पानी खान पनि दाताको दान; अनुदानको ५ अर्बमा पोखरा खानेपानी सुधार आयोजना

मुहानभन्दा माथि खोलाबाटै सवारी साधनको वारपार, भैँसी आहाल बस्ने तथा फोहोरमैला विर्सजन हुँदै आएको



जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो । हाज्मा एण्ड कर्पोरेशन जापानले आयोजना निर्माणको जिम्मा लिएको हो ।

 

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पत पोखरेली उपभोक्ताको घरघरमा शुद्ध खानेपानीको सुविधा पुग्ने भएको हो

 

मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधै पिउन सकिने पानी पु¥याउने आयोजनाको लक्ष्य छ । पानी शुद्धीकरणका लागि पाइपलाइन विस्तारसँगै मर्दी मुहानमा ग्रिड च्याम्बर, सेडिभेन्टेशन ट्याङ्की र स्लोस्यान्ड फिल्टर निर्माण गरिएको छ ।

 

सोको काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले जानकारी दिए । ‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ल्याइएको पानी पुरन्चौरमा निर्माण गरिएको ट्रिटमेण्ट प्लान्टमा शुद्धीकरण गरिनेछ’, उनले भने, ‘उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिएको छ ।’

 

इन्जिनियर दासका अनुसार मुहान निकटमा ग्रिट च्याम्बर र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेशन ट्याङ्कीमा जडान गरिने पानीलाई नदीजन्य वस्तु (बालुवा, ढुङ्गा, लेदो, काठका टुक्रा, झारपात) लगायतका फोहर हटाएर शुद्धीकरण गरिएको पानी पुरुन्चौरमा निर्माण गरिएको फिल्टरमा लगिने छ । मुहानको पानी सिधै धारामा आउँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर गर्ने र नदीजन्य वस्तु पाइपमा भरिनुका साथै फ्रेवलमा बुझिन जाँदा सडक खन्ने र खानेपानी संस्थानको गाडीमार्फत पाइप सफा गर्ने झन्झटबाट उपभोक्ताले मुक्ति पाउने छन् ।

 

उक्त स्थानमा थप पानी छान्ने फिल्टर, दुईवटा सफा पानी सङ्कलन ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ । पानीको मुहान मर्दीबाँधदेखि विन्दवासिनी सङ्कलन ट्याङ्कीसम्म साढे एघार किमीको दूरीमा छ । जुन मदी मुहानबाट २० इञ्चीको पाइप ल्याइएको छ भने अर्को १६ इञ्चीको पाइप साढे पाँच किलोमिटरको दूरीमा अमला बिसौनीको ट्याङ्कीमा सङ्कलन गरिएको छ ।

 

शुद्धीकरण गरिएको पानी जम्मा गर्न पोखरा–११ फूलबारी, वडा नं ५ पस्र्याङ र वडा नं १५ कोलपाटनमा २०/२० लाख लिटर क्षमताका तीन वटा रिजर्भवायर ट्यांकी निर्माण गरिएको छ । फूलबारी र पस्र्याङको रिजर्भवायर ट्याङ्की निर्माण सम्पन्न भइसकेका छन् भने प्राविधिक कारणले कोलपाटनको ट्यांकी रोकिएको इन्जिनियर दासको भनाइ छ । हालसम्म आयोजनाको ८८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । वर्षाका कारण केही समय निर्माण कार्य रोकिए पनि हाल निर्माणले गति लिएको छ । सन् २०२२ डिसेम्बरसम्ममा आयोजना सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

 

आयोजनाको सम्झौताअनुसार बजार क्षेत्रको सय किलोमिटर पाइप लाइन विस्तार कार्यमध्ये ८५ किमीभन्दा बढी विस्तार भइरहेको छ भने बाँकी १५ किमी सडक कार्यालय र महानगरअन्तर्गतको सडक खन्ने अनुमतिको पर्खाइमा रहेको उनको भनाइ छ । प्राविधिक समस्याले रोकिएका बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुने विश्वास व्यक्त गर्दै उनले भने, ‘शुद्ध पानी उपभोक्ताका घरघरमा पुग्नेछ, पाइप विस्तारका लागि सडक खन्ने समस्या देखिएका स्थानमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अनुमति प्राप्त भएसँगै आयोजना सम्पन हुनेछ ।’

 

