुर देउवाले परामर्श नगरेकोप्रति डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । नेता शेखर पक्षको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो । सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्धान गुरुङलाई अध्यक्षमा मनोनित गरेका थिए । शेखरका पक्षका पदाधिकारी र केन्द्रीय सदस्यको बैठक कमलपोखरीमा बसेको थियो ।

Comments Box