मुहान संरक्षणमा अझै उदासीनता

पोखरामा ल्याइने पानी शुद्धीकरण गर्ने योजना कार्यान्वयन भइरहँदा मुहानको संरक्षणमा भने अझै उदासीनता देखिन्छ । अहिले पनि मुहानभन्दा माथि खोलाबाटै सवारी साधनको वारपार, भैँसी आहाल बस्ने तथा फोहोरमैला विर्सजन हुँदै आएको छ । हिउँदमा नदीजन्य पदार्थको उत्खननका कारण मुहान प्रदूषित हुने गरेको छ ।

 

पोखरामा आपूर्ति भएको पानी सफा राखिराख्नका लागि अहिलेको स्थानबाट पाँच किमीमाथि मुहान सार्नुपर्ने आवाज उपभोक्ताको छ । हालको खानेपानीको मुहानलाई माथि स्थानान्तरण गर्दा पानी सफा बनाउन थप सहयोग पुग्ने बताइन्छ ।

 

विगतमा अहिलेको मुहानभन्दा माथि थोरै मात्र बस्ती थियो । पछिल्लो समय तीव्र सहरीकरणका कारण मानव बसोबास बढेसँगै मुहान दूषित हुने समस्या पनि बढ्दै छ । पोखरा उद्योग वाणिज्य सङ्घको अग्रसरतामा केही वर्ष अघि मुहान सफा राख्नका लागि विभिन्न छ स्थानमा शवदहनगृह निर्माण गरिए पनि ती स्थलको अहिले पनि सबै ठाउँमा प्रयोग गरिएको छ ।

 

शवदहनस्थल निर्माणमा नेतृत्व गर्नुभएका उद्योगी यदुनाथ अधिकारी खानेपानीको हालको मुहान त्यसभन्दा माथि नर्सादासम्म पोखराको पानी शुद्ध हुन नसक्ने बताउनुहुन्छ । हाल कम मात्र मानव बसोबास भएको स्थानबाट पानी ल्याउँदा मात्र सफा पानी उपभोक्ताले प्राप्त गर्ने उहाँको भनाइ छ ।

 

उहाँले भन्नुभयो, “हालको मुहान स्थानान्तरणका लागि हामीले पटक–पटक आवाज उठाएका छौँ तर सुनुवाइ भएको छैन । शुद्ध पानी पोखरामा आपूर्तिका लागि मुहाननै सार्नुको विकल्प छैन ।” खानेपानी संस्थानले भने प्राविधिक हिसाबले कठिनाइ नपर्ने भए पनि जलाधार क्षेत्र कम हुने भएकाले स्थानान्तरणको काम नभएको जनाएको छ । मुहानभन्दा केही माथिमात्र इदी खोला मर्दीमा मिसिन्छ । सोही कारण पानी आपूर्ति कम हुने भएकाले मुहान सार्न नसकिएको संस्थानले जनाएको छ ।

 

गाउँपालिकाले माग्यो वातावरणीय सेवाको भुक्तानी

मर्दी खोला माछापुच्छ«े गाउँपालिकाका छ वडा हुँदै बग्छ । मर्दीखोलाको पानी दुईवटा पाइप मार्फत खानेपानी संस्थानले पोखरामा वितरण गर्ने गरेको छ । मर्दीको पानी पोखराको विन्ध्यवासिनी मन्दिर नजिकको रिजर्भ वायरमा जम्मा गरेर उपभोक्तामा पठाइन्छ ।

 

गाउँपालिकाले आफ्नो प्रमुख प्राकृतिक सम्पदा मर्दीको उपभोग गरेबापत खानेपानी संस्थानसँग वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अवलम्वन गर्न माग गरेको छ । संस्थानले मर्दीको पानीबाट बर्सेनि अर्बौं राजस्व सङ्कलन गरे पनि मर्दी क्षेत्रको विकासमा ध्यान नदिएको भन्दै आगामी वर्षको नीति कार्यक्रममा सो सिद्धान्त लागू हुुनुपर्ने माग गरेको हो ।

 

पानी प्रयोगबापत निश्चित प्रतिशत राजस्व गाउँपालिकाले पाउनुपर्ने माग स्थानीय सरकारको रहेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकाको प्रमुख प्राकृतिक स्रोतको उपभोग गरेबापत खानेपानी संस्थानले प्रभावित क्षेत्रका लागि सहयोग गरोस् भन्ने हाम्रो माग हो । वातावरणीय सेवाको भुक्तानीको सिद्धान्त विश्वका धेरै देशमा प्रचलित छ । संस्थानले आम्दानीको निश्चित प्रतिशत पालिकालाई दिनुपर्दछ ।” यसअघि पनि यस विषयमा आवाज उठेपनि यसपटक गाउँपालिकाले आफ्नो नीति कार्यक्रममै यस विषयलाई समेटेको छ ।